Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दशैं नजिकिए सँगै चोरको बिक्बिकी : तीन दिनमा चोरी भयो ४४ घर

गुल्मी : तीन दिनको अवधिमा जिल्लामा अज्ञात व्यक्तिद्वारा ४४ घरमा चोरी भएको छ ।

जिल्लाको रेसुङ्गा नगरपालिका र गुल्मी दरबार गाउँपालिकामा आइतबारदेखि लगातार रुपमा घर तोडफोड गरी चोरी गर्ने क्रम बढ्दै गएको गुल्मी दरबारका अध्यक्ष अशोककुमार थापाले जानकारी दिए ।

यसरी चोरी भएका स्थानमा गुल्मीदरबार-१ अन्तर्गत बलीथुममा ८ र वडा नं २ अन्तर्गत जुभुङको झिरबासमा २१ गरी २९ घरमा चोरी भएको छ भने रेसुङ्गा-१३ अन्तर्गत दुबीचौरमा १५ घरमा चोरी भएको वडाध्यक्ष खुमबहादुर खत्रीले बताए ।

रातिको समयमा चोरी गर्दै आइरहेका व्यक्तिहरुले कतिपय घरमा मानिस सुतिरहेको अवस्थामा ढोका फोडी घरभित्र पसेर दराज र अटेजी फुटाइ नगद, गरगहाना र सुनलगायतका सामग्री चोरी गरी लगेको स्थानीयवासीले बताएका छन् ।

चोरी गर्नेहरुले प्रति घरबाट रु ५ हजारदेखि २५ हजारसम्म नगदसहित ५ तोलासम्म सुन गरी लाखौँ रकम बराबरको सामान चोरी गरेको बताइएको छ ।

गाउँमा चोरीका घटना बढ्न थालेपछि यतिबेला दुबिचौरमा स्थानीयवासीले रातभर गस्ती अभियान शुरु गरेका छन् । चाडपर्व नजिकिँदै जाँदा चोरीका घटना बढ्दै जान थालेपछि जिल्ला प्रहरी कार्यालयले जिल्ला र स्थानीय प्रहरी चौकीबाट सुरक्षाकर्मी परिचालन गरी गस्ती गर्न शुरु गरेको छ ।

घटनाको जानकारी पाएपछि क्षतिको विवरण सङ्कलन गर्न र चोरी गर्ने व्यक्तिको खोजतलास गर्न सादा पोशाकमा समेत सुरक्षाकर्मी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए ।

प्रकाशित मिति: Sep 25, 2019

प्रतिक्रिया दिनुहोस्