Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

Howdy Modi : ट्रम्पलाई साथमा राखेर पाकिस्तानलाई चुनौची (भिडियो सहित)

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई आफ्नो साथमा राखेर भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पाकिस्तानलाई चुनौती दिएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफू र अमेरिका सदैव भारतको साथमा रहने घोषणा गरेका छन् ।

भारतका प्रधानमन्त्री मोदी अहिले अमेरिका भ्रमणमा छन्। संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि मोदी अमेरिकाको ह्युस्टन शहर हुँदै न्यूयोर्क पुग्ने कार्यक्रम रहेको छ।

महासभामा मोदीले कश्मीर मुद्दाबारे भारतको नीति प्रस्तुत गर्ने अनुमान गरिएको छ। मोदीलाई काउन्टर दिन पाकिस्तानका प्रधानमन्त्री इमरान खान ‘मिसन कश्मीर’ लिएर न्यूयोक पुगेका छन्।

दुवै नेताबीच महासभाको बैठकमा कश्मीर मुद्दाका बारेमा बहस हुने अनुमान भइरहँदा आइतवार भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकाको ह्युस्टन शहरमा आयोजित कार्यक्रमलाई सम्बोधन गरे।

‘हाउडी मोदी ! ‘ नाम दिइएको कार्यक्रम त्यहाँका भारतीयहरुले मोदीको सम्मानमा आयोजना गरेका थिए।

मोदीले कार्यक्रममा राष्ट्रपति ट्रम्पलाई सहभागी हुन निमन्त्रणा गरेका थिए। मोदीको निमन्त्रणा स्वीकार्दै ट्रम्प कार्यक्रममा सहभागी भएका हुन्।

ह्युस्टनको एनआरजी ग्राउन्डमा आयोजना भएको कार्यक्रममा ट्रम्पसँग एउटै मञ्च साझा गर्दै मोदीले सन् २०२० मा हुने अमेरिकी राष्ट्रपति निर्वाचनमा फेरि ट्रम्प सरकार बन्ने विश्वास व्यक्त गरे।

अमेरिकालाई फेरि महान बनाउने सपना देखेको ट्रम्पको संकल्पको प्रशंसा गर्दै मोदीले भने,’ अबकी बार ट्रम्प सरकार ‘ (यसपाली ट्रम्प सरकार) ।

ट्रम्पले सन् २०१६ मा भएको अमेरिकी राष्ट्रपति निर्वाचनमा ‘मेक अमेरिका ग्रेट अगेन’ (अमेरिकालाई फेरि महान बनाऔं) भन्ने नारा दिएका थिए।

यस्तै सन् २०१४ र २०१९ मा भएको लोकसभा निर्वाचनमा मोदीको ‘अबकी बार मोदी सरकार’ (यसपाली मोदी सरकार) र ‘फिर से मोदी सरकार’ (फेरि एकपटक मोदी सरकार) नारा चर्चित बनेको थियो।

कार्यक्रममा बोल्दै ट्रम्पले मोदीसँग मञ्च साझा गर्न पाउँदा खुशी लागेको बताउँदै मोदीले भारतीय जनताको लागि धेरै काम गरेको बताए। यस्तै उनले इस्लामिक कट्टरपन्थी विरुद्ध भारत र अमेरिका मिलेर कारवाही गरिरहेको स्मरण गराएका थिए।

कार्यक्रमपछि ट्वीट गर्दै ट्रम्पले अमेरिकाले भारतलाई माया गर्ने बताएका थिए। मोदीले सम्बोधनका क्रममा कश्मीर मुद्दा उठाउँदै जम्मू कश्मीरमा अलगावादी तत्वहरु सक्रिय रहेको भन्दै त्यहाँको जनताका लागि नै संविधानबाट धारा ३७० हटाएको बताएका थिए।

केही महिना अघि ट्रम्पले आफू कश्मीर मुद्दामा मध्यस्थता गर्न तयार रहेको बताएका थिए। यद्यपि, भारतले भने कश्मीर आफ्नो आन्तिक मामिला भएको बताएको थियो।

पाकिस्तानी प्रधानमन्त्री खानले सोमबार ट्रम्पसँग भेट वार्ता गर्ने कार्यक्रम रहेको छ। दुई नेताबीच कश्मीर विषयलाई लिएर छलफल हुन सक्ने बताइएको छ।

हेर्नुस् भिडियो :

प्रकाशित मिति: Sep 23, 2019

प्रतिक्रिया दिनुहोस्