Logo
८ बैशाख २०८१, शनिबार
(September 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बढ्दो आधुनिकतासँगै जितिया पर्व जोगाउने अभियानमा थारु महिला

बढ्दो आधुनिकतासँगै प्राचीन विशेषता लोप हुँदै गएपछि जितिया पर्वको शाख बचाउँदै जोगाउने अभियानमा थारु महिलाहरूले अग्रसरता देखाएका छन् ।

तडकभडक र अनावश्यक देखासिकीका कारण आफ्नो पहिचान र संस्कृति गुम्ने खतरा देखेपछि सप्तरीको अग्निसाइर कृष्णासवरन गाउँपालिकाका थारु महिलाहरू जितिया पर्वको शाख कायम राख्न लागिपरेका हुन् ।

घरमै एक्लै नुहाएर चिल र स्यालको पुजा गरी जितिया पर्व मनाउने थारु महिलाले नजिकैको पोखरीमा भेला भई सामुहिक पुजा गरेर जितिया पर्वको प्रारम्भ गरेका छन् ।

आफ्नो सन्तानको दीर्घायु र मंगलमयको कामना गर्दै स्थानी य झबरा ठाकुर दहमा चील र स्याललाई घिरौँलाको पातमा पिना, माटो र घिरौँलाकै फुल चढाउन ठूलो संख्यामा थारु महिलाहरू उपस्थित भएका थिए ।

पुजामा सहभागी अग्निसाइर कृष्णासवरन २ की शैलेन्द्रीदेवी चौधरीले सांस्कृतिक कार्यक्रमले जितिया पर्वको प्राचीन विशेषता लोप हुँदै गएको बताइन् ।

जितियाको महत्वलाई समुदायमा बुझाउँदै गुम्न लागेको शाखलाई जिवित राख्न सामुहिक रुपले मनाउने अभियान शुरु गरेको उनले जानकारी गराइन् ।

थारु समुदायको महिलाले जितिया पर्वलाई थप महत्वको साथ मनाउने पुजामा सहभागी थारु महिला सभा सप्तरीकी अध्यक्ष सन्तोषी चौधरीले बताइन् । ब्रत बसेको समयमा जितबाहनको कथा अनिवार्य रुपमा सुन्नुपर्ने उनले जानकारी दिइन् ।

पानीसमेत नपिएर नपाउने कठोर २४ घण्टा उपवास बसी धार्मिक विधिपूर्वक मनाइने जितिया पर्व जितवाहनको पूजा गरी बिसर्जन गरिने गयादेवी चौधरीले बताइन् ।

आमाले जितिया पर्व गरेपछि सन्तानको दीर्घायु, अकालमा मृत्यु तथा भुतप्रेत आदिको संकटबाट बच्ने उनले बताइन् । थारु समुदायमा जितिया पर्वमा दजुभाइले दिदिबहिनीलाई घरमा आई बोलाएर माइती लाने परम्पराअनुसार थारु महिलाहरु माइत जाने गर्दछन् ।

जितिया पर्वकै अवसरमा सदरमुकाम राजविराजमा बस्ने थारु समुदायका महिलाहरुले आफ्नो पारम्परिक पहिरनमा नगर परिक्रमा गर्दै विविध कार्यक्रमका साथ जितिया पर्वलाई महोत्सवको रुपमा मनाएका छन् ।

प्रकाशित मिति: Sep 22, 2019

प्रतिक्रिया दिनुहोस्