Logo
८ बैशाख २०८१, शनिबार
(September 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साउदी अरेबियाको २ वटा तेल भण्डारमा आक्रमण : इरानलाई आरोप लगाउँदै यी दुई मुलुक

बीबीसी : साउदी अरबमा रहेको तेलको भौतिक पूर्वाधारमाथि लगातार आक्रमण हुन थालेपछि अमेरिकाले त्यहाँ आफ्नो सैनिक पठाउने घोषणा गरेको छ । डिफेन्स सेक्रेटरी मार्क एस्परले सञ्चारकर्मीहरुसँगको कुराकानीमा साउदी अरबमा अमेरिकी सेनाको परिचालन ‘रक्षात्मक शैली’ मा हुने जानकारी दिएका हुन् । यद्यपि, कति संख्यामा सैनिक पठाउनेबारेमा भने निर्णय भइसकेको छैन ।

गत हप्ता साउदी अरबमा रहेका दुईवटा तेल भण्डारमा आक्रमण भएको थियो । त्यसमा यमनमा रहेको हुथी विद्रोहीहरुको हात रहेको बताइएको छ । विद्रोहीहरुलाई इरानले सहयोग गर्ने गरेको आरोप लाग्ने गरेको छ । अमेरिका र साउदी अरेबिया दुवैले भने उक्त हमलामा इरान नै दोषी भएको आरोप लगाएको छ । गत शुक्रबार राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्धको घोषणा गर्दै आफूले इरानसँग सैन्य द्वन्द्व नचाहेको संकेत गरेका थिए ।

एस्परका अनुसार साउदी अरेबिया र संयुक्त अरब एमिरेट्सले अमेरिकासँग सहयोग माग गरेको कारण त्यस क्षेत्रमा अमेरिकी सैनिक परिचालन गर्न लागिएको हो । अमेरिकी सेनाले त्यहाँ हवाई र क्षेप्यास्त्र रक्षात्मक प्रणालीलाई सुद्धृढ बनाउन मद्दत गर्नेछ र दुवै देशलाई सैन्य सामग्री प्रदान गर्नेछ ।

संयुक्त चिफ अफ स्टाफका अध्यक्ष जेनेरल जोसेफ डनफोर्डले निकै सानो संख्यामा अमेरिकी सैनिक परिचालन हुने भन्दै संख्याले हजारको आँकडा नछुने बताए । उनले कस्ता-कस्ता सैनिकहरु पठाउन लागिएको भन्ने बारेमा भने खुलाउन चाहेनन् ।

न्युयोर्क टाइम्सका अनुसार पत्रकारहरुले ‘अमेरिकाले इरानमाथि सैनिक कारवाहीको बारेमा सोचिरहेको हो रु’ भन्ने प्रश्न गर्दा एस्परले आफूहरुले हाल त्यसबारेमा केही नसोचेको प्रतिक्रिया दिएका थिए । गत हप्ता अब्काइक र खुराइसमा रहेको तेलको पूर्वाधारमा हमला भएको थियो । जसको कारण विश्वकै तेल आपूर्तीमा असर देखिएको थियो ।

बुधबार साउदी सरकारले हमलामा प्रयोग भएका ड्रोन र क्रुज मिसाइल प्रदर्शन गर्दै उक्त आक्रमणमा इरानी संलग्नता भएको प्रमाणित भएको दाबी गरेको थियो । अहिले कहाँबाट आक्रमण भएको भन्ने सही स्थान पहिचान गर्ने काम भइरहेको पनि जानकारी दिइएको थियो ।

प्रकाशित मिति: Sep 21, 2019

प्रतिक्रिया दिनुहोस्