Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा कतै कालो, कतै उज्यालो : मधेशी आन्दोलन सत्ताको सिँढी, युवापुस्तामा आक्रोस

जनकपुरधाम : देशभर संविधान दिवस मनाइरहेका बेला धनुषामा भने राजपा नेपालका नेता कार्यकर्ताहरुले बिभिन्न स्थानमा कालो झण्डा झुण्डयाएका छन् ।

राजपा नेपालका युवा नेता किशन साहको अगुवाईमा संविधान दिवसका दिन आज जनकपुरधामस्थित पुलचोकमा कालो झण्डा झुण्डयाईएको हो ।

युवा नेता साहले राजपा नेपालमा प्रदेशको सत्तासाझेदार दल रहेपनि मधेशको माग संविधानमा समावेश नगरिएसम्म आन्दोलनमै रहने बताए ।

संविधान संशोधन भएमात्र आफुहरु संविधान दिवस मनाउने उनको भनाई थियो । नगरमा कालो झण्डासहित विरोध प्रदर्शन भईरहँदा राजपाका स्थानीय नेता कार्यकर्ताहरुले करिब आधा दर्जन ठाउँमा कालो झण्डा झुण्डयाएका छन् ।

युवा नेता साहले संविधान संशोधन गरी मधेशका जायज माग सम्बोधन नगरिएसम्म संविधान घोषणा भएको दिन असोज ३ लाई कालो दिवसकै रुपमा मनाईरहने उदघोष गरे ।

यता समाजवादी पार्टी नेपालले संविधान दिवसको अवसरमा हुने औपचारिक तथा विरोधका दुबै कार्यक्रममा आफ्नो पार्टीको सहभागीता नरहने बताएको छ ।

प्रदेश २ मा संविधान दिवस : कतै कालो, कतै उज्यालो !
नयाँ संविधान घोषणा भएको आज चार वर्ष पूरा भएको छ । ३ असोज, २०७२ मा तत्कालिन राष्ट्रिपति डा. रामबरण यादवले संविधान जारी गरेका थिए ।

तराईका जनताहरुको माग सम्बोधन नगरिकनै ल्याएको संविधानको विरोधमा मधेशमा आन्दोलन राप दन्किरहेको थियो । दर्जनौंको ज्यान मात्रै गएन, असंख्यक आन्दोलनकारी घाइते भए ।

संविधान जारी भएको दिनको सम्झना गर्दै सघीय,प्रदेश र स्थानीय सरकारले विविध कार्यक्रमको आयोजन गरेर आज संविधान दिवस मनाइँदैछ ।

गणतन्त्र, सङ्घीयता, धर्म निरपेक्षता, समानुपातिक समावेशीता र सामाजिक न्याय संविधानकनको मूलभूत विशेषता हुन् । संविधानले नेपाललाई विश्वमा नै सहभागितामूलक लोकतान्त्रिक देशको रुपमा पहिचान दिलाएको छ ।

संविधान अझै सबैको साँझा बन्न सकेको छैन् । संसोधनको मुद्धा ज्यूँका त्यूँ छ । मधेशी, थारु, आदिवासी संविधानको विरोध गर्दै आइरहेका छन् । त्यसैले प्रदेश २ मा संविधान दिवसमा कतै कालो फहराइरहेको छ भने, कतै मैनवत्ति बालेर खुशीयाली मनाइएको छ ।

मधेशी दल र तराइबासी दुई कित्तामा उभिएका छन् । आज केहि दल र नागरिले उल्लासपूर्वक संविधान दिवस मनाउँदै छन् भने, केहिले संविधानको विरुद्धमा विरोधको कार्यक्रम गर्दै असोज ३ लाई कालो दिवस भन्दै सभा गर्दै छन् ।

समाजिक संजालमा संविधान दिवसको विरोध र स्वागत बाक्लिएकै छ । प्रयोकर्ताहरुले प्रोफाईल तस्वीर कालो बनाएका छन् भने, स्टाट्समा विरोधका स्वर पोखेका छन् ।

केन्द्रिय सत्तामा साँझेदर र प्रदेश २ को नेतृत्व सम्हालिरहेका समाजवादी पार्टी अलमलमै छन् । उसले न विरोध गरेका छन् न त खुसियाली मनाएका छन्, संविधान दिवसमा ।

प्रदेश २ को सत्ता साँझेदादर मधेशवादी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) भने संविधानको विरोधमा उत्रिएका छन् । उसले आजको दिनलाई कालो दिवस भन्दै साँझ १५ मिनेट बल्याक आउट गर्ने भनेका छन् ।

संविधानको विरोधमा हुने कार्यक्रममा प्रदेश २ सरकारका राजपा नेपालका मन्त्रीहरु समेत सहभागि हुने उद्योगा पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले बताए ।

समाजवादी पार्टीका मुख्यमन्त्रीदेखि मन्त्रीहरु भने पार्टीकै निर्णय अनुसार तटस्थ बस्ने छन् । गत भदौ १७ गते संविधान दिवस तीन दिवसीय रुपमा भव्यताका साथ मनाउन मुख्यमन्त्री लालबाबु राउतको नेतृत्वमा संविधान दिवस मूल समारोह समिति गठन गरेको थियो ।

प्रदेश सरकारले भदौ २७ गते एक सूचना जारी गर्दै प्रदेश २ मा भव्यताका साथ संविधान दिवस मनाउन आह्वान समेत गरेको थियो । जस अनुसार प्रदेश सरकार मातहतका विभिन्न संघसंस्थाले आज संविधान दिवस मनाइरहेका छन् ।

तर समाजवादी पार्टीले संविधान दिवसको दिन तटस्थ बस्ने निर्णय गरेपछि समाजवादी पार्टीका मुख्यमन्त्रीदेखि मन्त्रीहरु समेत संविधान दिवसमा तटस्थ बस्ने निर्णय लिइसकेका हुन् ।

सत्ताको सिँढी भयो मधेश आन्दोलन, सत्ता विरुद्ध युवाहरु
पछिल्लो मधेस आन्दोलनको मोर्चा जनकपुरमा युवाको हातमा थियो। उनीहरूले आन्दोलनको अगुवाइ गरे। दिनरात नभनी सडक तताए। ६ महिना लामो आन्दोलन निष्कर्षमा त पुगेन।

तर, त्यसयता भएको स्थानीय, प्रदेश तथा संघीय संसदको निर्वाचनमा मधेसवादी दल सहभागी भए। प्रदेश २ मा मधेसवादी दलकै गठबन्धनको सरकार छ।

आन्दोलनको भावनाअनुसार प्रदेश २ को सरकार नचलेको भन्दै त्यतिबेला आन्दोलन चर्काएका युवामा भने निरासा बढेको छ।

राज्यका हरेक अंगमा समावेशी प्रतिनिधित्व, सीमांकन, नागरिकता, संघीयतालगायतका मुद्दामा आन्दोलन उत्कर्षमा पुर्‍याउन जनकपुरका युवाले अग्रणी भूमिका निर्वाह गरे।

तर मधेस आन्दोलनलाई मधेसवादी दलले सत्तामा पुग्ने सीँढीको प्रयोग गरेको तिनै आन्दोलनकारी युवाको गुनासो छ।

आन्दोलनपछि निर्वाचनबाट चुनिएर आएका मधेसवादी दलका जनप्रतिनिधि र प्रदेश सरकार जातिवाद, नातावाद र पुँजीपती वर्गमै सीमित रहेको उनीहरूको गुनासो छ। आन्दोलनको एजेन्डा, बलिदान र सहादत बिर्सिसकेका मधेसवादी दलको रबैयाले आन्दोलनमार्फत् पाएको उपलब्धि समेत गुम्ने खतरा बढेको भन्दै आन्दोलनकारी युवा सशंकित छन्।

मधेसको एजेन्डा राजनीतिक मुद्दा भएकाले मधेसवादी दल यसका लागि प्रतिबद्ध रहने भन्दै चुनावका बेला यिनीहरूकै लागि मत माग्नसमेत खटिएका युवा पछिल्लो समय खुलेरै राष्ट्रिय जनता पार्टी (राजपा) र समाजावदी पार्टीको आलोचना गर्न थालेका छन्।

जनकपुरका युवा संविधान जारी भएको पछिल्लो ४ वर्षमा मधेसबादी दल सत्तामा पुगे पनि संविधानलाई सर्वस्वीकार्य बनाउने पहल नगरेको गुनासो गर्छन्। जनकपुरमा आन्दोलनको अगुवाइ गरेका युवामा पर्छन्, धर्मेन्द्र साह।

मधेस आन्दोलनलाई सशक्त र उत्कर्षमा पुर्‍याउन जनकपुरका युवा क्लबहरूलाई संयुक्त युवा संघर्ष समितिको उनले नेतृत्व गरेका थिए।

आन्दोलनमा अधिकार र पहिचानका लागि लडेका युवाहरूको नेतृत्व गर्दा देखेका उत्साहले मधेसको मुद्दा संविधानमा समेटिनेमा विश्वस्त थिए। तर पछिल्लो समय मधेसीहरू मधेसवादी दलको चरित्रकै कारण पहिलेभन्दा बढी विभेदको सामना गर्नुपरेको अनुभव सुनाउँछन्।

“जनकपुरका युवा संविधान जारी भएको पछिल्लो ४ वर्षमा मधेसबादी दल सत्तामा पुगे पनि संविधानलाई सर्वस्वीकार्य बनाउने पहल नगरेको गुनासो गर्छन्।“
‘आन्दोलनलाई सीँढीको रुपमा प्रयोग गरी सत्तामा पुग्ने र पदका लागि मारामार गर्ने मधेसवादी दलका नेताको चरित्रले मधेस बदनाम भएको छ,’ पछिल्लो मधेस आन्दोलनमा जनकपुर क्षेत्रका युवा वर्गको नेतृत्व गरेका साह भन्छन्, ‘यिनीहरूको चरित्रले पहिचान र अधिकारका लागि निस्वार्थ रुपमा दिनरात खट्ने युवाहरूलाई समेत बदनाम गराउने प्रयास भएको छ।’

कहिल्यै कुनै पद नदेखेका निर्वाचित जनप्र्रतिनिधि तथा प्रदेश २ सरकारका मन्त्रीहरू आम जनताको बलिदानी र सहादत बिर्सिसकेको तत्कालीन संयुक्त युवा संघर्ष समितिका संयोजक समेत रहेका साहको गुनासो छ।

‘व्यक्तिगत स्वार्थ पुरा गर्न सरकारमा सहभागी भई मन्त्री बन्ने लोभमा फस्ने मधेसकेन्द्रित दलको रबैयाले हामीमाथि राज्यले पहिल्यैभन्दा झन् बढी विभेद गर्न थालेको छ,’ उनी आफ्नो अनुभव सुनाउँछन्।

‘आन्दोलनकारी युवाहरूको अवस्था दयनीय छ। कतिपय युवा विदेश पलायन भए भने कतिले सानतिनो व्यवसाय चलाएर गुजारा गर्दै आएका छन्,’ उनले भने।

मधेसवादी दलकै लागि पछिल्लो निर्वाचनमा मत माग्दै हिड्ने साह अहिले उनीहरूकै विरुद्धमा आन्दोलन गर्नुपर्ने जिकिर गर्छन्। ‘सहिदको रगतको बलमा चुनिएर आएका यिनीहरू विरुद्ध जबसम्म युवाहरू खुलेर आउँदैनन्। यिनीहरू सुध्रिदैँनन्,’ उनले भने, ‘यिनीहरू नातावाद, जातिवाद र पैसामा उत्रिएका छन्। हामी मधेसवादी दल र प्रदेश सरकारविरुद्धमै अब आन्दोलन गर्छौ।’

आन्दोलनमा क्षतिअनुसार उपलब्धि नपाएको भन्दै संविधान संशोधनका लागि जनकपुरका युवाहरू आन्दोलनका लागि अझै तयार रहेको साहले बताए। वर्तमान संविधान अधुरो रहे पनि संविधानबाट संघीयता प्राप्त गर्नु ठूलो उपलब्धि रहेको उनको भनाइ छ। मधेसवादी दलले संविधानबाट प्राप्त अधिकार प्रयोग गरी सत्तामा बसेकाले कालो दिवस मनाएर दोहोरो चरित्र देखाउन खोजेको भन्दै नेताहरूलाई नंग्याउने दाबी गरे।

के भन्छन् युवाहरू?

सरोज मिश्र : 

जनकपुरमा पछिल्लो मधेस आन्दोलन चर्काउने र युवा जमातलाई आकर्षित गरेका उनले युवाहरूकै संगठन मधेस अधिकार संघर्ष समितिको नेतृत्व गरेका थिए। तत्कालीन समयमा संविधानको मस्यौदामा राय संकलनका लागि सरकारले टोली खटाएकै बेलादेखि संविधानमा मधेसीको हक, अधिकार र पहिचान खोसिएको भन्दै जनकपुरको जनक चोकबाट युवाहरूले आन्दोलनको शंखनाद गरेका थिए। आन्दोलको बखत मिश्र दर्जनौंपटक गिरफतार भए भने सयौँ लाठी खाए। तर कहिल्यै पछि हटेनन्। तर त्यही आन्दोलनले सत्तामा पुगेका मधेसवादी दल आन्दोलनको मर्म, सहिदको बलिदानीको बर्खिलाप काम गरेको गुनासो पोख्छन्।

‘प्रदेश र स्थानीय तहमा मधेसवादी दलबाट निर्वाचित जनप्रतिनिधिहरू सक्षम देखिएनन्, भ्रष्टाचारमै लिप्त देखिएका छन्,’ मिश्रले भने ‘भ्रष्टाचार भैरहेको मुख्यमन्त्री स्वंयले स्वीकार्छन, सुधार गर्ने प्रतिवद्धता पनि जनाउँछन् तर अहिलेसम्म केही सुधार देखिएन।’व्यक्तिगत स्वार्थ पुरा गर्न सरकारमा सहभागी भई मन्त्री बन्ने लोभमा फस्ने मधेसकेन्द्रित दलको रबैयाले हामीमाथि राज्यले पहिल्यैभन्दा झन् बढी विभेद गर्न थालेको युवाहरूको गुनासो छ।

प्रदेश सरकारले सूचनाको अधिकारबाट समेत वञ्चित गरी अपादर्शीताको पराकाष्ठा नाघेको उनले बताए। ‘सरकारले सहिदलाई श्रद्धान्जली दिन समेत बिर्सेको छ। यसले प्रष्ट हुन्छ यो सरकार जनतामुखी छैन व्यक्ति विशेषकालागि मात्र हो,’ उनले गुनासो गरे। वर्तमान संंविधानबाट संघीयता प्राप्त गरे पनि आवश्यक अधिकार नदिई संघले आफैमा केन्द्रित गरेको उनको भनाइ छ। ‘सन्तुलित रुपमा संघले अधिकार प्रत्यायोजन नगरेका कारण संघीयता धरापमा पर्ने खतरा बढेर गएको छ। संघीयता दियौं भनेर सन्देश मात्र दिन खोजेको छ,’ उनले भने। मधेसवादी दलले आन्दोलनको गलत फाइदा उठाइ रहेको उनले जिकिर गरे।

सुशील कर्ण

मधेश अधिकार संर्घष समितिमा आबद्ध रही अधिकार र पहिचानका लागि भन्दै आन्दोलन चर्काउन युवाहरूलाई संगठित गर्न महत्वपूर्ण भूमिका खेलेका कर्ण पनि दर्जनौं पटक गिरफतार भए। आन्दोलनको मुद्दा सम्बोधन नहुन्जेल पछि नहट्ने अडानमा रहेका उनले मधेसवादी दलले युवाहरूको आन्दोलनलाई हाइज्याक गरी सत्तामा पुग्ने सीँढी बनाएको दाबी गरे। त्यसपछि पनि मधेसवादी दल निर्वाचनमा गएर आन्दोलनको मुद्दालाई सम्बोधन गराउन अडिग भइ अघि बढ्ने युवाहरूले विश्वास गरेको उनको भनाई छ।

तर मधेसवादी दल सत्तामा पुगेपछि संविधान संशोधन, सहिद परिवार, राज्यले आन्दोलनकारीमाथि लगाएको झुठो मुद्दा लगायतका सबै कुरा बिर्सेको उनले गुनासो पोखे। ‘सत्तामा भागीदारी पाएका कथित आन्दोलनकारीहरूले आन्दोलनको सही मर्म नै बुझ्न सकेन्। मधेसवादी दलप्रति जनतामा आक्रोश बढेको छ,’ कर्णले भने, ‘सत्ता सन्चालनका हरेक पाइलामा यिनीहरूले गलत फाइदा उठाएका छन्। भ्रष्टाचारमा लिप्त भएका छन्।’

सत्ताको लोभ र नातावादका कारण संविधान संशोधनको एजेण्डा मधेसवादी दल र सरकारले बिर्सेको उनको दावी छ। निर्वाचनको समय टाढा भएका कारण पनि नेताले यी मुद्दाबारे आवाज नउठाएको उनले बताए। ‘चुनाव नजिक आएलगत्तै यिनीहरूले फेरि सरकारबाट राजीनामा दिनेछन्, कथित आन्दोलन गर्नेछन् र फेरि सत्तामा पुग्न जनतालाई बलिदानी दिन लगाउँनेछन्,’ कर्णले भने। संविधान संशोधनकालागि अबको संघर्ष नयाँ विकल्पका लागि हुने उनले बताए। राज्यको हरेक अंगमा समावेशी पहुँचको व्यवस्था, सिमांकन, नागरिकता लगायतका विषयमा संविधान नहुन्जेल युवाहरू फेरि पनि आन्दोलनबाट पछि नहट्ने उनले सुनाए।

जानी खान

युवाहरूकै जमातलाई नेतृत्व गर्ने निडर युवक खानले पनि आन्दोलनमा सक्रिय भूमिका निर्वाह गरे। तर आन्दोलनलाई सत्ता प्रप्तिका लागि प्रयोग गरेको उनको गुनासो छ। हामी निस्वार्थ भावनाले अधिकारका लागि लडाईं लडयौँ। ६ महिना लामो आन्दोलनको पीडा बिर्सिसकेको मधेसवादी दल र सरकारले संघीय सरकारकै अनुरुप चलेको उनको गुनासो छ।

‘संविधान दिवस आउनासाथ नेताहरू दीप प्रज्वलन गर्छन तर हामीलाई असोज ३ गते आउन लाग्दा पिरोल्छ,’ खानले भने, ‘सहिद परिवारमा छाएको मात्तम र पीडा यिनीहरूले कसरी बुझ्‍छन् ?’ उनले थपे। मधेसवादी दलले मधेसको एजेण्डा विसर्जन गरिसकेको बताउँदै उनले आगामी चुनावका लागि यिनीहरूले ती एजेण्डा अस्त्रको रुपमा प्रयोग गर्न राखेको उनले दाबी गरे।

सहिदको अपमान गरी आन्दोलनमा योगदान नै नदिएकाहरूले अवसर पाएका कारणसमेत यस्तो अवस्था मधेसमा सृजना भएको खानको भनाइ छ। ‘केही आन्दोलनकारीले अवसर प्राप्त गरे पनि धेरैले बिना कुनै योगदानै अवसर पाएका छन्। अधिकांस आन्दोलनकारी र सहिद तथा घाइते परिवारको अवस्था नाजुक छ,’ उनले भने। मधेसको अधिकार र पहिचानका लागि निस्वार्थ दिनरात लडेका कतिपय युवाहरू विदेश पलायन भइसकेका छन् भने कतिपयले मधेसवादी दलको रवैयाले विचलित भइ आन्दोलन गरी पश्चाताप भएको सुनाउँदै आएका छन्।

मधेश भवनमा दिपावली
संविधान दिवस मनाउने भनेर निर्णय गरेर ब्याक भएको प्रदेश २ सरकारको मधेश भवनमा दिपावली गरिएको छ ।

शुक्रबार परेको असोज ३ गते परेको संविधान दिवसको पूर्व सन्ध्यामा बिहीबार साँझ प्रदेश २ को मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय लगायत मन्त्रालयहरु र मन्त्रीका क्वाटरहरुमा दीपावली मनाइएको हो ।

प्रदेश २ सरकारको सत्तारुढ दल संघीय समाजवादी पार्टीका मुख्यमन्त्रीदेखि मन्त्रीहरुले संविधान दिवसको कुनै पनि कार्यक्रममा सहभागि नभइ तटस्थ बस्ने बताउँदै आएका छन् । पहिला संविधान दिवस तीन दिवसीय रुपमा मनाउने भनेर निर्णय गरेको प्रदेश २ सरकार समाजवादी पार्टीको तटस्थ बस्ने निर्णयसंगै दिवस मनाउन पछि हटेको थियो ।

यस्तै प्रदेश २ सरकारका अर्का सत्ता साँझेदार दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा) संविधानप्रति असुन्तुष्टि जनाउँदै कालो दिवस मनाउने र बल्याक आउट समेत गर्ने बताइरहेका छन् ।

तर संविधान दिवस नमाउने बताउने सत्ताका नेतृत्व गर्ने समाजवादी पार्टीका मन्त्री र कालोदिवस मनाउने अभिव्यक्ति दिइरहेने राजपा नेपालका मन्त्रीहरुकै मन्त्रालय र क्वाटरमा दीपावली प्रज्वलन गरी मनाएपछि उनीहरुको दोहारो चरित्र देखिएको छ ।

 

प्रकाशित मिति: Sep 20, 2019

प्रतिक्रिया दिनुहोस्