Logo
७ बैशाख २०८१, शुक्रबार
(September 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साझा यातायातको पुँजी साढे ३ अर्ब : पूर्वराजा ज्ञानेन्द्र शाह समेत राजपरिवारको पनि सेयर

बन्द रहेको अवस्थामा २०७० वैशाखदेखि फेरि सञ्चालन आएको साझा यातायातको पुँजी अब अर्बौंमा पुगेको छ । साझाको कुल सेयर रकम ३ अर्ब ४५ करोड ४३ लाख ४६ हजार ५ सय रुपैयाँ छ।

गत साउन १ गते सरकारले बिजुली बस खरिद गर्न साझा यातायातलाई थप ३ अर्ब रुपैयाँ दिएको छ । २०४६ पछि राजनैतिक हस्तक्षेपसँगै धरासायी हुँदै गएको साझा पछि बन्द नै भयो।

२०७० वैशाख १ गते देखि साझालाई पुनःजीवन दिई १६ वटा ठूला बसबाट यातायात सेवा सुरु गरियो। हाल साझाको बस संख्या ७१ पुगेको छ।

साझा यातायातका प्रबन्धक महेन्द्रराज पाण्डेका अनुसार साझामा अहिले २ सय २७ जनाको सेयर छ। साझामा संघीय, प्रदेश र स्थानीय सरकारसँगै विभिन्न संघसंस्था र व्यक्तिको सेयर छ।

ती २ सय २७ जना सेयर सदस्यमध्ये पूर्वराजा ज्ञानेन्द्र शाह पनि एक हुन्। पूर्वराजामात्र होइन राजपरिवार अरू सदस्यको सेयर पनि साझा यातायातमा छ।

सेयर संख्या १ देखि ६ हजार ४ सयसम्मको सेयर पूर्वराजा ज्ञानेन्द्र शाह, उनकी छोरी प्रेरणा शाह, धिरेन्द्रकी छोरीहरू पूजा शाही, शीताष्मा शाह, दिलाशा शाह र श्रुती शाहकी छोरी गिर्वाणी राणा, सुराङ्गना राणाको नाममा रहेको छ।

यो नयाँ सेयर नभई २०१८ सालको राजा महेन्द्रको सेयर नामसारी हुँदै आएको पाण्डेले जानकारी दिए। ‘राजा वीरेन्द्रले आफ्नो सेयर छोरी श्रुतीको नाममा गरिदिए।

श्रुतीको निधनपछि त्यो सेयर छोरीहरू गिर्वाणी र सुराङ्गना राणाको नाममा आयो,’ उनले भने, ‘त्यस्तै सेयर ज्ञानेन्द्र र धिरेन्द्रको नाममा पनि दरबार हत्याकाण्ड हुनुभन्दा पहिल्यैदेखि थियो।’

राजा वीरेन्द्रको सम्पत्ति राष्ट्रियकरण गरेको नेपाल ट्रष्टले साझाको सेयरबारे केही निर्णय गरेको छैन। यो सेयरबारे छलफल नगरी बोल्न नमिल्ने ट्रष्टका सूचना अधिकारी अमृत महर्जन बताउँछन्।

‘राजा वीरेन्द्रको सम्पत्ति हामीले नेपाल ट्रष्टमा ल्याउन त मिल्छ तर यो सेयर राजा वीरेन्द्र जीवित रहँदा नै नामसारी भएको हो भने मिल्दैन,’ उनले भने ‘यो विषयमा अगाडि बढ्न हामीले पहिला कानुन मन्त्रालयसँग राय लिनु पर्छ।’

साझाका प्रबन्धक पाण्डेका अनुसार साझामा रहेको ६ लाख ४० हजार रुपैयाँ बराबरको ६ हजार ४ सय कित्ताको सेयर नेपाल ट्रष्टले सरकारीकरण गर्न पाउने देखिँदैन। यी सेयरमा अझै पनि पूर्व राजपरिवारका सदस्यको स्वामित्व रहने छ।

साझाका प्रमुख कार्यकारी अधिकृत भुषण तुलाधरले साझा यातायात सार्वजनिक सूचीकृत नभएकाले अहिले सेयरको वास्तविक मूल्य प्रतिकित्ता एक सय नै रहने बताए।

‘पूर्वराजपरिवारले अहिले सेयर बेच्न चाहे पनि प्रतिकित्ता १ सयकै दरले मूल्य पाउँछन्,’ उनले भने। सेयर लगानीवापत् कुनै पनि सेयरधनीलाई अहिलेसम्म लाभांश दिइएको छैन। ‘बीचमा केही वर्ष नाफा भएपनि नाफा रकम लाभांशका रूपमा वितरण नगरी बसमै लगानी भयो,’ तुलाधरले भने।

कम्पनीको साधारणसभा बस्दा पूर्वराजपरिवारसहित सबै सेयरधनीलाई सूचना दिइने गरेको उनले बताए। २०१८ साल चैत ३ गते स्थापना भएको साझा यातायात सहकारी संस्थाले २०१९ साउन १ गतेदेखि काठमाडौं उपत्यकामा सहरी यातायात सुरु गरेको थियो।

 

प्रकाशित मिति: Sep 19, 2019

प्रतिक्रिया दिनुहोस्