Logo
६ बैशाख २०८१, बिहीबार
(September 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

संविधान दिवसको विरोधमा कालो झण्डासहित सत्तासिन राजपाको प्रर्दशन, सामाजवादी मौन

देशभर संविधान दिवसको बिभिन्न कार्यक्रमहरु गरी मनाइरहेका बेला प्रदेश २ स्थित सप्तरी जिल्लामा भने असन्तुष्ट पक्षले कालो दिवस मनाइने तयारीलाई तिब्रता दिएका छन् ।

प्रदेश सरकारमा सत्तासिन रहेका राजपा नेपालको अगुवाईमा संविधान दिवसका दिन ३ असोजमा ब्ल्याक आउटसहित कालो दिवस मनाउने तयारी गरिएको हो ।

यसै क्रममा संविधान दिवसको अघिल्लो दिन विहिबार जिल्लाका प्रमुख बजारमा कालो झण्डासहित प्रदर्शन, मोटरसाईकल (याली तथा विरोध प्रदर्शन गरिएको छ ।

सदरमुकाम राजविराजमा प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहको नेतृत्वमा कालो झण्डा सहित विरोध प्रदर्शन र सभा गरिएको छ ।

विरोध सभालाई सम्बोधन गर्दै मन्त्रीसाहले आफुहरु प्रदेशको सत्तामा रहेपनि मधेशको माग संविधानमा समावेश नगरिएसम्म आन्दोलनमै रहने उदघोष गरे ।

संविधान संशोधन भएमात्र आफुहरु संविधान दिवस मनाउने उनको भनाई थियो । नगरमा कालो झण्डा र मोटर साईकल ¥यालीसहित विरोध प्रदर्शन भई रहँदा राजापका कार्यकर्ताहरुले करिब आधा दर्जन सरकारी कार्यालयमा कालो झण्डा समेत झुण्डाएका छन् ।

यद्यपी प्रदर्शनकारीहरु गएपछि उक्त कार्यालयहरुमा राखिएको कालो झण्डा कर्मचारी हटाएका छन् । प्रदर्शनका क्रममा राजपा कार्यकर्ताहरुले सवै सरकारी कार्यालयहरुलाई संविधान दिवसमा दिपावली नगर्न र कालो झण्डा लगाउन आग्रह गर्दै हिँडेका थिए ।

यस क्रममा राजपाका कार्यकर्ताहरुले मालपोत, विद्युत प्राधिकरण, नापी शाखा लगायतका आधा दर्जन कार्यालयमा कालो झण्डा झुण्डाएका थिए ।

प्रदर्शन पछि राजपा नेपाल सप्तरीका अध्यक्ष हरेराम यादवको अध्यक्षतामा स्थानिय गजेन्द्र चौकमा आयोजित विरोध सभामा राजपाका सह महासचिव गजेन्द्र मण्डल केन्द्रिय सदस्यद्वय दिपेन्द्र चौधरी, दिनेश यादव, राजविराज नगरपालिकाका उपप्रमुख साधना झा, तिलाठी कोईलाडी गाउँपालिकाका अध्यक्ष सतिश सिंह लगायतले पनि बोल्दै संविधान संशोधन गरी मधेशका जायज माग सम्बोधन नगरिएसम्म संविधान घोषणा भएको दिन असोज ३ लाई कालो दिवसकै रुपमा मनाई रहने उदघोष गरेका थिए ।

यता नवगठित समाजवादी पार्टी नेपाल सप्तरीका अध्यक्ष केदार यादवले संविधान दिवसको अवसरमा हुने औपचारिक तथा विरोधका दुवै कार्यक्रममा आफनो पार्टीको सहभागीता नरहने स्पष्ट पारेका छन् । ‘संविधान दिवसका दिन मनाइने खुशियालीका कार्यक्रमहरुमा आफुहरु चुपचाप बस्नु पनि एक किसिमको सांकेतिक विरोध नै हो’, उनले भने, ‘त्यसैले हामी मौन बसेका छौं ।’

प्रकाशित मिति: Sep 19, 2019

प्रतिक्रिया दिनुहोस्