Logo
७ बैशाख २०८१, शुक्रबार
(September 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ई-सिगरेटमा यसकारण भारत सरकारले लगायो प्रतिबन्ध, महिलाले बढी गर्थे सेवन

भारत सरकारको १८ सेप्टेम्बरमा बसेको क्याबिनेट बैठकले ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाएको छ। यो निर्णय ई-सिगरेटले गर्दा भएको क्षतिलाई ध्यानमा राखी लिइएको हो। विश्वका धेरै देशले यसमाथि पहिला नै प्रतिबन्ध लगाइसकेका छन्।

संसार भरी नै ई-सिगरेटका विरूद्ध बिस्तारै आम सहमति बन्दै गइरहेको छ। यसका कारण धेरै देशले विश्वमा बढ्दै गईरहेको मृत्यु प्रतिशतमा चिन्ता व्यक्त गर्दै आएका छन्।

केही देशले यसमाथि पहिला नै पूर्णरूपमा प्रतिबन्ध लगाई सकेका छन् भने केही देशमा ई-सिगरेटमाथि आंशिक प्रतिबन्ध लगाइएको छ।भारतको मोदी सरकारले यसलाई पूर्ण प्रतिबन्धित गर्ने निर्णय गरेको छ।

यसको उल्लंघन गर्नेलाई पहिलो पटक कम्तिमा एक वर्ष कैद वा १ लाख रूपैयाँ जरिवाना अथवा दुवै हुनसक्ने भनिएको छ । दोस्रो पटक भने जरिवाना ६ लाख रूपैयाँ र तीन वर्ष जेल सजाय हुन्छ। यस प्रतिबन्धमा ई–हुक्का पनि समावेश रहेको छ ।

सरकारको यो निर्णय आउनु अघि भारतमा टेक्निकल रूपमा यसको बिक्रीमा कुनै प्रतिबन्ध लगाइएको थिएन। न त यसको बिक्रीका लागि ‘सेंट्रल ड्रग्‍स स्‍टेंडर्ड कंट्रोल अर्गेनाइजेशन’ (Central Drugs Standard Control Organization – CDSCO)बाट अनुमति लिनु आवश्यक रहेको थियो ।

सरकारी तथ्याकअनुसार जुलाई २०१९ सम्म भारतमा ई–सिगरेटका ४६० वटा ब्राण्ड प्रचलित रहेका थिए । यी ब्राण्डले सात हजार भन्दा बढी स्वादमा (फ्लेवर आफ्ना उत्पादन) बेचबिखन गरिरहेका थिए।

यस अघि भारतमा २०१८ को अगस्त महिनामा स्वास्थ्य र परिवार मन्त्रालयले ई–सिगरेटको विज्ञापनमाथि प्रतिबन्ध लाएको थियो ।

२०१९ को फेब्रुअरीमा CDSCO ले एक विज्ञप्ति जारी गरि भारतका सबै राज्यहरुमा यसको बिक्रीमा प्रतिबन्ध लाउन आग्रह गरेको थियो ।

यसका साथ सबै राज्यका ‘ड्रग कन्ट्रोलर’हरुलाई यसको अनुगमन गर्न निर्देश दिएको थियो। ई–सिगरेटलाई सामान्यतया धूम्रपानको विकल्पको रूपमा लिइन्छ ।

अनुसन्धानबाट यसको उपभोगले दम लगायत अन्य धेरै रोग हुने देखाएको छ ।

यसमा प्रयोग गरिएका घातक रासायनिक सम्मिश्रणले ‘पपकान लंग्स’ एवं ‘लंग्स क्यान्सर’को जोखिम द्रुत गतिमा बढ्दै गईरहेको छ । ई–सिगरेट एक प्रकारको ‘इलेक्ट्रोनिक इनहेलर’ हो, यसमा निकोटिन का साथै अन्य रसायनयुक्त तरल पदार्थ रहेका हुन्छन् ।

यस ‘इनहेलर’ले ब्याट्रीबाट उर्जा प्राप्त गरी यसमा रहेको तरल पदार्थलाइ धुवामा रूपान्तरण गरी दिन्छ , जसले गर्दा सिगरेट पिउनेहरुले ई–सिगरेट पिउन मन पराउँछन । केही दिन अघि अमेरिकाको न्युयोर्कमा पनि ई–सिगरेट प्रतिबन्धित गरिएको थियो ।

यसभन्दा पहिला पनि केही अमेरिकी राज्यहरूले यसको बिक्रीमा पूर्ण प्रतिबन्ध लगाइसकेका छन्। न्यूयोर्कमा हाल तम्बाकू र मेन्थलको बिक्री प्रतिबन्धित छैन।

न्युयोर्कको बारेमा कुरा गर्दा, भर्खरको एक सर्वेक्षण रिपोर्टले स्कुले विद्यार्थीहरूमा ई-सिगरेटको प्रचलन बढेको कुरा पत्ता लागेको थियो । रिपोर्टका अनुसार २०१४-२०१८ को अवधि मा त्यहाँका स्कूल मा ई–सिगरेटको खपतमा १६० प्रतिशतले वृद्धि भएको छ।

जापानमा पनि ई-सिगरेट निषेध गरिएको छ, यस बाहेक, ब्राजिल, सिंगापुर, मेक्सिको, उरुग्वेमा पनि ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाइएको छ। इंग्लैण्डमा भने ई-सिगरेटमाथि आंशिक प्रतिबन्ध रहेको छ।

ई-सिगरेटको सेवनबाट खतरै-खतरा
सामान्ययता (धुमपान) चुरोट खाने बानी परेकाहरुलाई यसको लत छुटाउन निकै मुस्किल हुन्छ । अब त छोड्छु भनेर पटक पटक अठोट लिएपनि वास्तवमा यसको लत छुटाउन अधिकांशले सकेका हुँदैनन् ।

धुमपान स्वास्थ्यका लागि हानिकारक रहेको थाहा हुँदाहुँदै पनि यसको लत छुटाउन नसक्दा सेवनकर्ताहरु शारीरिक, मानसिक तथा सामाजिक समस्या भोग्न बाध्य छन् ।

धुमपानको लत छुटाउन नसकेकाहरुलाई हानि कम पुर्‍याउने दाबीका साथ ई सिगरेट बजारमा ल्याइएको छ । तर स्वास्थ्यका लागि इ सिगरेट पनि उत्तिकै हानिकारक रहेको स्वास्थ्यकर्मीहरुको भनाई छ ।

ई सिगरेट हेर्नमा आम सिगरेट भन्दा फरक रहेपनि स्वास्थ्यका लागि हानिकारक नै रहेको उनीहरुको भनाई छ । यसमा रहेको निकोटीनले स्वास्थ्यमा नराम्रो असर पार्छ ।

आजभोलि मानिसहरु हानि नहुने भन्दै आम सिगरेटको सट्टा ई सिगरेटको प्रयोग गरिरहेका छन् । धुँवा दिने सिगरेट भन्दा ई सिगरेटले स्वास्थ्यलाई नोक्सान नपुगाउने उनीहरुको धारणा छ ।

के हो ई-सिगरेट ?
ई सिगरेट व्याट्रीबाट चल्ने एउटा यस्तो डिभाइस हो जसमा लिक्विड भरिएको हुन्छ । यसमा निकोटीन र यस्तै अरु हानिकारक केमिकलको घोल राखिएको हुन्छ ।

निकोटीनको लत
निकोटीन आफैमा एक नशालु पदार्थ हो जसको सेवन मानिसहरुका लागि लतमा परिणत हुन्छ । त्यसकारण मुटु सम्बन्धी रोगीहरुले ई सिगरेटबाट पनि टाढा रहनुपर्छ ।

वैज्ञानिक खोजमा भनिएको छ कि यसबाट धमनीमा गम्भीर असर पर्न सक्छ । यसको लत बस्यो भने डिप्रेशनको समस्या पनि हुन सक्छ ।

गर्भवतीका लागि हानिकारक
गर्भवती महिलाका लागि ई सिगरेट खतरनाक सावित हुन सक्छ । यसले गर्भमा रहेको शिशुमा नराम्रो असर पर्न सक्छ । स-साना बालबालिकाको अगाडि पनि यसको सेवन गर्नु हुँदैन किनभने यसले उनीहरुको दिमागी विकासमा असर पार्छ ।

बास्नादार केमिकलले क्यान्सरको खतरा
ई सिगरेटमा निकोटीनका साथसाथै अरु पनि बास्नादार केमिकल राखिएको हुन्छ । जसको सेवन गर्दा फोक्सोको क्यान्सरको जोखिम पनि हुन सक्ने चिकित्सकहरुको भनाई छ ।

ई-सिगरेटमाथि पूर्ण प्रतिबन्ध
भारत सरकारले ई–सिगरेटमाथि पूर्ण प्रतिबन्ध लगाएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै अर्थमन्त्री निर्मला सितारमणले यस्तो जानकारी दिएकी हुन् ।

उनले युवाहरुको स्वास्थ्यलाई ध्यान दिएर ई-सिगरेटमाथि सरकारले पूर्ण प्रतिबन्ध लगाउने निर्णय लिएको बताइन् । मन्त्री सितारमणले भनिन्, ‘अब ई–सिगरेटको उत्पादन, बिक्री, ओसारपसार, आयात, निर्यात, तथा वितरण गर्न पूर्ण प्रतिबन्ध लगाइएको छ ।’

यसका लागि सरकारले एक अध्यादेश ल्याएको छ । प्रस्तावित अध्यादेशमा यसको उल्लंघन गर्नेलाई अधिकतम एक वर्षको जेल सजाय र एक लाख रुपैयाँ जरिवानाको प्रावधान राखिएको छ ।

प्रकाशित मिति: Sep 19, 2019

प्रतिक्रिया दिनुहोस्