Logo
७ बैशाख २०८१, शुक्रबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘लामखुट्टेश्वर महादेव स्थपना गरौँ’ भन्दै सांसदमा स्वास्थ्यमन्त्री यादवको कडा आलोचना

प्रनिनिधिसभाको बैठकमा बुधबार सांसदहरुले देशमा डेंगीको ‘महामारी’ फैलिरहेका बेला स्वास्थ्यमन्त्री भने विदेश भ्रमणमा व्यस्त रहेको भन्दै आलोचना गरेका छन् ।

सांसदहरुले विदेश भ्रमणका बारेमा तीव्र आलोचना गरे पनि उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव भने त्यसबारे जवाफ नै नदिइ रोस्टमबाट बाहिरिएका छन् ।

बैठकमा बोलेका अधिकांश सांसदले डेंगीले नागरिक संक्रमित भएको तथा केहीको निधन नै भएको अवस्थामा त्यसको नियन्त्रणका लागि मन्त्रालयको तर्फबाट खेल्नु पर्ने भूमिकालाई बेवास्ता गरेर स्वास्थ्य मन्त्री उपेन्द्र यादव विदेश भ्रमणमा व्यस्त रहेको भन्दै आलोचना गरेका हुन् ।

नेकपाका सांसद विरोध खतिवडाले व्यंग्यात्मक रुपमा ‘लामखुट्टेश्वर महादेव स्थपना गरौँ’ भनेका छन् ।

डेंगी नियन्त्रणका लागि मन्त्रालयबाट काम नभएकाले अब लामखुट्टेश्वर महादेव स्थापना गर्नु पर्ने बताएका हुन् ।

यस्तै नेकपाका सांसद कृष्णगोपाल श्रेष्ठले मन्त्रीको आलोचना गर्दै भने, ‘उहाँ विदेश मात्र जाने, मन्त्री र राज्यमन्त्री टेकु जानु भएको छ ? बल्ल आएर सदनलाई जानकारी गराउने ? यस्तो पनि जिम्मेवारी हुन्छ?’

सांसद प्रेम सुवालले मन्त्रीको विदेश भम्रणका सम्बन्धमा ‘रोग लागेको बेला किन विदेश जान लागेको ?’ भने ।

सांसद पार्वता डिसी चौधरीले मन्त्रीले दुई महिनापछि आएर जवाफ दिएको भन्दै आलोचना गरिन् । उनले भनिन्, ‘तपाईँ विदेश मात्र घुमेर बस्ने, नेपाली जनताले तपाई जस्तै विदेश घुमिरहने?’

स्वास्थ्य मन्त्री यादवले सांसदको प्रश्नको जवाफ दिँदै भने, ‘विश्वमा बढेको तापक्रमका कारण पनि लामखुट्टे र रोग बढेको हो। अहिले मात्र मन्त्रालय लागेको होइन सुरुदेखि नै मन्त्रालयले युद्धस्तरमा काम गरिरहेको छ । रोग नियन्त्रण गर्न स्वास्थ्य मन्त्रलाय तयारी गरिरहेको छ । उपकरणको अभाव छैन।’

यस्तै सांसद राजन केसीले स्वास्थ्य मन्त्रीले संसदमा दिएको जवाफ बनिबनाउ रहेको बताए । उनले भने, ‘यस्तो बनिबनाउ र लिखित जवाफ दिएर हुन्छ? मुख्य रोग सल्किएका बेला विदेशमा हुनुहुन्थ्यो। अब जाडो लागेर लामखुट्टे नलाग्ने बेला पैसा खर्च गर्न खोज्दै हुनुहुन्छ, किन?’

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्