Logo
१२ बैशाख २०८१, बुधबार
(September 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

बिरामी बोकेर जाँदै गरेको गाडी अरुण नदीमा खस्यो, ६ जना बेपत्ता

प्रदेश १ स्थित संखुवासभा जिल्लाको सदरमुकाम खाँदबारीमा रहेको जिल्ला अस्पतालबाट बिरामी बोकेर धरान जाँदै गरेको गाडी अक्करको भीरबाट अरुण नदीमा खस्दा ६ जना बेपत्ता भएका छन् ।

मंगलबार साँझ साढे ८ बजेतिर खाँदबारीबाट धरान हिँडेको को १ ज ३७४९ नम्बरको बोलेरो जीप करिब साढे १० बजेतिर धर्मदेवी नगरपालिकामा पर्ने अक्करको भीरबाट अरुण नदीमा खसेको हो ।

मंगलबार खाँदबारी अस्पतालमा खाँदबारी-९ का प्रमेश थापामगर र संगम श्रेष्ठका २ महिनाको छोरा समिर बिरामी भएपछि अस्पताल भर्ना गरिएको थियो ।

प्रमेश मिर्गौलाका बिरामी हुन् भने समिरलाई निमोनिया भएकाले जिल्ला अस्पतालमा उपचार सम्भव नभएकाले धरानस्थित वीपी मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान रिफर गरिएको जिल्ला अस्पतालका डा. किसन नेपालीले बताउनुभयो ।

जीपमा बिरामी २ जनासहित समिरको बुवाआमा संगम श्रेष्ठ, सदीक्षा श्रेष्ठ र प्रमेशका भिनाजु खबरमान पीठाकोटी मगरसहित चालक सन्तोष विश्वकर्मा रहेको बताइएको छ ।

रातीको समयको दुर्घटना भएकाले बेपत्ताको खोजी कार्य हुन सकेको छैन । अरुण खोलामा बाढी आएका कारण उनीहरुको खोजीमासमेत समस्या भइरहेको छ ।

प्रकाशित मिति: Sep 18, 2019

प्रतिक्रिया दिनुहोस्