Logo
८ बैशाख २०८१, शनिबार
(September 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पार्टीभित्र असन्तुलको संकेत : रघुवीर महासेठलाई जिम्मेवारीबाट हटाउन माग

जनकपुर : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ को बर्दिवासमा आयोजित सपथ ग्रहण कार्यक्रममा भएको झडपका कारण पार्टीभित्र असन्तुलको संकेत देखापरेको छ ।

मंगलबार पार्टीका १६ केन्द्री सदस्यहरुले पार्टी स्थाई कमिटी सदस्य रघुबीर महासेठ लगायत प्रदेश इन्चार्ज, अध्यक्ष र सचिवलाई पदबाट हटाउनुपर्ने माग गर्दै केन्द्रीय कार्यालयमा पत्र बुझाएपछि असन्तुलनको संकेत देखापरेको हो । केन्द्रीय सदस्यहरुले पार्टीमा माथिदेखि तलसम्म विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरु उल्लंघन गरिएको समेत आरोप लगाएका छन् ।

पार्टीभित्र विधि र अनुशासनको माग गर्दै प्रदेश नम्बर २ का सह-इन्चार्ज तथा केन्द्रीय सदस्यहरु नागेन्द्र चौधरी र महेन्द्र पासवानसहित १६ जना केन्द्रीय सदस्यहरुले पत्र दर्ता गराएका हुन् ।

पत्रमा पार्टीको अन्तरिम विधानको धारा ३४ (ख) विपरित काम गरेको भन्दै रघुवीर महासेठलाई पार्टी स्थायी कमिटीबाट हटाउनुपर्ने, २ नं प्रदेश कमिटीमा मनोनयन गरिएका नेताहरुको नाम हटाएर अन्य वरिष्ठ र सक्षम नेताहरु समावेश गर्नुपर्ने माग गरिएको छ भने केन्द्रिय समितिको परिपत्र उल्लंघन गर्दै सपथ ग्रहण राखेर असहज परिस्थिति सिर्जना गरेको भन्दै नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल, सह-इन्चार्ज विश्वनाथ शाह, अध्यक्ष प्रभु साह र सचिव सुमन प्याकुरेललाई पदमुक्त गरी कडा कारवाही गर्न माग गरिएको छ ।

त्यस्तै नेकपाको अन्तरिम विधानको धारा ३६ (ख) तथा विशेष परिपत्र ४ (क) विपरित प्रदेश नं २ का सबै जिल्ला कमिटीहरुमा मनोनयन गरिएका तथा योग्यता नपुगेकाहरुको मनोनयन रद्द गरी वरिष्ठ र सक्षमहरुलाई मनोनयन गर्दै सपथ ग्रहण गराउन समेत पत्रमा माग गरिएको छ ।

उता, प्रदेश इन्चार्ज र अध्यक्षले पर्सा र बारामा षडयन्त्रपूर्वक सपथ गराइएको आरोप लगाउँदै उक्त सपथ ग्रहण रद्द गरी जिल्ला कमिटीमा मनोनयन गरिएको त्रुटी सच्याएर अर्को शपथ ग्रहण गर्न समेत आग्रह गरिएको छ । पत्रमा केन्द्रिय सदस्यहरु रामचन्द्र झा, गोपाल ठाकुर, रामचन्द्र यादव, श्रीप्रसाद साह, सुधीरप्रसाद साह, रत्नेश्वर गोइत यादव, रामकुमार शर्मा, ममता गिरी, सरला यादव, दिनेश राई, जगतप्रसाद यादव, शत्रुधन महतो, बोधमाया यादव, रविन्द्र बैठा लगायतले हस्ताक्षर गरेका छन् ।

प्रकाशित मिति: Sep 17, 2019

प्रतिक्रिया दिनुहोस्