Logo
८ बैशाख २०८१, शनिबार
(September 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकामा विद्युतीय चुरोट (ई-चुरोट) उत्पादनमा प्रतिबन्ध

वासिङ्टन :   संयुक्तराज्य अमेरिकाले विश्वभर युवापुस्तामाझ लोकप्रिय भएकोे सुगन्धित विद्युतीय चुरोट (ई-चुरोट)को सेवनबाट स्वास्थ्य जोखिम बढेको भन्दै त्यस्ता वस्तुको उत्पादनमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यस वस्तुका कुलतमा फसेका किशोर किशोरी युवावस्थामा पुगेपछि सूर्तिजन्य ई-चुरोट सेवन गर्नेतर्फ उत्प्रेरित हुन सक्ने देखिएपछि यसको उत्पादनमा रोक लगाइएको हो ।

खासगरी किशोरहरुबीच निकै लोकप्रिय भइरहेको यस चुरोटले फोक्सोमा समस्या आउने गरेको अध्ययनहरुले देखाएका छन् । त्यसैगरी पछिल्ला केही अध्ययनले सुगन्धित ई-चुरोटको सेवनकै कारण पनि बालबालिकाको मृत्यु हुने गरेको पाइएको छ ।

ह्वाइट हाउसमा संवाददाताहरुसँग कुरा गर्दै राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू र प्रथम महिला मेलानीया ट्रम्प ई-चुरोटको कुलतमा फसेका कारण फोक्सोको गम्भीर बिरामी भएका एक किशोरका बाबुआमाको कथा सुनेर निकै भावुक भएको बताए ।

“हामी दुबैले ती किशोरको व्यथा पढेका छौं,” उनले भने “हामीजस्तै धेरै मानिसले यो कथा पढेका छन्, र यसको सेवनबाट मानिसहरुको ज्यान गइरहेको छ ।”

ई-चुरोटको नियमन गर्ने एफडीए अमेरिकाको शक्तिशाली सरकारी निकाय हो । त्यस अवसरमा स्वास्थ्यमन्त्री अजरले आगामी साता ई–चुरोटका बारेमा नयाँ नियमहरु ल्याइने बताए ।

ग्रान्ड भ्यू रिसर्चका अनुसार सन् २०१८ मा विश्वभर १० अर्ब २० करोड मूल्य बराबरको ई-चुरोट उत्पादन भएको थियो । सूर्तीको स्वाद भएका बाहेक अरु सबै किसिमका सुगन्धित ई-चुरोट बजारमा अब बेच्न पाइने छैन, उनले भने । उनका अनुसार यसका लागि व्यवसायीलाई ३० दिनको समयावधि दिइने छ ।

सन् २०१९ मै गरिएको एक अध्ययनमा माध्यमिक तहमा अध्ययन गर्नेमध्ये एक तिहाई विद्यार्थीले सुगन्धित ई-चुरोट सेवन गर्ने गरेको देखिएको छ । अधिकांश सेवनकर्ताले फलफूल, मेन्थोल वा मिन्ट (पुदिना)को स्वाद भएका ई-चुरोट रुचाएका थिए ।

तत्कालका लागि सूर्तीको स्वाद भएका ई-चुरोटमा प्रतिबन्धहरु नलगाए पनि २०२० को मेदेखि उत्पादकहरुले एफडीएबाट स्वीकृति लिनु पर्नेछ । उक्त समाचार सार्वजनिक भएलगत्तै अमेरिकामा च्याउ उम्रिएझैं फैलिएका ई-चुरोट उत्पादकमा छटपटी भएको छ ।

एफडीएको सर्वेक्षणमा समेटिएका ई-चुरोट सेवनकर्तामध्ये ४५० जनाभन्दा बढीले आफूहरु बिरामी परेको बताएका थिए । उनीहरुले आफूहरुलाई श्वास फेर्न कठिन भएको र छाती दुखेको जनाएका थिए । कतिपयलाई अस्पतालमा भर्ना गर्नु परेको थियो भने केहीलाई भेन्टिलेटरमा राख्नु परेको थियो ।

प्रकाशित मिति: Sep 12, 2019

प्रतिक्रिया दिनुहोस्