Logo
१२ बैशाख २०८१, बुधबार
(September 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टन पदबाट बर्खास्त

वासिङ्टन :  अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनलाई मङ्गलबार पदबाट बर्खास्त गरेका छन् । अमेरिकाको प्रत्यक्ष संलग्नता रहेका अफगानिस्तान, उत्तर कोरिया र अरु सङ्कटग्रस्त स्थानका समस्या सुल्झाउन बोल्टन बाधक बन्दै गएको ह्वाइट हाउसको ठम्याई छ ।

बोल्टनका नीतिसँग आफू असहमत रहेको भनाई राख्दै राष्ट्रपति ट्रम्पले ट्वीटमा भनेका छन्, “मैले जोनलाई राजिनामा दिन भनेको थिएँ, उनले आजै बिहान राजिनामा बुझाए ।”

३ वर्षको अवधिमै राष्ट्रपति ट्रम्पले राष्ट्रिय सुरक्षा सल्लाहकारमा तेस्रो फेरबदल गरेका हुन् । राष्ट्रपति ट्रम्पले अर्को साता नयाँ सल्लाहकार नियुक्त गरिने जानकारी दिएका छन् ।

पदबाट बर्खास्त हुनुअघि सल्लाहकार बोल्टनले अर्कै प्रसङ्गमा ह्वाइट हाउसमा पत्रकार सम्मेलन आयोजना गर्ने कार्यक्रम थियो । राष्ट्रपतिबाट पदच्यूत भएपछि उनले आफूलाई ट्रम्पले बर्खास्त नगरेको बरु आफैंले राजिनामा दिएको दाबी गरेका छन् ।

बोल्टनलाई अमेरिकी राजनीतिक मामिलामा सधैं विवादास्पद व्यक्ति मानिन्छ । इराकमा आक्रमणका मुख्य योजनाकार मानिने बोल्टनलाई अमेरिकी विदेश मामिला परिचालनमा निकै कठोर व्यक्तिका रुपमा लिइन्छ । पछिल्ला दिनहरुमा ह्वाइट हाउसले इरान, उत्तर कोरिया, भेनेजुएला समेतका मामिलामा लिएको कडा रबैयाका मुख्य सुत्रधार बोल्टन रहेको विश्वास गरिन्छ ।

लामालामा जुँगा पाल्न रुचाउने बोल्टनले यसअघि संयुक्तराष्ट्र संघका लागि अमेरिकी राजदूतको भूमिका समेत निर्वाह गरेका थिए । उनले अफगानिस्तानका विद्रोही शक्ति तालिबान र उत्तर कोरियाली नेता किम जोङ अनसँग भइरहेका वार्तामा कुनै समर्थन गरेका थिएनन् ।

अमेरिकी सञ्चार माध्यमहरुका अनुसार ट्रम्पले तालिबान नेताहरुलाई गत साता क्याम्प डेभिडमा आमन्त्रण गरेपनि अन्तिम क्षणमा रद्द गरेपछि दुबै नेताबीचको असमझदारी चुलीमा पुगेको थियो ।

अमेरिकी विदेशमन्त्री माइक पोम्पेओले बोल्टनको बहिर्गमनको अर्थ अमेरिकाको रणनीति पूरै परिवर्तन भएको ठान्न नहुने बताउनुभएको छ । उनले संवाददाताहरुसँग वासिङ्टनमा भने, “हामीबीचको कोही सदस्य बाहिरिनासाथ अमेरिकी नीतिमा परिवर्तन हुँदैन, र त्यसमा सत्यता छैन ।”

राष्ट्रसंघको महासभामा भाग लिने इरानी राष्ट्रपति हसन रौहानीसँग यसपटक राष्ट्रपति ट्रम्पको भेटघाट होला त भनी सोधिएको एक प्रश्नमा विदेशमन्त्री पोम्पेओले भने, “अवश्य हुनेछ ।”

अमेरिकी अर्थमन्त्री स्टिभेन मन्चिनले राष्ट्रपति ट्रम्प र उहाँका वरिष्ट सल्लाहकारहरु इरानमाथिका प्रतिबन्धका विषयमा एकमत रहेको बताए।

प्रकाशित मिति: Sep 11, 2019

प्रतिक्रिया दिनुहोस्