Logo
११ बैशाख २०८१, मंगलबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

हर्षोल्लासका साथ घरघरमा भित्राइयो ताजिया, एउटा ताजियाको मूल्य रु ९६ हजार

नेपालगञ्ज उपमहानगरपालिका-११ निवासी चाँदबाबु राईले ३ वर्षयता बाँके जिल्लामै सबैभन्दा अग्लो ताजिया राख्ने होडबाजी गर्छन् । मोहर्रम पर्वको अवसरमा नेपालगञ्ज उपमहानगरपालिका-११ पासाङल्हामुरोडमा यो वर्ष उनले करीब ८५ फिट उचाइको ताजिया स्थापना गरेका छन् ।

भारतको उत्तरप्रदेश बहराइच जिल्लाको आलीनगरबाट खरीद गरेको उक्त ताजियाको मूल्य भारतीय रु ५० हजार परेको उनको भनाइ छ । उनका अनुसार, उक्त ताजिया नेपालगञ्जसम्म ल्याएको ढुवानीको भाडामात्रै भारतीय रु १० हजार लागेको छ । “५० हजार भारुको ताजिया खरीद गरेको हो, ढुवानीमा भारु १० हजार लागेको छ”, राईले भने, “एउटा ताजिया खरी दगर्न ९६ हजार नेपाली रुपैयाँ लागेको छ ।”

राईले चन्दा अथवा दानबाट नभई आफ्नो निजी रकम खर्च गरेर अग्लो ताजिया राख्ने गरेको बताए । “मैले आफ्नै खर्चमा ताजिया लगाउने गरेको छु”, राईले भने, “गत वर्ष ७० फिटको थियो, अहिले ८५ फिटको रहेको छ ।”

बाँकेमा मात्रै रु १ करोडभन्दा बढीका ताजिया राखिएको राईको अनुमान छ । मुस्लिम समुदायले घरघरमा स्थापना गरेका ताजिया सामूहिक रुपमा आज घर नजिकै रहेका कर्बलाहरुमा विर्सजन गरेर बगाउने गर्छन् ।

नेपालगञ्जमा मुस्लिम, हिन्दू तथा अन्य जातिले पनि आ-आफ्नो घर अगाडि ताजिया राखेर पूजाआजा गर्ने गर्छन् । मोहर्रमको अन्तिम दिन घर-घरमा राखिएका ताजिया बोकेर स्थानीय कर्बलामा पुगी ताजिया सेलाएपछि मोहर्रम सकिन्छ ।

आफ्नो आर्थिक हैसियत अनुसार ताजिया स्थापना गरिने परम्परा भए पनि पछिल्ला केही वर्ष ठूलो ताजिया राख्ने अस्वस्थ प्रतिष्पर्धा देखिएको मौलाना अब्दुल जब्बार मञ्जरीको भनाइ छ । उनले सानो-ठूलो जस्तो ताजिया राखे पनि विसर्जन गरिने भएकाले ठूलै राख्नुपर्ने कुनै जरुरी नरहेको बताए ।

हिन्दूलगायत अन्य धर्म समुदायले समेत मनाउन थालेपछि मोहर्रम पर्व धार्मिक सद्भावको रुपमा विकसित हुँदै गएको छ । भाकल गरी घरमा स्थापना गरिएको ताजियालाई पूजा अर्चना गर्नाले पारिवारिक सुख, समृृद्धि तथा मनोइच्छा पूरा हुने विश्वास रहेको उनले बताए ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्