Logo
६ बैशाख २०८१, बिहीबार
(September 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाल-भारतबीचको सम्बन्ध यति गहन छ कि सहकार्यको कुनै क्षेत्र पनि छाडिएको छैन : ओली

गोरखा र नुवाकोट जिल्लामा ५० हजार घर उद्घाटन गर्न आउन चाहन्छु : मोदी

प्रधानमन्त्री केपि शर्मा ओलीले भारतसँगको सम्बन्धलाई नेपालले ठूलो प्राथमिकता दिएको उल्लेख गरेका छन् । ‘दुई देशबीचको सम्बन्ध यति गहन छ कि सहकार्यको कुनै क्षेत्र पनि छाडिएको छैन,’ प्रधानमन्त्रीले भने ।

नेपाल र भारतबीच मोतिहारी-अमलेखगञ्ज पेट्रोलियम पाइपलाइनको आज दुई देशका प्रधानमन्त्रीले आ-आफ्नो देशबाट स्वीच थिच्दै उद्घाटन गरेका छन् ।

भिडियो कन्फरेन्समार्फत प्रधानमन्त्री ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले एकैपटक स्वीच थिच्दै पाइपलाइनको उद्घाटन गरेका हुन् । उनले सोही अवसरमा प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको निम्तोसमेत दिए ।

‘विकासको दृष्टिकोणमा भारत र मेरो विचार मिल्छ । मोदीसँग हातमा हात मिलाएर अघि बढाउन तयार छु । यही भिडियो सम्बोधन मार्फत नै मोदीलाई नेपालको भ्रमणको निम्तो दिन चाहन्छु ।’

प्रधानमन्त्री ओलीले निर्धारित समयको आधा समयमा परियोजना पुरा भएकोमा प्रशंसा गर्दै नेपाल र भारतबीच मात्र नभएर दक्षिण एशियामै यस्तो खालको पहिलो परियोजना भएको जिकिर गरे ।

उनले समय, यातायात र वायु प्रदुषण कम गर्नेमा आशा व्यक्ति गरे । पाइपलाइन प्रयोगमा आउना साथ नेपाल आयल नियमले डिजेल र पेट्रोल दुवैमा दुई रुपैया मुल्य घटाइसकेको जानकारी प्रधानमन्त्रीले दिए ।

‘यस परियोजनाले दुई देशबीचको सम्पर्क बढाउनेछ,’ उनको भनाई थियो । सो अवसरमा भूकम्पपछिको पुनरनिर्माणमा भारतले पु(याएको योगदानलाई स्मरण गर्दै भारतको वित्तिय सहयोगमा गोरखा र नुवाकोट जिल्लामा ५० हजार घर बनिसकेको जानकारी दिए ।

उनले परियोजनालाई समयमै सम्पन्न गर्ने संलग्न पक्षलाई धन्यवाद ज्ञापन गरे । सो अवसरमा भारतीय प्रधानमन्त्री मोदीले भारत र नेपालबीच सदियौं पुरानो पारिवारिक र सास्कृतिक सम्बन्ध भएको उल्लेख गर्दै जनता जनताबीचको सम्बन्ध दुई देशबीचको द्विपक्षीय सम्बन्धको आधार भएको जिकिर गरे ।

‘पछिल्लो केही वर्षमा शीर्ष राजनीतिक तहमा अभूतपूर्व निकटता आएको छ । पछिल्लो डेड वर्षमा केपी ओली र मबीच चार पटक भेट भइसकेको छ । यो भेटघाटबाट आपसी सम्बन्ध थप बलियो भएको छ ।’

पछिल्लो पाँच वर्षमा धेरै परियोजना सम्पन्न भएको भन्दै पशुपति धर्माशाला, आईसीपी बिरगञ्ज उद्घाटन र मोतिहारी–अमलेखञ्ज पाइपलाइनका उदाहरण प्रस्तुत गरे ।

‘यो पाइपलाइनबाट एक वर्षमा २० लाख मेट्रिक टन प्रशोति पेट्रोलियम पदार्थ उपयुक्त मूल्यमा नेपालका आम नागरिकले प्राप्त गर्छन्,’ उनले भने, ‘अहिले यो परियोजना प्रयोगमा आएपछि भएको वचत रकम कटौतीको जुन काम गरेको छ ।

त्यसबाट यो काम नेपालका सामान्य नागरिकको भलाईको लागि भएको मान्न सकिन्छ । यसमा सहभागी हुन पाउँदा खुसी छौँ ।’ उनले गोरखा र नुवाकोटको ५० हजार घरको उद्घाटनमा सहभागी हुने चाहना व्यक्त गरेका थिए ।

मोदीले भिडियो कन्फरेन्समा व्यक्त मन्तव्यको सारसंक्षेप : 

मलाई खुशी लागेको छ कि हाम्रो संयुक्त प्रयासबाट हाम्रा दुईपक्षीय प्रजेक्टहरुले प्रगति गरिरहेका छन् र आज हामी मोतीहारी–अमलेखगञ्ज पाइपलाइनको संयुक्त उदघाटनमा भाग लिइरहेका छौं ।

भारत र नेपालका वीचमा शदिऔं पुरानो पारिवारिक र सांस्कृतिक नाता छ । यो ‘पिपुल टु पिपुल रिलेसन’ हाम्रो दुईपक्षीय सम्बन्धको आधार हो ।

पछिल्ला केही वर्षमा हामीवीच उच्च राजनीतिक तहमा अभूतपूर्व निकटना आएको छ । र, नियमित सम्पर्क भइरहेको छ । पछिल्ला वर्षहरुमा मेरा भित्र प्रधानमन्त्री ओलीजी र मेरो चारपटक भेटघाट भइसकेको छ ।

यी भेटघाटमा आपसी विश्वास पक्का भएको छ । अब परस्पर हितका आधारमा हाम्रो साझेदारी मजबुद भएको छ । विकासका लागि हाम्रो साझेदारीलाई अरु सक्रिय बनाउने र नयाँ-नयाँ क्षेत्रमा सहयोग बढाउनका लागि हामीले नयाँ-नयाँ अवसरको लाभ पनि उठायौं ।

हाम्रो संयुक्त प्रयासको उद्देश्य हो कि हाम्रा जनतालाई लाभ प्राप्त होस् । उनीहरुको विकास होस् । परियोजनाहरु समयमा पूरा हुने हाम्रा दुबै सरकारका प्रथमिकता हुन् । पछिल्ला ५ वर्षमा हामीले महत्वपूर्ण द्वीपक्षीय परियोजनाहरु पूरा गरेका छौं । यो बहुत संतोषको विषय हो ।

दक्षिण एशियाको पहिलो क्रस बोर्डर पेट्रोलियम पाइप लाइन समयमै पूरा भयो । नेपाल सरकारको सहयोग र हाम्रो संयुक्त प्रयासबाट समयमै पूरा भयो ।

यो पाइपलाइनबाट हरेक वर्ष दुई मिलियन मेट्रिक टन क्लिन पेट्रोलियन प्रोडक्ट नेपालका सामान्य जनताले प्राप्त गर्नेछन् । मेरा लागि यो खुशीको कुरा हो कि आज यो पाइपलाइनको उदघाटनपछि आर्थिकरुपबाट बचत हुनेवाला छ ।

यहाँहरुले मूल्य घटाउने योजना पनि घोषित गरिदिनुभयो । एक प्रकारले यो काम नेपालको सामान्य नागरिकको भलाइका लागि भएको छ । नेपाली जनताको भलाइ हुने यस काममा हामीलाई पनि साक्षी बन्ने मौका मिल्यो । भागिदार बन्ने मौका मिल्यो ।

सन् २०१५ को विनासकारी भूकम्पपछि जब नेपालको पुनर्निर्माणको बेडा अघि बढेको थियो, तब भारतले छिमेकी तथा निकट मित्रका नाताले आफ्नो हात सहयोगका लागि अगाडि बढायो ।

मलाई धेरै प्रशन्नता छ कि नेपालको गोरखा र नुवाकोट जिल्लामा हाम्रो आपसी सहयोग, जसको यहाँले धेरै गर्वका साथ उल्लेख गर्नुभयो, त्यसैले म तपाईप्रति आभारी छु । आशा गर्छु, यस प्रोजेक्टमा यहाँका साथ लोकार्पण गर्ने अवसर पनि धेरै नै छिटो मिल्ने छ ।

हामीले आफ्नो साझेदारीलाई अरु बढाउनका लागि एउटा महत्वाकांक्षी एजेण्डा निर्धारित गरेका छौं । मलाई खुशी छ कि हामी आफ्नो सहयोगका सबै क्षेत्रमा सन्तोषजनकरुपले प्रगति गरिरहेका छौं ।

हाम्रा विदेशमन्त्रीले काठमाडौंमा आपसी सहयोगका सबै क्षेत्रमा कुारकानी गरेका छन् । मलाई उम्मीद छ कि साझेदारीलाई अरु व्यापक बढाउने र सहयोगका विविध क्षेत्रमा अगाडि बढ्नेछौं ।

विकासको साझेदारीका साथ अघि बढ्नका लागि म आज फेरि एकपटक आफ्नो प्रतिवद्धता दोहोर्‍याउन चाहन्छु । यो महत्वपूर्ण कार्यक्रममा भिडियो लिंकबाट मसँग जोडिने यहाँले जुन समय निकाल्नुभयो, म धेरै खुशी भएँ ।

म हमेसा तपाईको उत्तम स्वास्थ्य, अभूतपूर्व सक्रियता र भारत-नेपाल सम्बन्धलाई जोड्नका लागि हरप्रकारले धेरै धेरै शुभकामना व्यक्त गर्दछु ।

यहाँले मलाई एकपटक नेपाल आउने निमन्त्रणा दिनुभएको छ, म विल्कुल यहाँसमक्ष आउन मेरो इच्छा पनि छ । म धेरै चाँडो आउने प्रयास गर्नेछु । यहाँलाई धेरै धेरै धन्यवाद ।

प्रकाशित मिति: Sep 10, 2019

प्रतिक्रिया दिनुहोस्