Logo
१६ चैत्र २०८०, शुक्रबार
(September 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

मन्दिर भत्काउने क्रममा नयाँ गजुर भेटिएपछि …

भूकम्पले जीर्ण भएको जयवागेश्वरी मन्दिर पुन: निर्माण गर्न भत्काउने क्रममा छानाभित्र तीनवटा गजुर भेटिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । लिच्छविकालीन प्यागोडाशैलीको तीनतले मन्दिरको दोस्रो छाना भत्काएपछि तीनवटा गजुर भेटिएको कोषका इञ्जिनीयर केदार थपलियाले जानकारी दिए ।

मन्दिरभित्र यस्तो गजुर छ भन्ने कोष, पुरातत्व विभागलगायत सरोकार भएका निकायका अधिकारीलाई यसअघि थाहा थिएन । पहिले एक तले मन्दिर रहेकामा पछि दुई तला थपेर तीनतले प्यागोडाशैलीको मन्दिर निर्माण गरेको प्रारम्भिक अध्ययनपछि थाहा भएको विभागका पुरातत्व अधिकृत अमृता महर्जनले बताए । मन्दिर लिच्छविकालमा बनेको विश्वास गरिए पनि मन्दिर परिसरमा शिलालेख भने फेला परेको छैन ।

नयाँ भेटिएका गजुरका विषयमा विभाग र कोषका उच्च अधिकारीले अध्ययन गर्नुहुने भएको छ । भित्रको गजुर बाहिरको भन्दा पुरानो छ । परेवाले गरेको विष्टाले छोपेको गजुरलाई सफा बनाइएको छ ।

पुनःनिर्माणका लागि मन्दिर भत्काउने क्रममा नयाँ गजुर भेटिएपछि काम बन्द गरेर मन्दिरलाई जस्ताले छोपेर राखिएको छ । कोष र विभागका विज्ञको समूहले नयाँ गजुरका बारेमा अध्ययन गरी निष्कर्ष निकालेपछि मन्दिर भत्काएर पुन: निर्माण गरिने कोषले जनाएको छ ।

प्रकाशित मिति: Sep 9, 2019

प्रतिक्रिया दिनुहोस्