Logo
१३ बैशाख २०८१, बिहीबार
(September 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तान हुँदै आइतबार चिनियाँ विदेशमन्त्री नेपाल आउने

काठमाडौँ : चीनको राज्य परिषद्का सदस्य एवं विदेशमन्त्री वाङ यी आइतबार नेपाल भ्रमणमा आउने भएका छन् । उनी पाकिस्तान हुँदै नेपाल आउन लागेका हुन् ।

दुई साताअघि भारतका विदेश मन्त्री एस जयशंकर दुई दिने नेपाल भ्रमण गरेलगत्तै चिनियाँ विदेशमन्त्री पनि नेपाल आउन लागेका हुन् ।
वाङको औपचारिक भ्रमणले दुई देशबीचको सम्बन्धलाई नयाँ उचाइमा पु¥याउने अपेक्षा गरिएको छ । सँगै समस्यारहित नेपाल-चीन सम्बन्ध नेपालको समृद्धिको यात्राको भरपर्दो साझेदार बन्ने अपेक्षा पनि गरिएको छ ।

उनी नेपाल आउनुअघि पाकिस्तानको भ्रमण समेत सकेर नेपाल आउन लाग्नुलाई अर्थपूर्ण रुपमा हेरिएको छ । चिनियाँ दूतावास स्रोतका अनुसार वाङ आइतबार पाकिस्तान हुँदै नेपाल आउनेछन् । यता, पाकिस्तानका विदेश मन्त्री मखदुम साह महमुद कुरेसीले पनि नेपाल भ्रमणको इच्छा देखाएको भएपनि कुनै प्रगति भएको छैन।

यद्यपि पाकिस्तानी विदेश मन्त्री कुरेसीले नेपाल भ्रमणको ‘ग्रीन सिग्नल’ पाएका छैनन् । उनले कश्मीर मुद्दाका विषयमा कुरा गर्नका लागि नेपाल आउन इच्छा देखाएका हुन् । नेपाल भने उक्त मुद्दामा कुरा गर्न अनिच्छुक देखिएको छ । त्यसैले उनको भ्रमणको बारेमा नेपालले निर्णय नगरेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

यही अवस्थामा पाकिस्तानसँग निकट भनिएको चीनका विदेशमन्त्री सो देशको भ्रमणसँग नेपाल आउनुलाई महत्वका साथ हेरिएको छ । भारतीय विदेश मन्त्री जयशंकरले नेपालमै रहेको बेला पाकिस्तानी विदेश मन्त्री कुरेसीले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई फोन गरेर कश्मीरको मुद्दामा बोल्न आग्रह गरेका थिए ।

एस जयशंकरले नेपाल रहेको बेला प्रधानमन्त्री केपी शर्मा ओलीसँग कश्मीर मुद्दाको बारेमा छलफल गरेका थिए । सो कुराको जानकारी पाकिस्तानले थाहा पाएपछि कुरेशीले पनि तत्कालै फोन गरेका थिए । तर नेपालले भने कश्मीरको विषय भारत र पाकिस्तानको आन्तरिक मामिला भएको बताउँदै आएको छ ।

प्रकाशित मिति: Sep 7, 2019

प्रतिक्रिया दिनुहोस्