Logo
७ बैशाख २०८१, शुक्रबार
(September 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सुनसरीको इनरुवामा उराँवको पहिलो संग्रहालय भवन निर्माण

सांकेतिक तस्बिर

प्रदेश नम्बर १ मा पहिलो पटक यहाँका उराँव(झगड्) समुदायको कला, संस्कृति, संस्कार संरक्षण र जन्मदेखी मृत्युसम्म गरिने कृयाकलापको संग्रह गर्न नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान भवन र संग्राहलय निर्माण सम्पन्न भएको छ ।

सुनसरीको सदरमुकाम इनरुवामा प्रतिष्ठानको भवन तथा संग्राहलय निर्माण सम्पन्न भएको हो । संघिय संसद सिताराम मेहताको संसद विकास कोषको ५० लाख रुपियाँ र प्रतिष्ठानको १२ लाख ५० हजार रुपियाँ सहित ६२ लाख ५० हजार रुपियाँ लाग्तमा नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठानको भवन र संग्राहलय निर्माण सम्पन्न गरेको जनाएको छ ।

देशकै सबै भन्दा बढी उराँव समुदायको बसोबास रहेको सुनसरी सदरमुकाम इनरुवामा ऐतिहासिक रुपमा पहिलो पटक नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान इनरुवाको अगुवाई र पहल प्रयासमा भवन तथा संग्राहलय निर्माण सम्पन्न गरेको प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिए ।

अध्यक्ष उराँवका अनुसार उराँवहरुको महान पर्व करम जात्रादेखी जन्म, विवाह, मृत्युसम्मको संस्कार र पहिरण, पहिचान झल्कने गरगहनाहरु, लुवाईखुवाई समेतका बारेमा सन्देश दिने, उराँव(कुडुख) भाषाको संरक्षण गर्ने र मौलिकता पदर्शन गर्ने उदेश्यका साथ भवन र संग्राहलय निर्माण गरेको हो ।

भवन उराँवहरुको महान पर्व करम पूर्व सन्ध्या सांस्कृतिक कार्यक्रमको दिन भदौ २७ गते विधिवत रुपमा उद्घाटन गरिने प्रतिष्ठानका अध्यक्ष बेचन उराँवले जानकारी दिए।

प्रदेश १ का विभिन्न जिल्लामा बसोबास गर्ने उराँव समुदायहरुले आफ्नो महान पर्व करम पुजाको पूर्व सन्ध्यामा सांस्कृतिक कार्यक्रममा उपहार स्वरुप संग्राहलयको उद्घाटन गर्न पाउने अवसर पाउने नेपाल उराँव आदिवासी जनजाती प्रतिष्ठान इनरुवा सल्लाहकार नुनुलाल उराँवले जानकारी दिए ।

उनीहरुको सांस्कृतिक कार्यक्रममा प्रयोग हुने सामग्रीहरु, नाटक, नृत्य र झाकी पदर्शनमा प्रयोग हुने सामग्री समेत संग्राहलयमा राख्ने भएका छन् । आफ्नो कला कौशल , गीत, नृत्य , पहिरण, बाजागाजा, मौलिक हातहतियार, कृषि औजार, जिविकोपार्जन गर्ने सामग्री सहितको प्रदर्शनी तथा संग्राहलयमा राख्ने तयारी गरिएको नेपाल उराँव आदिवासी जनजाति प्रतिष्ठानका सहसचिव संजिव उराँवले जानकारी दिए ।

उता भदौ २७ गतेको उद्घाटन तथा कमर पूर्व सन्ध्या कार्यक्रमको तयारीमा समेत उराँवहरु लागेको इनरुवा नगरपालिका ४ का वडा सदस्य विष्णु उराँवले जानकारी दिए ।

कार्यक्रम सुरु हुनु अगाडी हजारौंको संख्यामा उराँवहरुले आफ्नो पहिरण सहित इनरुवामा वृहत पहरिण प्रदर्शन गर्ने र कार्यक्रममा सुनसरी र मोरगं सहितका उराँवहरुले पुरुषहरु धोती, पगरी र आफ्नै पहिरणमा र महिलाहरु रातो र सेतो सारीमा सजिएर सहभागि हुने तयारीमा जुटेका छन् ।

करम पुजाको विधिवत सुरु गरेको र त्यसको झल्को दिनका लागि उराँव कलाकार, साहित्यकार, कलाकर्मी, शिक्षक, वुद्धिजिवि र अगुवाहरुको उपस्थितीमा करम पूर्व सन्ध्या कार्यक्रम गर्ने भएको उराँवले बताए।

विभिन्न धार्मिक तथा सांस्कृति कार्यक्रमका मनाइने करम पुजाले उराँवहरुलाई जोडने भएकाले पूर्व सन्ध्या कार्यक्रम गर्ने तयारी गरेको प्रतिष्ठानका सल्लाहकार नुनुलाल उराँवले बताए ।

प्रकाशित मिति: Sep 6, 2019

प्रतिक्रिया दिनुहोस्