Logo
१३ बैशाख २०८१, बिहीबार
(September 5, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दक्षिण कोरिया भ्रमणमा रहेका अध्यक्ष तिमिल्सिना र कोरियन समकक्षीबीच भेटवार्ता

दक्षिण कोरियाको औपचारिक भ्रमणमा रहेका राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र कोरियाका राष्ट्रिय सभा अध्यक्ष मुन हि-साङ (Moon Hee-Sang) बीच भेटवार्ता भएको छ ।

कोरियाका राष्ट्रिय सभा अध्यक्षको कार्यालयमा बुधबार भएको भेटवार्तामा अध्यक्ष तिमिल्सिनाले दुई देशको सम्बन्ध मित्रता, समझदारी र दुईपक्षीय सहयोगको आधारमा अगाडी बढिरहेको बताए । दुई देशको सम्बन्ध सरकार र जनस्तरमा सुमधुर रहेको बताउँदै उनले कोरियाले नेपाललाई गरिरहेको सहयोगको प्रशंसा गरे ।

भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले हजारौं नेपाली रोजगारीको सिलसिलामा कोरियामा रहेको र उनीहरुले आम्दानीसँगै प्रविधि सिकेर नेपालमा प्रयोग गर्ने अपेक्षा गरे । उनले नेपाल र कोरियाको संसदबीचको अभ्यास र अनुभव आदनप्रदानका लागि समय समयमा संसदीय भ्रमण आवश्यक रहेको बताए ।

त्यसैगरी कोरियाका राष्ट्रियसभा अध्यक्ष मुनले नेपाल उर्जावान देश भएको बताए । कोरियाका राष्ट्रपति मुन जायी इन (Moon Jae-In)  ले सन् २०१५ को भूकम्प पश्चात गरी तीन पटक नेपाल भ्रमण गरेको स्मरण गर्दै उनले नेपाल धेरै मन पराउने जानकारी गराए ।

उनले कोरियाले लोकतन्त्र स्थापनको छोटो समयमा विकास र प्रविधिमा अगाडि बढेको बताउँदै भने, विकासप्रति प्रतिबद्ध भइयो भने अगाडि बढ्न सकिन्छ । कोरियाको प्रविधि र नेपालका मिहिनेति जनताबाट समृद्धी तथा प्रगति हुन सक्छ ।

अध्यक्ष मुनले कोरियामा नेपाली कामदार धेरै भएकाले कोरिया नेपालीको दोस्रो घर भएको बताउँदै नेपाललाई सहयोग गर्न कोरिया तत्पर रहेको धारणा राखे ।

तिमिल्सिना र उपविदेशमन्त्री बीच भेट
यसैबीच बुधबार नै अध्यक्ष तिमिल्सिना र कोरियाका उपविदेशमन्त्री हि साङ Hee-Sang बीच भेटघाट भएको छ । भेटका क्रममा अध्यक्ष तिमिल्सिनाले नेपालको आर्थिक विकासमा कोरियाको निरन्तर सहयोगका लागि आभार प्रकट गरे ।

उनले ईपीएस प्रणालीमार्फत कोरियामा रोजगारीका लागि आएको र त्यसबाट दुई देशको अर्थव्यवस्थामा सकारात्मक भूमिका खेलेको बताए । सो क्रममा उपविदेशमन्त्री साङले कोरियाको पहिलो प्रथामिकतामा नेपाली कामदारलाई राखेको जानकारी दिँदै दुई देशको सरकारी र जनस्तरको सम्बन्ध सुमधुर रहेको धारणा राखे।

उनले नेपालको विकासमा कोरियाको संधै सकारात्मक सहयोग रहने प्रतिबद्धता व्यक्त गरे । नेपालले सन् २०२० लाई भ्रमण वर्ष घोषणा गरेको छ, उनले भने, यो अभियानमा कोरियाको सहभागिता र सकारात्मक सहयोग रहन्छ ।

उनले नेपालमा भूकम्पपछिको पुनर्निर्माणमा कोरियाको सहयोग रहेको बताउँदै बाँकी काम छिटो सक्न अध्यक्ष तिमिल्सिनामार्फत नेपाल सरकारलाई आग्रह गरे।

प्रकाशित मिति: Sep 5, 2019

प्रतिक्रिया दिनुहोस्