Logo
१३ बैशाख २०८१, बिहीबार
(September 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ को ‘बेटी बचाउ, बेटी पढाउ’ अभियान असफल : २१ करोडको यकिन तथ्याङ्क सरकारसँग छैन

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले होचुवातालमा प्रदेशमा घोषणा थर्नुभएको ‘बेटी बचाउ,बेटी पढाउ’ अभियान कार्यक्रम असफल भएको छ ।

अभियान अन्र्तगत अहिलेसम्म प्रदेश २ का झन्डै २० भन्दा बढी विद्यालयका १४ हजार छात्राहरुलाई साइकल वितरण गरियो भने एक सय छात्रामैत्री शौचालय निर्माण भइरहेको छ ।

कार्यक्रमका लागि प्रदेश सरकारले गत आर्थिक वर्षमा झन्डै २१ करोड रकम छुट्याएको थियो । छुट्याएको कुल बजेटमध्ये कति रकम खर्च भयो भन्ने यकिन तथ्याङ्क सरकारसँग छैन ।

गत वर्ष भदौ १५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको औपचारिक रुपमा सुरु गर्नुभएको थियो ।

प्रदेश सरकार गठन भएको समयदेखि नै प्रदेश सरकारको महत्वाकांक्षी योजनाको रुपमा रहेको यो कार्यक्रमले प्रसंशाका साथै चर्चामा पनि थियो ।

बिना योजना र ठोष लक्ष्य बिना मात्र शिर्षक केन्द्रित यो कार्यक्रमको दिगो परिणाम भने देखिएन । रौतहटका शिवलाल महतोका नातिनी ५ वर्ष पुगिन् । शिबलालले अब उनको पठनपाठनको बारेमा सोच्न थाल्नुभएको छ ।

उहाँले मुख्यमन्त्री ‘बेटी पढाउ, बेटी बचाउ’ को बारेमा सुनेको भए पनि आजसम्म पनि त्यसमा सहभागी हुन पाउनुभएन ।

महतो भन्नुहुन्छ, ‘रौतहटबाट जनकपुर गएर बसेर काम गराउन खर्च धेरै लाग्छ । खेती किसानी गर्नेलाई गाह्रो छ । त्यहि भएर गइन ।’ महतोका अनुसार नातिनीको बीमाका लागि वडाबाट सिफारिस लिएर गाउँपालिकामा जाँदा यसको लागि जनकपुर प्रदेश कार्यालय नै जानुपर्ने भन्दै फर्काइयो ।

सिरहाका धनिक सदाको छोरी जन्मिदा ‘बेटी बचाउ,बेटी पढाउ’ अभियान सुरु भइसकेको थियो । तर अभियानको बारेमा जानकारी नभएका कारण उहाँले छोरीको नाम यो दर्ता गराउनु पाउनुभएन । उहाँ भन्नुहुन्छ, ‘हामी जस्ता गरिबलाई कसले भन्छ र थाहा पाउनु । कोही आउँदैन न कसैले केही भन्छ ।’

शिवलाल र धनिक जस्ता यो अभियानले नछोएका अभिभावक मात्र होइन, स्थानीय तह पनि छन् । नागरिकको हक अधिकारलाई सहज रुपमा गठन गरिएका स्थानीय सरकारका जनप्रतिनिधि नै यो अभियानबारे अनभिज्ञ छन् ।

महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश अधिकारीलाई भने यो अभियानको बारेमा कुनै जानकारी नै छैन । उहाँले आफू अधिकृतमा आएको ३र४ महिना मात्रै भएकाले यो अभियान के हो कसको हो केही थाहा नभएको बताउनुभयो ।

तर, मुख्यमन्त्री राउत भने कार्यक्रम प्रभावकारी भएको दावी गर्नुहुन्छ । उहाँका अनुसार ८ जिल्लाका विभिन्न विद्यालयहरुमा एक सय शौचालय निर्माणको काम भइरहेको छ । ५ हजार भन्दा बढी छोरीहरुको शिक्षा बीमा गरिएको छ ।

प्रकाशित मिति: Sep 4, 2019

प्रतिक्रिया दिनुहोस्