Logo
१३ बैशाख २०८१, बिहीबार
(August 22, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आर्थिक मन्दीको चपेटामा ‘पार्ले’ : एकैपटक १० हजार कामदारलाई निकाल्ने

भारतको लोकप्रिय एवम् सबैभन्दा ठूलो बिस्कुट निर्माता कम्पनी पार्लेलाई आर्थिक मन्दीले छोपेको छ । आर्थिक मन्दीका कारण सो कम्पनीले १० हजार कर्मचारीलाई निकाल्ने तयारी गर्दैछ ।

कम्पनीका एकजना अधिकारी मयंक शाहले बुधबार अन्तराष्ट्रिय न्यूज एजेन्सी रोयटर्ससँगको कुराकानीमा ग्रामिण क्षेत्रमा बिस्कुटको बिक्री घटेको र त्यसकारण कम्पनीले उत्पादनमा कटौती गर्न लागेको जानकारी दिए । शाहले सन् २०१७ मा जीएसटी लागू भएदेखि पार्ले-जीजस्तो चर्चित बिस्कुटको बिक्रीमा ८ प्रतिशतले ह्रास आएको बताए ।

भारु ५ पर्ने बिस्कुटमा अझै उल्लेख्य मात्राको जीएसटी लाग्छ । मूल्य बढाउन विक्री घट्ने डरले कम्पनीको सबै प्याकमा बिस्कुटको संख्या घटाएको छ । तर पनि ग्रामिण क्षेत्रमा मागमा ह्रास आएको छ ।

पार्लेको आधाभन्दा बढी आय विस्कुट उत्पादनबाट गर्छ । कम्पनीले चर्को जीएसटीबारे अघिल्लो वर्ष मोदी सरकारसँग कुरा पनि गरेको थियो । बिस्कुटमा १८ प्रतिशत जीएसटी लागिरहेको छ । शाहले मूल्यलाई लिएर ग्राहक निकै धेरै संवेदनशील रहेको बताए । साथै प्रयोगकर्ताले आफूलाई प्राप्त भइरहेको बिस्कुटको संख्या पनि ख्याल गरिरहेकाले व्यापारमा असर गरेको शाहले जानकारी दिए ।

‘सरकारले छिट्टै केही गरेन भने हामीले तत्काल बाध्य भएर कर्मचारीको संख्या घटाउनुपर्छ ,’ शाहले बने । ९० वर्ष पुरानो पार्ले कम्पनीको आफ्नै १० वटा कम्पनी र १२५ वटा कन्ट्रयाक्ट कम्पनी छन् ।

भारतमा छाएको आर्थिक मन्दीको कारण अप्ठ्यारोमा परेको पार्ले एउटा मात्र कम्पनी भने होइन । बजार अनुसन्धान गर्ने संस्था निल्सनले भारतमा पछिल्लो महिना आर्थिक मन्दी आएपछि उपभोग्य वस्तु निर्माण क्षेत्रमा सुस्तता छाएको जानकारी दिएको छ ।

पछिल्लो समय आर्थिक मन्दीले गाडी निर्माण क्षेत्रमा पनि ठूलो असर पारेको छ जसबाट हजारौं मानिसले रोजगारी गुमाएका छन् । यसले लाखौंको रोजगारीमाथि खतरा बनेको छ । गाडीको बिक्री जुलाईमा ३१ प्रतिशत घटेको थियो जुन १९ वर्षयताको सबैभन्दा बढी हो ।

प्रकाशित मिति: Aug 22, 2019

प्रतिक्रिया दिनुहोस्