Logo
११ बैशाख २०८१, मंगलबार
(August 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कश्मीर मुद्दा भारतको आन्तरिक मामिला, प्रदीप गिरीको टिप्पणी आपत्तिनक : नेपाल सरकार

जम्मु-कश्मीर मुद्दा भारतको आन्तरिक मामिला भएको भन्दै नेपाली कांग्रेसका सांसद प्रदीप गिरीले गरेको टिप्पणीप्रति आपत्तिनक रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले बताएका छन् ।

उनले जम्मू कश्मीर मामिलालाई नजिकबाट नियालिरहेको बताउँदै यसबारे नेपालले तत्कालै केहि बोलिहाल्ने कुनै कारण नरहेको बताए । भारतले अनुच्छेद ३७० लाई निष्प्रभावी बनाएर जम्मू कश्मीरको विशेष राज्यको दर्ता खोसेको छ भने लद्दाखलाई अलग राज्य बनाएको छ ।

यसलाई लिएर जम्मू कश्मीरको केहि स्थानमा तनाव जारी छ भने पाकिस्तान भारत सरकारको उक्त निर्णयलाई विरोध गर्दै आएको छ । यद्यपी, नेपालले यसबारे भने कुनै प्रतिक्रिया दिएको थिएन ।

सोमबार आयोजित पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले कुनै हिंसा नभई संवादको माध्यमबाट उक्त समस्या समाधान होस् भन्ने नेपालको चाहना रहेको भन्दै जम्मू कश्मीर मामिलालाई नेपालले नजिकबाट नियालिरहेको बताए ।

जम्मू कश्मीर क्षेत्रमा रहेका नेपालीको सुरक्षाबारे दिल्लीस्थित नेपाली दूताबासले काम गरिरहेको उनले जानकारी दिए । उनीहरु सुरक्षित नै भएको उनले बताए ।

नेपाल सार्कको अध्यक्षसमेत रहेको भन्दै मन्त्री ज्ञवालीले नेपाल क्षेत्रीय शान्ति र स्थिरताको पक्षमा रहेको बताए । क्षेत्रीय शान्ति खलबलिन नदिन आग्रह गर्दै उनले भने, ‘भारतले पनि यसलाई गम्भीरतापूवर्क लिन्छ भन्ने विश्वास छ ।’

प्रदीप गिरीको टिप्पणी प्रति आपत्ति
यसैबीच, मन्त्री ज्ञवालीले ‘भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ’ भन्ने नेपाली कांग्रेस सांसद प्रदीप गिरीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

गिरीको अभिव्यक्ति सरकारलाई स्वीकार्य नहुने उनले बताए । पत्रकार सम्मेलनमा परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘उहाँले यस्तो बोल्नुभयो होला भनेर पत्याउन सकिन्न । भन्नुभएको भए हामीलाई अस्वीकार्य हुन्छ ।’

नेपाल सधैं अविभाज्य र स्वतन्त्र मुलुक भएको भन्दै उनले हल्ला टिप्पणी नगर्न नेताहरुलाई आग्रह गरेका छन् । नेपाल भारत सम्बन्ध सुमधुर भएको र दुई देशबीच उच्च स्तरमा समझदारी बनेको भन्दै मन्त्री ज्ञवालीले यस्ता टिप्पणी गर्दा सम्बन्धमा असर पर्छ भन्ने ख्याल गर्न नेताहरुलाई आग्रह गरेका छन् ।

संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिमा कांग्रेस सांसद गिरीले नेताहरुमा कुटनीतिक ज्ञान कम भएको भन्दै ‘भारतले सकेको दिन नेपाललाई सिक्किम बनाउँछ, यो तथ्य हो । त्यस्तो बेला तपाई चाहिँ के गर्नुहुन्छ ?’ भन्ने प्रश्न गरेका थिए ।

प्रकाशित मिति: Aug 19, 2019

प्रतिक्रिया दिनुहोस्