Logo
१६ चैत्र २०८०, शुक्रबार
(August 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

प्रदेश २ मा मेयर र उपमेयरबीच कार्यालय विवाद, प्रहरीको लाठी चार्ज

प्रदेश २ स्थित धनुषा जिल्लाको हंसपुर नगरपालिकामा मेयर र उपमेयर पक्षबीच कार्यालय सम्बन्धी भएको विवादमा प्रहरीको लाठी चार्जबाट आधा दर्जनभन्दा बढी स्थानीय घाइते भएका छन् ।

मंगलबार दिउँसो प्रहरीको सहयोगमा मेयर रामज्ञान मण्डल पक्षका व्यक्तिहरुले उपमेयर रेणु झाले सञ्चालन गर्दै आएको कार्यालयबाट बलजफ्ती सामग्री लिन खोज्दा दुवै पक्षबीच झडप भएको हो ।

स्थानीयका अनुसार उपमेयरको कार्यालयबाट सामग्री लग्न प्रहरीसँगै मेयर मण्डल पक्षधरका घरेलु हातहतियारसहित दुई ट्याक्टर ५०/६० जनाको समूह आएको थियो । तर, उपमेयर पक्षधरबाट स्थानीय प्रतिकार गर्न खोज्दा दुवै पक्षबीच झडप भएको थियो ।

झडपको क्रममा मेयर पक्षधरसँगै आएका प्रहरी टोलीले गरेको लाठी चार्जबाट हंसपुर नगरपालिकाका उपमेयर झासहित वडा नं. २ बघचौडाका अध्यक्ष उदय साह, तपेश्वर मण्डल, फेकन कापर पुण्य खत्रीलगायत आधा दर्जनभन्दा बढी घाइते भएका छन् ।

घाइतेमध्ये तपेश्वर मण्डलको अवस्था नाजुक रहेको छ । उनको स्थानीय स्थरमा उपचार भई थप उपचारका लागि जनकपुर अञचल अस्पतालमा पठाइएको जनाइएको छ ।

झडप उग्ररुप लिएपछि प्रहरीले लाठी चार्ज गर्न थालेपछि मेयर पक्षधरका स्थानीय ज्यान जोगाएर भागे पनि उपमेयर पक्षधरले उनको दुवै ट्याक्टर नियन्त्रणमा लिएका छन् । उता प्रहरी दुईजना स्थानीयलाई नियन्त्रणमा लिएका थिए ।

प्रहरीले नियन्त्रणमा लिएका स्थानीयलाई छोडाउन यो समाचार लेख्दासम्म दुईतर्फी झडप जारी रहेको थियो । झपड बढदै गएपछि तारापट्टी, बेलही, धनुषाधाम लगायतका प्रहरी चौकीबाट दर्जनौको संख्यामा नेपाल र शसस्त्र प्रहरी परिचालन गरिएको छ ।

सञ्चारकर्मीसँग कुरा गर्दै उपमेयर झाले भनिन्, ‘मेयर मण्डललाई कार्यालयसम्बन्धी विवादका लागि वार्ताबाट समाधान खोज्न पटकपटक आग्रह गर्दै आएका छौ । तर, उनले मानेन, आज आएर उनले बेलही प्रहरी चौकीका इन्चार्ज रामकुमार साहको सहयोगमा दर्जनौ प्रहरी र लठैत लगाएर आफ्नो कार्यालय लुटन आएको थियो । सोही क्रममा स्थानीयले अवरोध गर्न खोज्दा मेयर मण्डलका लठैत सहित प्रहरीले आधा दर्जनभन्दा बढीलाई कुटपिट गरी घाइते बनाएका छन् ।’

प्रहरीसँग सम्पर्क गर्दा आफूहरुले कसैलाई नियन्त्रणमा लिएका छैनौ, आफूहरु सुरक्षाका लागि आएको तर स्थानीयले उल्टै आफूहरुमाथि लागेपछि अवस्था सामान्य बनाउन लाठी चार्ज गर्नु परेको थियो ।

दिउँसो १२ बजेदेखि अहिलेसम्म घटना स्थलमा प्रहरी र बघचौडाका स्थानीयबीच झडप जारी नै छ । तर, सम्बन्धित निकायले समस्या समाधान गर्न तर्फ कुनै चासो देखाएको छैन ।

प्रकाशित मिति: Aug 6, 2019

प्रतिक्रिया दिनुहोस्