Logo
४ बैशाख २०८१, मंगलबार
(August 6, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काठमाडौँपछि प्रदेश १ मा पनि विद्युतीय बस सञ्चालनमा ल्याउने

विराटनगर :   प्रदेश १ सरकारको समन्वयमा निजी क्षेत्रले विद्युतीय बस सञ्चालनमा ल्याउने तयारी गरेको छ । बस सञ्चालनका लागि निजी क्षेत्रले मुख्यमन्त्री शेरधन राईसँग छलफल गरी आवश्यक सहयोगको आग्रहसमेत गरेको छ ।

प्रदेश सरकारको समन्वयमा झापा, मोरङ र सुनसरीभित्र ६ वटा चार्जिङ सेन्टरको लागि जग्गा उपलब्ध गराएमा ५ महिनाभित्रमा विद्युतीय बस सञ्चालन गर्न सकिने बताइएको छ । विराटनगर, काँकडभिट्टा, इटहरी, धरान, दमकलगायत क्षेत्रमा यातायात सञ्चालन गर्न सकिने सुन्दर यातायात प्रालि विद्युतीय सवारी साधनका अध्यक्ष भेषबहादुर थापाले जानकारी दिएका छन् ।

नेपालमै पहिलो पटक काठमाडौमा विद्युतीय बस सञ्चालन गर्ने अन्तिम तयारीमा रहेको सुन्दर यातायात प्रालिले प्रदेश १ मा पनि बस सञ्चालन गर्ने प्रस्ताव गरेको हो । उनले भने, ‘‘पहिलो चरणमा विराटनगर-काँकडभिट्टा र विराटनगर–धरान बस सञ्चालन गर्ने सोच हामीले बनाएका छौं ।’’

एउटा चार्जिङ स्टेशन निर्माण गर्न ७० लाखसम्म खर्च हुने थापाले बताएका छन् । सञ्चालन हुने बसको मूल्य १ करोड ६२ लाख पर्छ । ४० सिट क्षमता भएको बसमा उभिएरसमेत गरी ७० जनासम्म यात्रुले यात्रा गर्न सक्ने बताइएको छ । अपांगमैत्रीसमेत हुने बसमा एसीको सुविधा हुन्छ ।

बस सञ्चालन भए सरकारले तोकेको भन्दा ३० प्रतिशत भाडा घट्ने थापाले दाबी गरे । एकपटक चार्ज गरेपछि बस २६८ किलोमिटर दौडन सक्छ । प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यो प्रक्रियाको लागि सरकारले सहजीकरण गर्ने र चाँडै नै विद्युतीय बस सञ्चालनको लागि आवश्यक प्रक्रिया अघि बढाइने प्रतिबद्धता व्यक्त गरे ।

प्रकाशित मिति: Aug 6, 2019

प्रतिक्रिया दिनुहोस्