Logo
August 4, 2019

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विश्वमै सबैभन्दा नजिकबाट डल्फिन अवलोकन गर्न सकिने नदी नेपालमै

कैलालीको डल्फिन चरन क्षेत्रमा डुङ्गामा बोटिङ (जलयात्रा) सहित डल्फिनले गर्ने गतिविधिको दृश्यावलोकन गरेर पर्यटक रमाउन थालेका छन् ।

जिल्लाको दक्षिणपूर्वी क्षेत्रका काँडा, कन्द्रा, पथरैया र मोहना नदीको दोभान क्षेत्रमा यति बेला सहजरुपमा डल्फिन उफ्रिएको दृश्य त्यहाँ पुग्ने जो कोहीले सजिलै देख्न सकिन्छ ।

दोभान नजिक रहेको ढुङ्गाना गाउँका केही युवा विद्यालयको वर्षे बिदाको मौकामा डल्फिन अवलोकन गर्न आउने पर्यटकलाई ‘गाइड’ गर्न स्थानीय प्रकाश ढुङ्गाना र गोकुल भण्डारीलगायतका युवा सक्रिय हुँदै आएका छन् ।

“डल्फिन हेर्न आउनेलाई घुमाउँछौँ”, युवा गोकुल भण्डारीले भन्नुभयो, “घुमाइदिएबापत कतिपय पर्यटकले सक्दो नगद दिएर जान्छन् ।” डल्फिनले नदीमा गर्ने गतिविधिका बारेमा यी युवा जानकार छन् ।

मानिसपछिको दोस्रो बुद्धिमान र स्तनधारी प्राणी डल्फिन हो र यसको संरक्षण गर्नुपर्छ भन्ने चेतना यी युवामा देखिन्छ । पर्यटकलाई यी युवाले डल्फिन संरक्षणका लागि भइरहेका गतिविधिबारेमा जानकारीसमेत दिने गर्दछन् ।

डल्फिन हेर्न आउने पर्यटकको चहलपहल बढेसँगै राष्ट्रिय र अन्तर्रा्ष्ट्रियरुपमा कैलाली जिल्लाले डल्फिन चरन क्षेत्रका रुपमा पहिचान बनाउन सफल भएको संरक्षणकर्मीको भनाइ छ । वर्षायाममा नदीमा पानीको सतह बढेसँगै भारतको घाँघरा नदीबाट डल्फिन बच्चा जन्माउन कैलालीका नदीमा आउने र पानीको सतह घटेपछि पुनःघाँघरा नदीमै फर्किने गरेको बताइएको छ ।

यहाँका नदीमा जन्मिएका बच्चा फर्किदा बयस्क भएर जाने गरेको संरक्षण केन्द्रका उपाध्यक्ष भोजराज ढुङ्गानाले बताए । “यस वर्ष नदीका फरकफरक ठाउँमा एउटै समयमा १३ बच्चा आमासँग खेलिरहेको देख्न सकिन्छ”, उनले भने ।

हालै इटाली, बेलायत र भारतका पर्यटक डल्फिन अवलोकन गरी फर्किएका छन् । हाल दैनिक बढीमा १५ पर्यटक डल्फिनको गतिविधि हेरेर फर्किने गरेका छन् ।

अवलोकनका लागि डल्फिन संरक्षण केन्द्रले नदीको दोभान रहेको ठाउँ ढुङ्गाना टोलमा केही वर्षअघि नै टावर निर्माण गरेको थियोे । प्रदेशसभा सदस्य डा.रणबहादुर रावल र वीरमान चौधरीको पहलमा हालै मोहना र पथरैया नदीको दोभानमा एउटा तथा मोहना र राप्ती खोलाको दोभानमा अर्को टावरसमेत निर्माण गरिएको छ ।

विश्वमै सबैभन्दा नजिकबाट सहजरुपले डल्फिन अवलोकन गर्न सकिने ठाउँ कैलालीका नदी रहेको डल्फिन संरक्षण केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठको भनाइ छ । कैलालीको पूर्व क्षेत्रको टीकापुर बजार र पश्चिमतर्फको भजनी हुँदै डल्फिन चरन क्षेत्रमा पुग्न सकिए पनि त्यहाँ सडकलगायतका पूर्वाधारको भने अभाव रहेको छ ।

गाउँमा ‘गुलेली बाजे’का नामले चिनिनुहुने भोजराज श्रेष्ठले नै सर्वप्रथम कैलालीको मोहना, कान्द्रा, काँडा र पथरैया नदीको दोभानमा दुर्लभ जलचर डल्फिन वर्षायाममा देखिने गरेको सार्वजनिक गरे । सो कुरा सार्वजनिक भएसँगै डल्फिनको संरक्षण प्रवद्र्धन एवं प्रचारप्रसार को काम शुरु गरिएको हो ।

डल्फिन संरक्षण केन्द्रका अध्यक्षसमेत रहनुभएका ८५ वर्षीय श्रेष्ठ अहिले पनि तन्नेरीले झँै संरक्षण अभियानमा लागिरहेका छन् ।

प्रकाशित मिति: १९ श्रावण २०७६, आईतवार १३:५०

प्रतिक्रिया दिनुहोस्