Logo
१३ बैशाख २०८१, बिहीबार
(July 29, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गण्डकी प्रदेशमा भित्रिए ३ लाख पर्यटक, भारतबाट आउनेको संख्या उच्च

कास्की : गण्डकी प्रदेशमा एक वर्षमा २ लाख ९८ हजार ९७५ विदेशी पर्यटक प्रवेश गरेको तथ्याङ्क सङ्कलन भएको छ ।

प्रदेशको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्रालयले आर्थिक वर्ष २०७५/७६ मा पोखरा र आसपासका जिल्लामा प्रवेश गरेका पर्यटकको विवरण सङ्कलनबाट सो तथ्याङ्क प्राप्त भएको जनाएको छ ।

यसअघि पोखरामा कति पर्यटक आउँछन् भन्ने आधिकारिक तथ्याङ्क कहीँ कतै थिएन। नेपाल आएका करिब ४० प्रतिशत पर्यटक पोखरा आउँछन् भन्ने पर्यटनसंवद्ध व्यक्ति एवं संस्थाहरुले अनुमान लगाउँदै आएका थिए ।

प्रदेश सरकार गठनसँगै अघिल्लो आर्थिक वर्ष २०७४/७५ बाट तथ्याङ्क सङ्कलनको प्रक्रिया थालिएको प्रदेशका उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयका सूचना अधिकृत शिव परियारले जानकारी दिए।

तथ्याङ्कअनुसार पोखरामा सबैभन्दा धेरै कात्तिक महिनामा ३८ हजार ५७५ पर्यटक आएका छन्। सबैभन्दा कम असार महिनामा १२ हजार ६०२ पर्यटक आएको प्रदेश सरकारको तथ्याङ्कमा उल्लेख छ ।

गण्डकी प्रदेशमा आउने पर्यटकमध्ये सबैभन्दा धेरै छिमेकी राष्ट्र भारतबाट आएका छन्। गत साउनदेखि असारसम्मको तथ्याङकअनुसार हवाईमार्ग र स्थलमार्ग हुँदै आउने भारतीय पर्यटकको सङ्ख्या एक लाख २० हजार ९३८ रहेको सूचना अधिकृत परियारले जानकारी दिए। त्यसैगरी एक लाख ७८ हजार ३७ पर्यटक अन्य मुलुकबाट आएको तथ्याङ्क रहेको छ ।

स्थलमार्गबाट आउने पर्यटकको तथ्याङ्क तनहुँको आँबुखैरेनीस्थित पृथ्वी राजमार्गको आँबुखैरेनी प्रहरी चेक पोस्ट र स्याङ्जाको गल्याङस्थित सिद्धार्थ राजमार्गको गल्याङ प्रहरी चेक पोस्टमा रहेका प्रहरीले राख्दै आएका छन् ।

हवाईमार्गबाट आउने पर्यटकको पोखरा विमानस्थलबाट तथ्याङ्क संकलन गरिएको हो । गण्डकी प्रदेशको नवलपुरमा आउने पर्यटकको तथ्याङ्क भने यस तथ्याङ्कमा समेटिएको छैन ।

प्रकाशित मिति: Jul 29, 2019

प्रतिक्रिया दिनुहोस्