Logo
१५ चैत्र २०८०, बिहीबार
(July 26, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विमानस्थल स्थापना भएको ५३ वर्षपछि जनकपुरमा रिफ्यूलिंग स्टेशनको शुभारम्भ

जनकपुरधाम : स्थापनाको करिब ५३ वर्षपछि जनकपुर विमानस्थलमा हवाई इन्धन रिफ्यूलिंग स्टेशनको शुभारम्भ भएको छ। शुक्रबार जनकपुरधाम विमानस्थलमा एक समारोहकाबीच उद्योग वाणिज्य तथा आपूर्तीमन्त्री मातृकाप्रसाद यादवले रिफ्यूलिंग स्टेशनको शुभारम्भ गरेका छन्।

मन्त्री यादवले बुद्ध एयरको विमानमा हवाई इन्धन राखेर रिफ्यूलिंग स्टेशनको उद्घाटन गरेका हुन । रिफ्युलिंग स्टेशनको उद्घाटन गर्दै मन्त्री यादवले जनकपुरधाम विकासका लागि आवश्यक पूर्वाधारहरूमध्ये यो रिफ्यूलिंग स्टेशन पनि एक पूर्वाधार रहेको बताए।

मन्त्री यादवले यो रिफ्युलिंग स्टेशनको स्थापनामा एक व्यक्तिको मात्र नभई नेपालका सम्पूर्ण पक्षका साथै भारत सरकारको समेत सहयोग रहेको जानकारी दिए।

सो स्टेशनमा तत्कालका लागि अस्थायी टयांकरमै इन्धन स्टक राखिने छ। विस्तारै आवश्वयक पुर्वाधार सहितको स्टोर ट्यांक स्थापना गरिने छ। सो स्टोरेज ट्यांक निर्माण हुन कम्तिमा दुई वर्ष लाग्नेछ।

रिफ्यूलिंग स्टेशन स्थापना हवाई इन्धन जनकपुरधाम विमानस्थलमै भर्ने व्यवस्था नभएका कारण यात्रुका साथै विमान कम्पनीलाई समेत समस्या हुँदै आइरहेको थियो। यसअघि काठमाडौ, विराटनगर र भैरहवाबाट जनकपुरधामबाट उडान हुने विमानहरुले इन्धन ल्याउने गरेको थियो।

हाल सो रिफ्यूलिंगमा स्टक गर्ने व्यवस्था नरहेका कारण विराटनगर विमानस्थलबाट डिस्पेन्सरमा हवाइ इन्धन ल्याएर दुई बाउजर स्टक गर्ने व्यवस्था गरिएको जनकपुरधाम विमानस्थलका स्टेशन इन्चार्ज सरोज कुमार यादवले जानकारी दिए।

उनले तत्काल ४१ केएल दैनिक हवाई इन्धन अस्थायी रुपमा टयांकरमै स्टक राखिने उनले बताए। स्थायी स्टोर स्थापनाका लागि नागरिक उड्डयन प्राधिकरणले डिपो स्थापनाका लागि नेपाल आयल निगमलाई ५ कठा जग्गा समेत उपलब्ध गराएको छ।

१ सय ४० केएल क्षमताको डिपो दुई वर्ष भित्रै स्थापना गर्ने लक्ष्यका साथ काम अगाडी बढाइएको स्टेशन ईन्चार्ज यादवले बताए। रिफ्यूलिंग स्टेशन जनकपुरधाम विमानस्थलमै स्थापना भएपछि विमान कम्पनीका साथै यात्रुहरुलाई समेत विभिन्न दृष्टिकोणले फाइदा हुनेछ।

यसले विमानहरुले कमै इन्धनका साथ जनकपुरधाम विमानस्थलमा आए बढीभन्दा बढी यात्रुका साथै बढी लगेज समेत उठाएर लग्न सक्ने नागरिक उडड्यन प्राधिकरणका प्रमुख मोहन ठाकुरले बताए।

रिफ्यूलिंग स्टेशनका कारण अल्टरनेटिभ लेन्डिङका लागि काठमाडौँपछि जनकपुरधाम विमानस्थल प्राथमिकतामा पर्ने उनको भनाई छ। काठमाडौँबाट सबैभन्दा सहज रुट जनकपुरधाम विमानस्थलकै रहेकाले लेन्डिग तथा टेक अफ चार्ज सहितका आम्दानी हुने समेत उनले बताए।

यस्तै रात्रिकालिन लेन्डिग गर्नुपर्ने अवस्थामा समेत जनकपुरधाम विमानस्थलनै प्राथमिकतामा पर्ने ठाकुरले बताए। उनले यहाँ विमानहरु रात्रिकालिन पार्क गर्दा यहाँका होटेल व्यवसायहरुले समेत फाइदा उठाउन सक्नेछ।

प्रकाशित मिति: Jul 26, 2019

प्रतिक्रिया दिनुहोस्