Logo
८ बैशाख २०८१, शनिबार
(July 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

विद्यालयमै प्याडको व्यवस्था, छात्राको नतिजामा सुधार

कैलाली :  नेपालका अधिकांश विकट ठाउँमा महिनावारीमा आवश्यक प्याडका कारण छात्राहरु विद्यालय जानबाट वञ्चित रहेका छन् । उनीहरु ठ्याम्मै ४/ ५ दिन विद्यालग आउने गरेका छैनन् ।

तर कैलालीका एक सामुदायिक विद्यालयले छात्राका यस जटिल समस्यालाई समाधान गरेको छ । उनीहरुले महीनावारी भएका बेला आवश्यक पर्ने प्याडको विद्यालयमै व्यवस्था गरेका छन् । जसका कारण छात्राको नतिजामा सुधार आएको छ ।

महीनावारीका बेला आवश्यक प्याडको अभावमा धेरै छात्राले कक्षा छाडेर घर जाँदा उनीहरुको नतीजा नराम्रो देखिएको थियो । तर अब विद्यालगमै प्याडको व्यवस्था भएपछि कक्षा छाड्ने दर घटेको छ जसले छात्राको नतिजामा सुधार आएको विद्यालय प्रशासकको भनाइ रहेको छ ।

“महीनावारीको समयमा दैनिक ५ जनासम्म छात्राले कक्षा छाड्थे । हाल बिदा मागेर घर जाने छात्रा घटेका छन्”, कैलालीको टीकापुरस्थित सरस्वती मावि वनगाउँका प्रधानाध्यापक खगेन्द्र घर्तीमगरले भने, “विद्यालयमै प्याड वितरण हुन थालेपछि छात्रभन्दा छात्राको नतिजा राम्रो आएको छ ।” सरस्वती माविमा कक्षामा प्रथम, द्वितीय, तृतीय हुनेमा छात्रा अगाडि छन् ।

छात्र करीब ३० प्रतिशत मात्र उनीहरुको प्रतिस्पर्धामा छन् । प्रअ मगरका अनुसार ६ कक्षामाथि त प्रथम, द्वितीय, तृतीय सबै छात्रा नै छन् । “हामीले साना-साना कुरामा ख्याल गरेका रहेनछौँ”, प्रअ घर्तीमगर भन्छन्, “यो सानो प्रयासले छात्रालाई निकै राहत भएको छ । साथै उनीहरुको शैक्षिक विकासमा समेत सहजता आएको छ ।”

सरस्वती माविका प्रधानाध्यापक घर्तीमगरका अनुसार २ वर्षदेखि महीनावारीका बेला छात्रालाई आवश्यक प्याड रु ५ मा विद्यालयमै पाउने व्यवस्था गरेको छ । “निःशुल्क उपलब्ध गराउने चाहना त हो तर आर्थिकभार व्यहोर्न नसकिने भएकाले रु ५  लिन्छौँ”, उनी भन्छन्, “टाउको दुख्यो भन्दै घर जाने छात्रा प्याड किनेर पूरै कक्षा लिएर जान्छन् ।”

त्यस्तै कर्णाली माविका प्रधानाध्यापक धर्मराज शमाले भनेअनुसार विद्यालयमै प्याड वितरण गर्न थालेपछि विद्यालयमा छात्राको उपस्थिति बढेको हो । विगतमा महीनामा ४ ५ दिन कक्षा छाड्ने किशोरी नियमित विद्यालय आउन थालेको उनी बताउँछन् ।

“महीनावारीको समयमा किशोरीहरु प्याड नपाउँदा कक्षा छाडेर घर जान्थे, त्यो घटेको छ । साथै विद्यालयमै प्याड पाइन्छ भनेर उनीहरु ढुक्कसमेत हुने गरेका छन् ।” प्रअ शर्मा आफ्नो विद्यालयमा किशोर-किशोरीमैत्री स्वास्थ्य कार्यक्रम लागू भएकाले किशोर-किशोरी आफ्ना समस्याबारे खुलेर छलफल गर्ने बताउँछन् ।

कैलालीकै खड्ग स्मृति माविकी शर्मिला चौधरी कक्षामा दशौँ स्थानमा हुन्थिन् । कक्षा ७ मा उनी कक्षामा दशौँ स्थानमा आइन् । सानो कक्षामा प्रथम हुने उनलाई दशौँ स्थानमा पुगेपछि निकै तनाव भयो । उनका घरमा समेत राम्ररी पढिन भनी हप्काउन थालियो । “म हरेक महीना ४ दिन विद्यालयमा जान्थिनँ, मलाई महीनावारीको समयमा रगत लुकाउने डर हुन्थ्यो ।” शर्मिलाले भनिन् “विद्यालयमै प्याड दिन थालिएपछि म ढुक्क भएँ, अब मलाई महीनावारी हुँदाको तनाव छैन ।” शर्मिला कक्षा ९ मा द्वितीय भइन् । उनी भन्छिन्, “यस्ता साना-साना तनावले किशोरीको पढाइ बिग्रन्छ ।”

सोही विद्यालयकी शिक्षिका सीता भट्टराईले स्थानीय सरकारले विद्यालयमा निःशुल्क प्याड पाउने वातावरण बनाइदिनुपर्ने माग गर्छिन् । “महीनावारी नियमित प्रक्रिया हो, प्याड खर्चिलो पनि छ । धेरै किशोरीले किनेर प्रयोग गर्नसक्ने अवस्था छैन, यसमा सरकारले ध्यान दिनुपर्छ ।”

टीकापुर नगरपालिकाका शिक्षा शाखा प्रमुख दमनसिंह चौधरीले नगरपालिकाले यस वर्ष सामुदायिक विद्यालयमा प्याड व्यवस्थापनका लागि रकम छुट्याएको बताए । “हामीले प्याड व्यवस्थापनका लागि रु १० लाख रकम छुट्याएका छौँ”, उनले भने ।

चौधरीले विद्यालयमा छात्राको उपस्थिति बढाउन यस्ता कार्यक्रमलाई निरन्तरता दिनुपर्ने र सरकारका तर्फबाट पनि यस्ता व्यवस्था हुनुपर्ने बताउँछन् । सरकारले सबै सामुदायिक विद्यालयमा निःशुल्क प्याडको व्यवस्था गर्ने घोषणा गरेको छ ।

प्रकाशित मिति: Jul 25, 2019

प्रतिक्रिया दिनुहोस्