Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘बिहार’ भन्दा नी कुरुप बन्दै प्रदेश २ : मुख्यमन्त्री-मन्त्रीकै ‘छाडा मुख’

जनकपुरधाम : भारत स्थित बिहारलाई सबैभन्दा कुरुप प्रदेशको रुपमा कुनैबेला लिइन्थ्यो । छाडा भाषाको प्रयोग र गुण्डा नायीके स्टाइलको राजनीति तत्कालिन बिहारको मुख्य पहिचान नै मानिन्थ्यो । तर मिडिया आदिमा बोल्दा त्यहाँका मन्त्री/नेताले सक्केसम्म सिष्ट भाषामा बोल्ने गर्थे । तर त्यो भन्दा बढी कुरुप अवस्थामा यतिबेला नेपालको प्रदेश २ रहेको छ । यहाँका नेता/मन्त्रीहरुले त झन खुल्लमखुल्ला मिडियामा सानका साथ ‘छाडा मुख’ को प्रर्दशन गरिरहेका छन् ।

प्रदेश २ का मुख्यमन्त्रीदेखि मन्त्रीले अपशब्द प्रयोग गरी सञ्चारकर्मीलाई दिएका अन्र्तवार्ता अहिले सामाजिक सञ्जालमा भाइरल भइरहेका छन् । मुख्यमन्त्री लालबाबु राउतले यसै साता एक सञ्चारकर्मीलाई अन्तर्वाता दिने क्रममा भद्दा शब्द प्रयोग गरेका थिए ।

‘बेटी बचाऊ, बेटी पढाऊ कार्यक्रममा प्रदेश सरकारले छात्राका लागि साइकल वितरण गर्दा भ्रष्टाचार भएको भन्ने विषयमा सञ्चारकर्मीले प्रश्न सोध्दा मुख्यमन्त्री राउत निकै आक्रोशित मात्र भएनन् अपशब्द बोल्न समेत भ्याए । उनले सञ्चारकर्मीलाई हप्काउँदै भने, ‘तपाई बढी फट्याई कुरा नगर्नुस्,’ राउतले भने, ‘कसैको…मा दम छ भने प्रमाणित गरेर देखाओस् ।’

उनले सञ्चारकर्मीलाई झपार्दै सम्पूर्ण पत्रकारको दक्षता र योग्यता माथिनै प्रश्न खडा गरे । त्यो अन्र्तवार्ता सामाजिक सञ्जालमा भाइरल भयो । अन्र्तवार्तामा मुख्यमन्त्रीको पदमा बसेका व्यक्तिबाट प्रयोग भएको भाषाका विषयमा निकै आलोचना समेत भएको छ । कतिपयले त उनको राजीनामाको समेत माग गरेका छन् ।

यस्तै, मुख्यमन्त्रीको विषय सेलाउन नपाउँदै प्रदेश २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहले सञ्चारकर्मीलाई इंगित गर्दै गालि नै गरेको भिडियो भाइरल भएको छ ।

साहले आफ्नो मन्त्रालयमा भ्रष्टाचार भएको प्रमाणित गरे पदबाट राजिनामा दिने भन्दै सञ्चारकर्मीलाई निकै फोहोर शब्द प्रयोग गरी गाली गरे । उनले आफ्नो मन्त्रालयबाट बजेट रकमान्तर गर्दा अर्थमन्त्रीलाई समेत पैसा दिएको भिडियोमा बताएका छन् ।

मन्त्री साह यसअघि पनि आफ्नो ‘छाडा मुख’ को प्रर्दशनकै कारण विवादमा आएका थिए । उनले सप्तरीमा सञ्चारकर्मीमाथि अपशब्द प्रयोग गर्दा विवादमा आएपछि निजी सचिवालयबाट विज्ञप्ति जारी गरी माफी समेत मागेका थिए ।

उनले मन्त्रालयमा पनि कर्मचारीलाई विभिन्न विषयमा छलफल हुँदा अपशब्द प्रयोग गर्ने र गाली गर्ने गुनासो कर्मचारीले नै गर्ने गरेका छन् । पछिल्लो समय प्रदेश २ का मन्त्रीले बोलिमा संयमता अपनाउन नसक्दा निकै विवादमा पर्ने गरेका छन् । मुख्यमन्त्री राउतले यस अघि पनि सार्वजनिक मञ्चबाटै गरिएको भाषणमा प्रतिनिधिसभाका सभामुखलाई इंगित गरी अपशब्द प्रयोग गरेका थिए।

त्यसैगरी एक कार्यक्रममा उनले सार्वजनिक रुपमा लोकसेवा आयोगका अध्यक्षलाई ‘फटाहा’ र ‘बेइमान’ भनेका थिए । प्रदेशको मुख्य जिम्मेवार पदमा बसेका मुख्यमन्त्री र मन्त्रीका यस्तो छाडा बोलीले प्रदेशकै गरिमालाई धमिलो पारिरहेको नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष अनिल मिश्रले बताए ।

पदीय गरिमा र मर्यादालाई कायम गर्नुपर्ने काम मन्त्रीहरुको हुनुपर्नेमा यस्तो भाषाशैलीले उनीहरु जनताप्रति अनुत्तरदायी रहेको प्रष्ट रहेको मिश्रको भनाई छ । यहाँका नेता/मन्त्रीहरुले तत्कालिन बिहार स्टाइलको राजनीति गर्नमा बढी केन्द्रित भइरहेका संचारकर्मीहरु बताउँछन् । तत्कालिन बिहारी स्टाइलको राजनीति नेपालको प्रदेश २ मा हावी हुँदा प्रदेशको अस्तित्वमा नै प्रश्न उठ्ने संचारकर्मीहरुको भनाई रहेको छ ।

प्रकाशित मिति: Jul 23, 2019

प्रतिक्रिया दिनुहोस्