Logo
११ बैशाख २०८१, मंगलबार
(July 23, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

नेपाललाई झट्का : कतारसँग ४ विकेटले पराजित

सिंगापुरमा जारी आईसीसी टी-२० विश्वक्रिकेट अन्तर्गत एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा नेपाल कतारसँग ४ विकेटले पराजित भएको छ । वरियाताको आधारमा बलियोटोली मानिएको नेपाल कतारसँग हारेको हो ।

नेपालले जीतका लागि प्रस्तुत गरेको १ सय २३ रनको लक्ष्यलाई पछ्याउँदै कतारले १९.२ ओभरमा ६ विकेटको क्षतिमा हासिल गरेको थियो । टस जितेर पहिलो ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा सबै विकेट गुमाउँदै १ सय २२ रन बनाएको थियो ।

नेपालका लागि ओपनरद्वय कप्तान पारस खड्का र ज्ञानेन्द्र मल्लले उत्कृष्ट शुरुवात दिलाए पनि मध्यक्रम चल्न नसक्दा सस्तोमै समेटिएको थियो । खड्का र मल्लले पहिलो विकेटका लागि ४९ रनको साझेदारी गरे ।

कप्तान खड्काले १७ बलमा ४ चौका र १ छक्काको मद्दतले २८ रन बनाए भने मल्लले २४ बलमा २३ रन बनाए । दीपेन्द्र सिंह ऐरीले सर्वा्धिक ३४ रनको योगदान दिए भने सोमपाल कामीले ११ रन बनाए । ऐरीले ३५ बलमा एक चौका र एक छक्का हिर्काए । अन्य ब्याटसम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कतारलाई जीत दिलाउन इनमाम उल हकले सर्वा्धिक ४१ रनको योगदान दिए भने कमरान खानले २२ रन बनाए । त्यस्तै, नोउमान सरवारले नटआउट रहँदै १५ रन बनाएर टोलीलाई लक्ष्यसम्म पुर्याए ।

नेपालका लागि सन्दीप लामिछानेले ३ विकेट लिए । त्यसैगरी कतारका लागि भने इकबार हुसेनले ३ तथा नुमान सरवार र तमुर सज्जादले २-२ विकेट लिए ।

छनोट प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कुवेत, मलेसिया र कतार गरी ५ राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् । नेपालले दोस्रो खेल मलेसियासँग जुलाई २४, तेस्रो खेल कुवेतसँग २७ र समूहको अन्तिम खेल आयोजक सिंगापुरसँग जुलाई २८ तारिख खेल्नेछ ।

ग्लोबल क्वालिफायरमा १४ टोलीको सहभागिता रहनेछ । त्यसमा शीर्ष ६ मा रहने टोलीले सन् २०२० मा अस्ट्रेलियामा आयोजना हुने टी-२० विश्वकप क्रिकेट खेल्न पाउनेछन् ।

प्रकाशित मिति: Jul 23, 2019

प्रतिक्रिया दिनुहोस्