Logo
१५ चैत्र २०८०, बिहीबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

श्रीमती अन्यत्र लागेका घट्ना बढ्दै : सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्न पुरुषको संख्या बढ्दो

देवानी तथा फौज्दारी संहिता लागू भएसँगै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने पुरुषको संख्या बढेको छ । चितवन जिल्ला अदालतमा गत आर्थिक वर्षमा सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्नेमा महिलाभन्दा पुरुषको संख्या धेरै देखिएको हो । यसले समाजमा सामाजिक विखण्डन बढेर जान सक्ने चिन्ता लिन थालिएको छ ।

जिल्ला अदालत चितवनका अनुसार गत आर्थिक वर्षमा दर्ता भएका ८४५ वटा सम्बन्धविच्छेदका मुद्दामध्ये २७९ वटा पुरुषले गराएका छन् । भदौबाट लागू भएको नयाँ मुलुकीसंहिता बमोजिम पुरुषले पनि सिधैँ अदालतमा सम्बन्ध विच्छेदको मुद्दा दर्ता गर्न पाउने भएकाले पुरुषको संख्या बढ्न थालेको हो ।

अधिवक्ता फुलमाया रानाभाट नयाँसंहितासँगै सामान्य विषयमा पनि वादविवाद र झैंझगडा हुँदा दोस्रो बिहे गर्नका लागि सम्बन्धविच्छेदको मुद्दा दर्ता गर्ने पुरुष बढेका हुन् । मुलुकी देवानीसंहिता २०७४ को दफा ९६ मा सम्बन्धविच्छेद गर्न चाहने पति वा पत्नीले अदालतमा निवेदन दिन सक्नेछ भन्ने उल्लेख छ । यसैलाई टेकेर बहुविवाह गर्ने उद्देश्यले धेरैले सम्बन्धविच्छेदका मुद्दा दर्ता गर्ने गरेको अधिवक्ता रानाभाटले बताउनुभयो ।

अहिलेको कानूनले श्रीमतीलाई अंश दिएमा वा सम्बन्धविच्छेद गरेमा मात्र दोस्रो बिहे गर्न पाउने अधिकार दिएको छ । घरमा सासू-ससुरा स्याहारेर बस्ने श्रीमतीलाई विदेशबाट फर्किएका श्रीमान्ले सम्बन्धविच्छेदको मुद्दा बढी दर्ता गर्ने गरेको उहाँले जानकारी दिनुभयो । सम्बन्धविच्छेदका मुद्दा बढ्नुमा पारिवारिक असमझदारी, वैदेशिक रोजगार, हतारको निर्णय, स्वतन्त्र रहन चाहनु नै रहेको अधिवक्ता रानाभाटको भनाइ छ ।

ऐनले एकवर्ष मेलमिलापका लागि कुर्ने भनेको भए पनि त्यसपछि सम्बन्धविच्छेदमा जाने भएकाले समाजमा विकृति बढेर जानेमा उहाँले चिन्ता व्यक्त गर्नुभयो । बाबुआमा सम्बन्धविच्छेद गरेपछि उनीहरुका सन्तानलाई हुने असरका बारेमा समयमा नै सोच्न नसकिएमा समाजमा विकृतिको अवस्था सिर्जना हुने महिला अधिकारकर्मीको भनाइ छ ।

चितवन जिल्ला अदालत वार एशोसिएशनका अध्यक्ष कमल पाठकले श्रीमान्लाई प्रमाण पु¥याउन केही जटिलता रहे पनि विकृति भने बढ्नसक्ने बताउनुभयो । श्रीमान्श्रीमती बीचको झगडा बढेर सामाजिक रुपमा समस्या आउनसक्ने उहाँको तर्क छ । यद्दपि श्रीमती अन्यत्र लागेको, श्रीमान्को अङ्गभङ्ग हुनेगरी गतिविधि भएको, श्रीमतीले अंश लिएका जस्ता सबै प्रमाण पु¥याउनुपर्ने अवस्था भने रहेको अध्यक्ष पाठकको भनाइ छ ।

भरतपुर महानगरपालिकाका उपप्रमुख पार्वती शाह ठकुरीले पुरुषले पनि सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउन पाउने भएपछि महिलापीडित बन्ने क्रम बढेको उल्लेख गर्दै सामाजिक रुपमा विखण्डन ल्याउन दिन नहुने बताउनुभयो । पीडित पुरुष बाहेक फरक मनसायले पनि अदालत जाने क्रम बढेमा समस्या उत्पन्न हुने उपप्रमुख ठकुरीको भनाइ छ ।

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्