Logo
७ बैशाख २०८१, शुक्रबार
(July 21, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

अख्तियार मिचेर उद्योगलाई सहयोग गर्नेहरु उपर मुद्दा दर्ताको तयारी, प्रिमियर स्टिल बन्द हुँदै !

सुनसरी : अख्तियार दुरुपयोग गरेर प्रिमियर स्टिल उद्योगलाई सहयोग गर्नेहरु उपर मुद्दा दर्ताको तयारी हुँनुकासाथै प्रिमियर स्टिल उद्योग समेत बन्द हुँने उच्च स्रोतले दावी गरेको छ । सुनसरीको दुहवी २ स्थितमा रहेको प्रिमियर स्टील उद्योग प्रा.लि. उद्योग छेवमै रहेको तत्कालिन नविन शिक्षा आधारभूत विद्यालय व्यवस्थापन समिति प्रधान अध्यापक, सुनसरी–मोरङ्ग सिंचाई आयोजनाका कर्मचारीहरु, तत्कालिन रामगन्ज सिँचाई शाखा उपभोक्ता समितिका पदाधिकारी, तत्कालिन दुहवी गाविसका अधिकृत र कर्मचारी, साक्षि र रोहवरमा बस्नेहरु र सधियारहरु बिरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगाल काठमाण्डौंमा २०७६ साल बैशाख १२ गते उजुरी परेको थियो ।

सो उजुरिको अनुसन्धान गर्न बैशाख १६ गतेको पत्र अनुसार अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय इटहरीले अनुसन्धान गरि रहेको छ । अख्तियारको उजुरि दर्ता नम्वर २५१४२ मा सार्वजनिक सरोकारको भ्रष्टाचारको विषयमा अनुसन्धान गरी भ्रष्टाचारीहरुलाई कारवाही गरी पाउ भनिएको थियो । तत्कालिन दुहवी गाविसका अधिकृत र कर्मचारीको मिलेमतोमा जालझेल गराइ सो उद्योग स्थापना गरेको, दुहबी न.पा. वार्ड नं. २ स्थित उद्योग छेवमा रहेको नविन शिक्षा आधारभूत विद्यालय व्यवस्थापन समितिले करोडौ पर्ने जग्गा उद्योगलाइ गलत तरिकाले हस्तान्तरण गरेको, सुनसरी–मोरङ्ग सिंचाइ आयोजनाको करिब आठ कठ्ठा जग्गा सरकारी कुलो मिचि फ्याक्टरी निर्माण गरेर अख्तियार मिचेर भ्रष्टाचार गरेको भन्दै अनुसन्धान गरी कारवाही गरी पाऊ भनि उजुरिमा उल्लेख रहेको थियो ।

प्रिमियर स्टील प्रा.लि. नामक उद्योगको स्थापनामा जालझेल गरी प्रारम्भीक वातावरणिय परिक्षण आइइइ समेत गुपचुप गरी गरेको, उद्योगले नेपाल सरकारले खनेको साने नहर मिचेको, स्थानिय सामुदायिक विद्यालयका नि.वर्तमान व्यवस्थापन समिति र प्रधानाध्यापकले व्यक्तिगत लोभमा परी उक्त फ्याक्टूीको लागि करिब ७ कट्ठा जग्गा बाटो प्रयोजनको लागि उपलव्ध गराई चलन चल्तीको मूल्यमा करिब एक करोड राज्यको सम्पत्ति दुरुपयोग गरेको दुहवी गाविसका अधिकृत र कर्मचारीको मिलेमतोमा जालझेल गराइ उद्योग स्थापना गरेको भनि उजुरी परेको थियो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उजुरी उपर छानविन गर्दे २०७६ साल असारको पहिलो हप्ता सुनसरी–मोरङ्ग सिंचाइ आयोजना, नविन शिक्षा आधारभूत विद्यालय, प्रिमियर स्टिल उद्योग र दुहवी नगरपालिकालाइ १५ दिन भित्र सो उजुरीमा उल्लेख भएको १४ ओटा प्रमाणको बिषयमा के कसो हो भनेर लिखित जवाफ माँगेको थियो । लिखित जवाफको सम्बन्धमा सुनसरी(मोरङ्ग सिंचाइ आयोजनाले लगभग ९ कठ्ठा वाटर कोर्स(सानो नहर)सो उद्योगले मिचेको भनि स्पष्टीकरण दिएको बताइएको छ भने नविन शिक्षा आधारभूत विद्यालयले तत्कालिन व्यवस्थापन समितिका अध्यक्ष, पदाधिकारी र प्रधानाध्यापकले प्रिमियर स्टिल उद्योग संचालक विरेन्द्र राठीका बीच उद्योगलाइ वाटो प्रयोजनकालागि भनेर ८ लाख लिएर सम्झौता गरिएको माईन्यूट रहेको बताइएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १५ दिन थप अतिरिक्त समय लिखित जवाफकोलागि समय दिएकोले दुहवी नगरपालिका र प्रिमियर स्टिल उद्योगले लिखित जवाफ दिए न दिए श्रावणको पहिलो हप्ताभित्रै बिशेस अदालतमा मुद्दा दर्ता गर्नेगरि तयारी गरेको स्रोतको दावी छ ।

तत्कालिन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लग्नु उराव, प्रधान अध्यापक सुरेन्द्र कुमार चौधरी, सदस्य अमृता सिंह, सो कुराको साक्षिमा बस्ने तत्कालिन लोकतान्त्रिक फोरम सुनसरीका अध्यक्ष प्रदिप कुमार चौधरी र गढी गाउँपालिकाका वर्तमान अध्यक्ष श्री प्रसाद यादव र सिफारीस गर्ने तत्कालिन दुहवी नगरपालिकाका कार्यकारी अधिकृत यूवराज ढकाल, सरजमिन र काम तामेल गर्ने दुहवी नगरपालिकाका खरदार शिवनारायण चौधरी र स्थानिय निकायका कर्मचारीहरु रोहवरमा बस्ने पूर्व दुहवी गाविस अध्यक्ष बिनय पोखरेल, रामगन्ज सिँचाई शाखाको उपभोक्ता समितिका अध्यक्ष टेकचन्द बिश्वास, र सदस्यहरु र सुनसरी–मोरङ्ग सिंचाई आयोजनाका कर्मचारीहरु सधियारहरु उपर समेत अनुसन्धान गरी भ्रष्टाचारमा कारवाही गरी पाऊ भनी उजुरीमा उल्लेख छ । केहि महिना अगाडी वातावरण बिभागबाट आएको टोलीले प्रिमियर स्टिल उद्योगमा अनुगमन गरेको थियो ।

वातावरण बिभागले प्रिमियर स्टिल उद्योग र छेवछावका गाउँमा समेत स्थलगत अनुगमन गरेको थियो । उद्योगबाट निस्केको धुवा धुलो र ध्वनी प्रदुषणका कारण स्थानीयहरु आक्रोशित भएपछि राष्टिूय मानव अधिकार आयोगमा स्थानीयहरु ४०९ जनाले हस्ताक्षर सहित उजुरी दिएपछि स्थलगत अनुगमन गरिएको थियो । वातावरण बिभागका केमिस्ट केशव पौडेलले सो उद्योगका बारेमा विस्तृतरुपमा अध्ययन गरेर मन्त्रालयमा पेशगरि आवश्यक पहल गर्ने प्रतिबद्धता व्यक्त गरे अनुरुप उद्योगले गलत आइइइ गरेको ठहर गर्दै प्रतिवेदन सहित कारवाहीकोलागि मन्त्रालयमा सिफारिस गरेको बताए ।

प्रिमियर स्टिल उद्योगले गलत आइइइ गरेको ठहर गर्दै वातावरण विभागबाट आएको वातावरणीय प्रदुषण नियन्त्रण तथा नियमन शाखाले कारवाहीकोलागि सिफारिस गरेको हो । टोलीको निरीक्षण प्रतिवेदनमा प्रिमियर स्टिल प्रालिको प्रारम्भिक वातावरणीय परीक्षणमा उद्योग नजिकै मदरसा र विद्यालय न रहेको शाखा नहर(कुलो) न रहेको घना वस्ती न रहेको उल्लेख गरेको थियो । उद्योगका प्रोडक्सन मेनेजरले हाल सम्म धुलो, धुवाँ,फोहर पानि एवं ध्वनीको परिक्षण न गरिएको, धुलो, धुवाँ नियन्त्रणकोलागि कुनै उपकरण न लगाएको प्रतिवेदनमा उल्लेख छ ।

उद्योगले प्रारम्भिक वातावरणीय परिक्षण र वातावरणीय प्रभाव मूल्याङकनलाइ गलत तरिकाले प्रस्तुत गरेको निष्कर्ष निकाल्दै वातावरण विभागले आवश्यक कारबाहीकोलागि नेपाल सरकार वन तथा वातावरण मन्त्रालयलाइ प्रतिवेदन पठाएको छ । उद्योगको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनमा फोहर पानी प्रशोधन केन्द्र निर्माण गर्ने उल्लेख भएतापनि उद्योगले फोहर पानी प्रशोधन केन्द्र निर्माण गरेको पाइएन । उद्योगले गरेको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदनमा उद्योग रहेको स्थानको शाखा नहरको बारेमा सम्बोधन गरेको पाइएन ।

उद्योगबाट निस्कने ध्वनी प्रदुषणका कारण उद्योग छेवमा रहेको वस्तीहरुमा राती सुत्न नसक्ने अवस्था रहेको स्थानियहरुले बताएका छन । उद्योग सञ्चालनका कारण ध्वनी, धुलो लगायतका कारणले जन स्वास्थ्य र जनजिविकामा असर परिरहेको त्यस्तै उद्योगका कारण घरेलु पशुपंछि, बालीनाली, खानेपानि जल, जमिनको उर्वरा शक्ती सिंचाइ आदिमा असर परिरहेको भनि प्रिमियर स्टिल उद्योगबाट पिडीत र प्रभावित ४०९ जनाको उजुरी राष्टिूय मानव अधिकार आयोगमा दर्ता भएको थियो ।

प्रिमियर स्टिल उद्योग प्रालिको सञ्चालन स्वीकृति गोप्य, जालझेल, दवाव र प्रभाव, षडयन्त्रपूर्वक प्रारम्भिक वातावरणीय परीक्षण र प्रभाव मूल्यांकन बिना नै गलत भएको भन्दै स्थानीयबासीहरुले शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई ११ बुँदे मागपत्र बुझाउँदै प्रिमियर स्टिल प्रालिको प्रारम्भिक वातावरणीय परीक्षण र वातावरणीय प्रभाव मूल्यांकन गर्नुपर्ने माग राखेका थिए । सो उद्योगले गर्दा पानि निकासा न भएकोले हालै आएको वर्षामा उद्योग छेवमा रहेको तुताहा वस्तीनै पुरै डुवानमा परेको भन्दै २ घण्टा दुहवी(इनरुवा सडक खण्ड बन्द गराउन आफुहरु बाध्य भएको स्थानियहरुले बताए । पुरै वस्तीनै डुवानमा परेपछि आफुहरु ठुलो मारमा परेको स्थानियहरुले बताए ।

प्रकाशित मिति: Jul 21, 2019

प्रतिक्रिया दिनुहोस्