Logo
१५ चैत्र २०८०, बिहीबार
(July 19, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

जडीबुटी चोरी निकासीे आरोपमा वडाध्यक्षमाथि कुटपिट, प्रहरीलाई गाउँबाटै लखेटे

जुम्ला : जडीबुटी चोरी निकासीे आरोपमा जुम्लाका स्थानीयले पातारासी गाउँपालिका-४ का वडाध्यक्ष कालीबहादुर रावतमाथि कुटपिट गरेका छन् । उनीहरूले घटना नियन्त्रणमा लिन आएका प्रहरीलाई समेत गाउँबाट लखेटेका छन् ।

बागजाले सामुदायिक वनको अवैध जडीबुटी चोरी निकासीमा वडाध्यक्षको संलग्नता रहेको भन्दै लुमगाउँका स्थानीयले बुधबार वडाध्यक्ष रावतमाथि कुटपिट गरेका हुन् । स्थानीयवासीले वडाध्यक्ष रावतविरुद्ध नाराबाजी गर्दै पदबाट राजीनामा दिन मागसमेत गरेका छन् । सामुदायिक वनमा पाइने सेतोचिनी (खिरौँला) चोरी निकासीमा वडाध्यक्षको प्रत्यक्ष सहभागिता रहेको लुमगाउँका स्थानीयवासीको आरोप छ ।

जनप्रतिनिधि नै अवैध कारोवारमा संलग्न भएको आरोपमा गाउँ नै वडाध्यक्षको विरुद्धमा छ । स्थानीय कालीबहादुर रावलले वडाध्यक्ष रावत जडीबुटी चोरी निकासीमा संलग्न रहेको जिकिर गरे । आक्रोसित वडाध्यक्षमाथि हातपात भएको विषयमा बुझ्न गएका प्रहरीमाथि स्थानीयवासीले ढुङ्गामुढा गरेका छन् । डिल्लीचौर प्रहरी चौकीका इञ्चार्ज प्रेमबहादुर थापाले लुमगाउँका स्थानीयवासीले आफूहरुमाथि ढुङ्गामुढा गरेको बताए ।

सुरक्षाका लागि गएको प्रहरी टोलीमाथि ढुङ्गामुढाका साथै हातपातसमेतको प्रयास भएको इञ्चार्ज थापाले बताए । वडाध्यक्षमाथिको हातपात घटनाका विषयमा मौखिक रूपमा जानकारी भएको प्रहरी निरीक्षक नवीन वलीले बताए । उनले भने, ‘जाहेरी आएपछि सोहीअनुसार कानूनी प्रक्रियाअनुसार काम हुने उनको भनाइ छ ।

गाउँमा विवाद भएको समयमा नआउने प्रहरी वडाध्यक्षले बोलाउँदा गाउँ आएपछि लखेटेको स्थानीयको भनाइ छ । वडाध्यक्ष रावतले अवैध जडीबुटी चोरी निकासीमा आफ्नो संलग्नता नरहेको बताए । उनले स्थानीय सरकारको समन्वय र सहकार्यमा सामुदायिक वनको जडीबुटी चोरी निकासी रोक्न खोज्दा कालीबहादुर रावललगायतको टोलीले हातपात गरी कुटपिट गरेको गुनासो गरे ।

हातपात गरी दुव्यवहार गर्दा गाउँमा बस्ने वातावरण सहज नभएका कारण सुरक्षाका लागि जिल्ला सदरमुकाम खलङ्गा बजारमा बस्दै आएको उनले बताए । बागजाले सामुदायिक वनमा पाइने जडीबुटीको अवैध चोरी निकासी भएको सूचना स्थानीयवासीबाट आएकाले दुईपटक प्रहरी लिएर वनमा गएको उनको भनाइ छ ।

वडाध्यक्ष रावतले स्थानीयवासीले लगाएको आरोप न्यायिक निकायले दोषी ठहर्याए कानूनबमोजिम कारवाही भोग्न र वडाध्यक्षको पदबाट राजीनामा दिन तयार रहेको बताए । ज्यान असुरक्षामा रहेको बताउँदै वडाध्यक्ष रावतले गाउँ नै आफूमाथि खनिएकाले घर छोडेर विस्तापित हुनुपरेको बताए ।

प्रकाशित मिति: Jul 19, 2019

प्रतिक्रिया दिनुहोस्