Logo
४ बैशाख २०८१, मंगलबार
(July 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

किसानलाई पेन्सन दिँदै बुढीगङ्गा नगरपालिका

बाजुरा : बाजुराको बुढीगङ्गा नगरपालिकाले अन्य सरकारी काममा जस्तै गरि किसानका लागि पनि पेन्सनको सुविधा दिने निर्णय गरेको छ । उक्त नगरपालिकाको तेस्रो नगरसभाबाट किसानलाई पेन्सनको सुविधा दिने निर्णय गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताए ।
देशमै किसानलाई पेन्सनको सुविधा दिने निर्णय गर्ने बुढीगङ्गा पहिलो स्थानीय निकाय हो ।

तत्काल कार्यविधि बनाएर यसै आर्थिक वर्षबाट शुरुआत गर्नेगरी नगरसभाले निर्णय गरेको प्रमुख प्रशासकीय अधिकृत सुनिल ठकुल्लाले बताए । किसानलाई शुरुमा रु ५०० देखि रु एक हजार सुविधा उपलब्ध गराउने प्रस्ताव गरेको उपप्रमुख तारा खातीले बताए । रु ५१ करोड बजेट प्रस्तुत गरेको नगरपालिकाले फलफूल गाउँ निर्माणदेखि कृषि पशुपालनलाई पहिलो प्राथमिकता दिएको छ ।

यो वर्षबाट निजी स्रोतका शिक्षक नराख्ने गरी नगर स्वयंसेवक शिक्षक राख्ने र शिक्षा विकासमा विशेष जोड दिने नीति नगरपालिकाले लिएको छ । त्यसका लागि रु ८० लाख बजेटसमेत विनियोजन गरिएको छ ।

यस्तै नगरपालिकाले नगरवासीलाई लक्षित गरी नगरबस सञ्चालन गर्ने निर्णय गरेको छ । जिल्लाका अरु नौ स्थानीय तहभन्दा यो निर्णय पनि बुढीगङ्गाले फरक गरेको हो । रु एक करोड बजेट विनियोजन गरेर बुढीगङ्गाले असोजसम्म नगरबस सञ्चालन गर्ने निर्णय गरेको हो ।
सबै वडामा बाटो पुगिसकेकाले सर्वसाधारणको आवश्यकतालाई मध्यजनर गरेर निर्णय गरिएको वडा नं ९ का अध्यक्ष भरतबहादुर थापाको भनाइ छ ।नगरपालिकाले ‘तपाईंको मेहनत हाम्रो लगानी’ र स्वरोजगार अनुदान घुम्तीकोषका लागि बजेट विनियोेजन गरेको छ भने नगरकै जेसिबी तथा डोजर र टिपरसमेत खरीद गर्ने निर्णय गरेको छ ।

नगरसभाले त्यसका लागि पनि रु एक करोड बजेट छुट्याएको छ । यसै वर्षमा वडा भवन निर्माण गर्ने, नगरपालिकाको सुविधासम्पन्न भवन निर्माणको काम अघि बढाउने र विकासका लागि बुढीगङ्गा विकास सम्मेलनको आयोजना गर्ने निर्णय गरेको छ ।
कृषकलाई पेन्सनको व्यवस्था नेपालमै पहिलोपटक भएको कृषि ज्ञान केन्द्र बाजुराका कृषि प्रसार अधिकृत मीनप्रसाद जैशीले प्रतिक्रिया दिए । स्थानीयवासीसमेत रहेका जैशीले किसान महासङ्घले छलफलमा ल्याए पनि कार्यान्वनका लागि बुढीगङ्गाले पहिलो निर्णय गरेको बताए ।

ढिलो गरी नगरसभा सञ्चालन गरेको बुढीगङ्गा नगरपालिकाले जिल्लामै उत्कृष्ट र नमूना नीति तथा कार्यक्रम समावेश गरेको भन्दै सामाजिक सञ्जालबाटै प्रतिक्रिया आउन थालेका छन् ।

प्रकाशित मिति: Jul 18, 2019

प्रतिक्रिया दिनुहोस्