Logo
११ बैशाख २०८१, मंगलबार
(July 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पाकिस्तानले भारतका लागि खोलिदियो हवाई क्षेत्र, एयर इन्डियालाई मिल्यो ठूलो राहत

काठमाडौं : बालाकोट आक्रमणपछि पाकिस्तानले भारतीय विमानका लागि बन्द गरेको हवाई क्षेत्र खुला गरेको छ ।

पाकिस्तानको नागरिक उड्ड्यन प्राधिकरणले गएराति पौने १ बजेतिर एयरमेन (नोटाम)लाई एक सूचना पठाएर पाकिस्तानको हवाई क्षेत्र सबै प्रकारका सार्वजनिक उडानका लागि खुल्ला भएको जानकारी दिएको थियो । दुवै देशको हितलाई ध्यानमा राखेर यो कदम चालिएको प्राधिकरणका अधिकारीको भनाइ छ ।

पाकिस्तानको यो कदमले भारतको सरकारी कम्पनी एयर इन्डियालाई ठूलो राहत मिलेको समाचारमा उल्लेख छ ।

किनभने पाकिस्तानको हवाई मार्ग बन्द भएपछि एयर इन्डियासहितका भारतीय एयरलाइन्स यूरोप र अमेरिकी शहरका लागि लामो रुट प्रयोग गर्न बाध्य भएका थिए । लामो रुट प्रयोग गर्दा हरेक दिन करोडौं घाटा सहनु परेको थियो । यसैका कारण कतिपयले धेरै अन्तर्रा्ष्ट्रिय उडान कटौती गरेका थिए ।

राज्यसभामा तीन जुलाईमा भारतका नागरिक उड्डयन मन्त्री हरदीप सिंह पुरीले पेस गरेको तथ्यांकअनुसार एयर इन्डियाले फेब्रुअरीदेखि दुई जुलाईसम्म ४९१ करोड भारु घाटा व्यहोरेको थियो । यसैगरी भारतका निजी एयरलाइन्स कम्पनी स्पाइसजेटले ३० करोड, इन्डिगोले २५ करोड र गो एयरले २ करोड घाटा व्यहोरेका थिए ।

भारतीय समाचार एजेन्सी एएनआईका अनुसार भारतीय एयरलाइन्स अपरेटरहरुले अब छिट्टै पाकिस्तानको हवाई क्षेत्र हुँदै सामान्य मार्ग प्रयोग गर्न थाल्ने छन् ।

गत १४ फेब्रुअरीमा जम्मु कश्मिरको पुलवामा भारतीय सीमा सुरक्षाकर्मीमाथि आतंकवादी हमला भएपछि दुई देशबीच शत्रुवत व्यवहार अझै उत्कर्षमा पुगेको थियो ।

आक्रमणकारी जैश-ए-मोहम्मद समूहलाई पाकिस्तानको संरक्षण रहेको भन्दै भारतले पाकिस्तानी भूमिमा २६ फेब्रुअरीमा हवाई आक्रमण गरेको थियो । आक्रमणबाट आतंकवादीको मुख्यालय ध्वस्त पारेको दावी भारतले गरे पनि पाकिस्तानले भने सो आक्रमणबाट जंगलका रुख बिरुवामा मात्र क्षति पुगेको बताउँदै आएको छ ।

सोही क्रममा पाकिस्तानले भारतीय एउटा वायु सेनालाई जमिनमा खसाल्नुका साथै त्यसका पाइलट अभिमन्यूलाई समेत नियन्त्रणमा लिएको थियो । पाकिस्तानले ती पाइलटलाई ससम्मान रिहा गरिदिएको थियो ।

सोही घटनादेखि पाकिस्तानले भारतीय विमानहरुका लागि आफ्नो हवाई क्षेत्र बन्द गरेको घोषणा गरेको थियो ।

हवाई मार्ग खुला गरेर पाकिस्तानले भारतसँगको सम्बन्धमा मिठास भर्न खोजेको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।

प्रकाशित मिति: Jul 16, 2019

प्रतिक्रिया दिनुहोस्