Logo
१३ बैशाख २०८१, बिहीबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

कालीगण्डकीमा पानीको सतह बढ्दा बगायो बेनी-जोमसोम-कोरला सडक

म्याग्दी : अविरल वर्षाका कारण कालीगण्डकी नदीमा पानीको सतह बढेर करिब ५ मिटर सडक बगाएकोे छ । सडक बगाएपछि कालीगण्डकी करिडोर अन्तर्गतको बेनी-जोमसोम-कोरला सडक शुक्रवार दिउँसो ४ बजेदेखि अवरुद्ध भएको छ ।

म्याग्दीको अन्नपूर्ण गाउँपालिका ७ मा पर्ने सडकखण्डको बाँदरजुङेगेभीरमा कालीगण्डकी नदीले सडक कटान गरेर बगाएपछि सडक अवरुद्ध भएको हो ।

बेनी-जोमसोम-कोरला सडक खण्डका सुपरभाइजर इन्द्रसिं शेरचनले दिएको जानकारी अनुसार अचानक कालीगण्डकीमा पानीको सतह बढेपछि नदीको धार सडकतिर फैलिदा कटान गरेको हो । नदीले सडक बगाएपछि मुस्ताङबाट बेनीतर्फ आउँदै गरेका र बेनीबाट मुस्ताङतर्फ जाँदै फर्कदै सवारीसाधन र यात्रुहरु विचैमा अलपत्र परेका शेरचनले जानकारी दिए ।

सडकको भित्तापट्टि ठूलो पहरो रहेकाले तत्काल सडक खुलाउन सक्ने कुनै सम्भावना नरहेको उनले बताए । त्यसैगरी बेनी-जोमसोम सडक अन्तरगत म्याग्दीको रघुगंगा गाउँपालिका १ र अन्नपूर्ण गाउँपालिका ७ को सिमाना स्थित कालीगण्डकी नदीमाथि रहेको बेलिब्रिज पनि जोखिममा परेको छ ।

कालीगण्डकीको कटानका कारण अन्नपूर्ण गाउँपालिका र मुस्ताङ जोड्ने सडक अन्तरगत पर्ने तिप्ल्याङको बेलिब्रिज जोखिममा परेको हो । कालीगण्डकीले महभिर तर्फको पुलको बिम कटान गरेर भत्काउन थालेको छ। कालीगण्डकीको कटानका कारण मेसिनरी पर्खालको बिमको छेउमा सडक भासिएको छ ।

केही माथि पक्कि मोटरेबल पुल निर्माणका क्रममा गराइएको कालीगण्डकी डाइभर्सनका कारण बेलिब्रिज कटानको चपेटामा परहेको हो । बेनी-जोमसोम-कोरला सडक आयोजनाका सुपरभाइजर शेरचनले कटानका कारण पुलको बिम जुनसुकै बेला भत्कीने खतरा भएको र पुलमा जाने सडक साघुरिएकाले दुर्घटनाको जोखिम बढेको बताए ।

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्