Logo
१६ चैत्र २०८०, शुक्रबार
(July 12, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

देशभर वर्षा : बरुवा नदीको बाँध फुट्ने खतरा, कोशीको ३२ ढोका खोलियो, एकजनालाई बगायो

काठमाण्डौ : अबिरल वर्षाका कारण देशभर असर परेको छ । प्रदेश १ स्थित सप्तकोशी नदीको जलस्तरमा वृद्धि देखिएता पनि अहिलेसम्म खतरा भने नरहेको प्रशासनले जनाएको छ । यद्यपी ३२ ओटा ठोका भने खोलिएको छ । पूर्वी पहाडी भेगमा लगातार पानी पर्दा कोशीको बहावमा उतार चढाव आउने गर्छ ।

त्यसैगरि प्रदेश १ स्थित सुनसरीको हरिनगर गाउँपालिका पुर्णरुपमा डुवानमा परेको छ । शुक्रबार बिहानको पछिल्लो मापन अनुसार कोशीमा पानीको बहाव कोशीमा पानीको बहाव १ लाख ६९ हजार क्युसेक प्रतिसेकेण्ड पुगेको छ ।

अहिले बहाब बढ्ने क्रम रहेको जिल्ला प्रहरी कार्यलय सुनसरीका डीएसपी ज्ञानेन्द्र फ्युयालले जानकारी दिए । कोशी नदीका लागि वर्षातको समयमा यतिको बहाव सामान्य मानिन्छ । १ लाख ५० हजार क्युसेक प्रतिसेकेण्ड नाघेको खण्डमा कोशीको बहावलाई प्रारम्भिक सावधानी सूचकको रुपमा लिने गरिन्छ ।

नदीको जलस्तर बढ्दा कोशी ब्यारेजमा भन्दा सम्भावित जोखिम भने आसपासका क्षेत्रमा पर्ने गर्दछ। चतरामा रहेको बाढी मापन केन्द्रमा पानीको तह उच्च विन्दुमा पुगे त्यसको प्रभाव आसपासका स्परहरुमा देखापर्ने सम्भावना रहन्छ । कमजोर स्परमा नदीको बहावले धक्का हान्नुका साथै कटान हुन सक्ने सम्भावना रहने हुँदा तटिय क्षेत्रमा विशेष सावधानी अपनाउनुपर्ने कोशीका जानकार रविन घिमिरेको भनाइ छ।

नदीमा थुप्रिएको बालुवाका कारण कोशीको बहाव क्षमतामा ह्रास आएको छ। घिमिरेका अनुसार ३ लाख क्युसेकको बहाव समेत कोशीका लागि खतरापूर्ण हुन सक्ने भएको हुँदा पूर्व तयारी र सावधानी अपनाउनुपर्ने हुन्छ। स्पर मर्मत र नियमित अनुगमनको क्रमलाई जारी राखिएको सुनसरी प्रशासनले जनाएको छ।

बरुवा नदीको बाँध फुट्ने खतरापछि गाईघाट बजार जोखिममा

त्यसैगरी, निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै जाँदा उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–११ स्थित शिवालयटोल तथा साकेलाटोल क्षेत्रमा निर्माण गरिएको बरुवा नदीको बाँध भत्कन थालेपछि गाईघाट बजार जोखिममा पर्न थालेको छ ।

तीन दिनदेखि आएको निरन्तर वर्षाका कारण बरुवा नदीको बहाव बढ्दै गएपछि पुराना बाँधको ढुङ्गा खोलिन थालेको र बाँध भत्कन थालेपछि शिवालयटोल, साकेलाटोल र गाईघाट बजार क्षेत्र नै जोखिममा पर्न थालेको साकेलाटोलका राजकुमार राईले बताए । बाढीले बाँधको पुरानो संरचना खोल्न थालेको र ढुङ्गा बगाउन थालेपछि बाँध फुट्ने अवस्थामा पुगेको शिवालयटोलका अर्का स्थानीयवासी कनक कार्कीले बताए ।

बरुवा नदीमा निर्माण गरिएको पुरानो बाँधको तारजाली नष्ट भइसकेको र बाँध क्षेत्रका ढुङ्गासमेत हिउँदमा ट्र्याक्टर व्यवसायीले उत्खनन गर्ने गरेपछि वर्षेनी नदीले बाँध भत्काउँदै आएको र पुरानो बाँध मर्मत नहुँदा बाढी आउनासाथ शिवालयटोल, साकेलाटोलसहित गाईघाट बजारका दुई हजारभन्दा बढी घर बाढीको उच्च जोखिममा पर्दै आएका छन् ।

सिद्धिचरण लोकमार्गमा यातायात अवरुद्ध

त्यस्तै सिद्धिचरण लोकमार्गअन्तर्गत उदयपुरको कटारी नगरपालिका–१४ को भदौरेखोलामा निरन्तर वर्षाका कारण आएको बाढीले सडकमा बालुवा तथा ढुङ्गामाटो थुपारेपछि बिहीबारदेखि कटारी नप–१४ स्थित बेतिनी र घुर्मी बीच क्षेत्रमा यातायात सेवा अवरुद्ध बन्न पुगेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार सिद्धिचरण लोकमार्ग क्षेत्रमा भदौरेखोलाको बाढीले सडकखण्डमा ढुङ्गा, बालुवालगायत अन्य वस्तु थुपारेपछि इलाका प्रहरी कार्यालय कटारीबाट गएको टोलीले साँझपख सडक खुलाए पनि फेरि गए राति पुरिएका कारण सडक अवरुद्ध भएको हो ।

सडक डिभिजन कार्यालय सिरहा लहानलाई समेत खबर गरेर जेसिभी उपलब्ध गराउन पटक–पटक अनुरोध गरे पनि सडक कार्यालयले सुनुवाइ नगरेको र अहिले कटारी नगरपालिकाबाट एक जेसिभी झिकाएर भदौरेखोला खण्डमा अवरुद्ध सडक खुलाउने कार्यमा प्रहरी परिचालन भएको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमसागर केसीले बताए ।

रौतहट पनि डुबानमा सतर्क रहन जरुरी

तयसैगरी देशभरी लगतार तीन दिन देखि बर्षाका कारण रौतहटको अधिकांश गाउँहरु डुवानमा परेका छन् । लगातार तीन दिनको बर्षाले र देशभरी बर्षाका कारण नदीको बहाव बढेका छन् ।

लगबकैया र बागमती नदीको बिचमा रहेको रौतहट बढीको उच्च जोखिममा पर्ने सम्भावना भएको छ। दुई नदीको बाँध भत्किदाँ रौतहटको दर्जनौं गाउँ डुवानमा परेका छन् ।

बकैया नदीको हरसाहा, भसेढवा, कटहरिया,तेजापाकड, लौकाहा, बन्जरहा लगायतका दर्जन गाउँ उच्च जोखिममा रहेका छन भने बागमती नदिको गढिमाइ लक्ष्मिपुर, मत्सरी, बडहर्वा, बसतपुर, ब्रहम्पुरी, हजरिया लगायतका गाउँ उच्च जोखिमा रहेका छन् ।

बाँध कटान भएको ठाउँमा पानीको बहाव रोक्ने प्रयास गरेता पनि पानीको बहाब तिब्र भएकोले प्रयास असफ्ल भएको कटहरीया नगरपालिकाका प्रमुख सियाराम कुशवाहाले जनाएको छ ।

दुई वर्ष अघि बागमती नदिमा आएको बाढिले सो ठाउँको बाँध भत्केको थियो सो बाँध अहिले सम्म बलियो नबनेको कारण फेरि बाँध भत्किएको स्थानीयहरुले जनाएको छ । लगातार वर्षाले गर्दा लालबकैया बाग्मती र झाँझ नदीका पानीको कारण दर्जनौं गाँउहरु डुबानमा परेका छन । नदीको पानीको निकासको लागि अरु कुनै विकल्प न भएको कारण दर्जनौ गाँउ डुबानमा परेको स्थानियवासीहरु बताएका छन् ।

महेन्द्रराजमार्ग अवरुद्ध, मोटरसाइकल सहित एकजनालाई बाढीले बगायो

त्यसैगरी जिल्लाको लाल बकैया खोलामा मोटरसाइकलसहित खोलामा डुब्दा एक व्यक्तिको मृत्यु भएको छ । रौतहटको इशनाथ नगरपालिका –३ औरैयाका ३५ वर्षीय रामपुकार पटेल भारतमा विहारको पूर्वी चम्पारणमा रहेको आफन्तको घरबाट फर्किने क्रममा लाल बकैया नदीको रेल्वे लाइनको पुलमाथिबाट मोटरसाइकलसहित हिँड्ने क्रममा बिहीबार बेलुका खसेर बेपत्ता भएका थिए ।

घटनास्थलभन्दा ४० किलोमिटर दक्षिण बागमती नदीको बेलवाघाटनजिक पटेलको शव भेटिएको हो। यता अविरल वर्षाको कारण पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर नगरपलिका–२ को लच्कामा बाढीले राजमार्ग अबरुद्ध भएपछि राजमार्गमा सवारीसाधनको लाम लागेको छ भने हजारौं यात्रु आवतजावत गर्न नसकेर रोकिएका छन् ।

महेन्द्र राजमार्ग अवरुद्ध, जनजीवन प्रभावित बुधबारदेखि आएको अविरल वर्षाले रौतहटको विभिन्न ठाउँमा जनजीवन प्रभावित बनाएको छ । अविरल वर्षाको कारण पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत चन्द्रपुर नगरपलिका–२ को लच्कामा बाढीले राजमार्ग अबरुद्ध गरेको छ । सडक अवरुद्ध भएसँगै राजमार्गका हजारौँ सवारीसाधन आवतजावत गर्न नसकेर रोकिएका छन् ।

हेर्नुस् फोटोहरु : 

प्रकाशित मिति: Jul 12, 2019

प्रतिक्रिया दिनुहोस्