Logo
१५ चैत्र २०८०, बिहीबार
(July 11, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

‘सडकको भीडले सरकारलाई संविधान विपरित दबाब दिइरहेको छ’

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले सडकको भीडले सरकारलाई संविधान विपरित गएर दबाब दिइरहेको बताएका छन् ।

काठमाडौंमा बिहीबार आयोजित ‘संविधानको कार्यान्वयन र प्रशासनिक पुनर्सरचना’ विषय अन्तरक्रिया कार्यक्रमा मन्त्री पण्डितले  संविधान भन्दा बाहिर गएर कसैले माग गरे सरकारले पूरा गर्न नसक्ने भन्दै साे कुरा बताएका हुन् ।

सुझाव सबैको स्वीकार्य हुने भएपनि दबाब स्वीकार्य नहुने बताउँदै मन्त्री पण्डितले संघीयता कार्यान्यनका लागि सरकारले तीनै तहमा संरचना निमार्ण गरेको बताए ।

उनले भने,‘संविधान बनेर कार्यान्वयनको चरणमा छौँ । कार्यान्वयन भइसकेको छैन । हामी संविधानलाई आत्मासाथ गरेर अगाडि बढिरहेका छौँ । डाक्टरले अप्रेसन गर्नु लाग्दा अलिकति त दख्छ नि ? अलिकति दख्दैमा अप्रेशन नै नगर्ने त ? डाक्टरलाई हामी भगवान मान्छौँ । तर मेरो जिउमा चलाउँदा मलाई नै सिध्याइदिन्छ कि भन्ने ठान्ने हो भने स्वास्थ जीवन हुँदैन । संविधानले नै पुनर्सरचनाको माग गरेको छ । नभए त संघीयता कार्यान्वयन नै हुने थिएन ।’

समय क्रमसँगै पहिचान पनि परिमार्जित हुँदै जाने भन्दै मन्त्री पण्डितले संविधान मान्दैन भन्न नमिल्ने तर्क गरे । ‘केही–केही साथीहरुले भन्ने गर्नुहुन्छ हाम्रो पहिचान गुम्ने भयो भनेर । संविधान बनिसकेपछि कति पहिचान गुमेको छ ?,’ उनले भने,‘संविधान भनेपछि पनि त पहिचान गुमेको छ । पहिलेकै पहिचान पक्रेर बस्ने हो भने संविधानलाई मानेको र अंगालेको हुँदैन । संविधानलाई मान्दैन भन्न मिल्छ ?’

सरकार र कर्मचारीबीच मतभेद रहेको पनि मन्त्री पण्डितले बताए । ‘जता गए पनि गङ्गटा आँ गरिरहेको हुन्छ । गङ्गटाले आफ्नो आमाको जीवन पनि देख्दैन, र आमाले आफ्नो बच्चा पनि देख्दैन । हामी त्यो बाटोमा जान खोजेका हौँ ? होइन । त्यसैले यो गङ्गटे प्रवृतिलाई समाप्त गर्नुपर्छ । सरकारभित्र फेरि अलग–अलग सरकार हुँदैन । सरकार र कर्मचारीबीचको मतभेद समाप्त पार्नुपर्छ,’ उनको भनाइ थियो ।

साथै मन्त्री पण्डितले आफूले राखेको माग मात्र सही भन्ने कुराबाट सबै मुक्त हुनुपर्ने धारणा राखे । कार्यक्रममा राज्य व्यवस्था तथा सुशासन समिति सभापति शशी श्रेष्ठले मुलुक संघीय संरचनामा गए पनि जनताले त्यसको अनुभूति लिन नसकेको बताइन् ।

उनले भनिन्, ‘मुलकमा ठूलो परिवर्तन भयो । संघीयता सहितको राज्य व्यवस्था निमार्ण भयो । तर यत्रो परिवर्तन भए पनि जनताले अनुभूति गर्ने कुरामा परिवर्तन हुनसकेको छैन । परिवर्तन भएन भनेर जन गुनासो पनि बढिरहेको छ ।’

प्रकाशित मिति: Jul 11, 2019

प्रतिक्रिया दिनुहोस्