Logo
८ बैशाख २०८१, शनिबार
(July 10, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

काँग्रेस र राजपाबीच भयो गठबन्धनको सहमति, सदनदेखि सडकसम्म एउटै मोर्चा बनाएर संंघर्ष गर्ने

काठमाडौं : नेपाली काँग्रेस र राष्ट्रिय जनता पार्टी (राजपा) बीच गठबन्धन बन्ने भएको छ ।

असार २० गते काँग्रेसका सभापति शेरबहादुर देउवाको निवासमा भएको दुई दलबीचको छलफलले साझा मुद्दामा सदनदेखि सडकसम्म एउटै मोर्चा बनाएर संंघर्ष गर्ने भन्दै दुई दलबीच सहमति भएको हो ।

राजपा नेपालका अध्यक्षमण्डलका संयोजक अनिल झाले साझा मुद्दा र एजेण्डामा मिलेर संघर्ष गर्ने विषयमा काँग्रेससँग छलफल भएको स्वीकार गरे ।

‘सरकारमा रहेका दलहरुले राजपा नेपालले उठाएको मुद्दालाई वेवास्ता गरेको छ। जो प्रतिपक्षमा छ उसले साथ दिन्छ भने गठबन्धन बन्छ’ उनले भने, ‘सरकारमा रहेका दलले सेना परिचालन, मिडियासम्बन्धी विधेयकान राम्रो व्यवहार देखाएको छैन । लोकसेवा आयोगको विषयमा केही बोलिरहेको छैन ।’

लोकतान्त्रिक विधि, प्रकृया, समावेशी समानुपातिक प्रणाली कार्यान्वयन गर्नुको सट्टा सरकार जनताप्रति निरकुंश हुँदै गइरहेको दावी गर्दै संयोजक झाले समयको माग र बाध्यताका कारण गठबन्धन गर्ने निष्कर्षमा पुगेको बताए ।

सोहीअनुसार मंगलवार सर्लाही घटनाको विषयमा काँग्रेस र राजपाले एकसाथ सदन अवरुद्ध पारेको संयोजक झाले बताए ।

यस्तै बुधबारपनि बैठकको सुरुमा नै कांग्रेस र राजपाका सांसदहरुले उभिएर विरोध जनाएका थिए । तर, कांग्रेस र राजपाका सांसदहरुले रोष्टम घेराउ गरि नाराबाजी गरिरहेकै समयमा सभामुख कृष्णबहादुर महराले सचिव गोपालनाथ योगीलाई सभामा उत्पत्ति भएका विनियोजन विधेयक २०७६, आर्थिक विधेयक २०७६, राष्ट्र ऋण उठाउने विधेयक २०७६, ऋण तथा जमान तेईसौ विधेयक २०७६ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देशको जानकारी गराउन अनुमति दिएका थिए ।

सचिव योगीले नाराबाजी कै बीचमा राष्ट्रियसभाबाट प्राप्त सन्देश पढेर सुनाएका थिए । कांग्रेस र राजपाले सर्लाही घटनाको छानविन गर्न संसदीय छानविन समिति गठन गर्न माग गर्दै आएका छन् । सत्तारुढ दल समाजवादी पार्टी, नेपालसँग एकीकरणका लागि वार्ता चलिरहेको बेला राजपा नेपाल र काँग्रेस नजिक हुनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

समाजवादी पार्टीसँग एकीकारणका लागि लामो समयदेखि छलफल चलि रहेपनि हालसम्म कुनै नजिता ननिस्केपछि राजपा नेपालका नेताहरु संशकिंत भएका छन् । समाजवादी पार्टीले आफूहरुलाई एकताको नाममा अल्झाएको हो कि भन्ने महसुश हुन थालेको एक नेताले जानकारी दिए ।

समाजवादी पार्टी सरकारमा भएपनि राजपा नेपाललाई कुनै प्रकारको सहयोग भएको छैन । राजपा नेपालले उठाउँदै आएको मागबारे सरकारप्रति फोरम नेपालले दवाव बढाउनुपर्ने भएपनि चुपचाप बसिरहेको राजपा नेपालले निष्कर्ष निकालेको छ ।

प्रकाशित मिति: Jul 10, 2019

प्रतिक्रिया दिनुहोस्