Logo
१३ बैशाख २०८१, बिहीबार
(July 9, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

भारततर्फ जाने पूँजी रोक्दै सहकारी, स्वदेशमै सञ्चित हुन थाले दैनिक करोडौँ रुपैयाँ

बाँके : बाँके जिल्लामा बचत तथा ऋणका साथै कृषि सहकारी संस्था खुल्ने क्रम तीव्र भएको छ । टोलटोलमा सहकारी खुलेपछि दैनिक करोडौँ रुपैयाँ स्वदेशमै सञ्चित हुन थालेको छ ।

कुनै बेला नेपालगञ्ज बजारबाट करोडौँ रुपैयाँ सीमावर्ती भारतीय बजारका बैंक तथा सहकारीमा जाने गर्दथ्यो । दैनिकजसो भारतीय बैंक तथा सहकारीका एजेन्टले नेपालगञ्जका व्यवसायीकहाँ पुगेर रकम सङ्कलन गरी सीमापारि पु¥याउथे । कति बचतकर्ताको रकम त फिर्ता पनि आउँदैन्थ्यो तर, जिल्लामा सहकारीको बढ्दो प्रभावकारिता र विस्तारले दैनिक आम्दानीको रकम सुरक्षितरुपले बचत गर्न भारतमा पठाउन रोकिएको छ ।

जिल्ला सहकारी सङ्घका अध्यक्ष प्रेम सुवेदीले बचत सहकारीको स्थापनापछि नेपाली पूँजी बाहिरिन कम भएको बताए । उनले स्थानीय सहकारीमा रकम जम्मा गर्ने बानी बसेपछि पूँजी पलायन रोकेको बताउँदै भारतमा बचत गर्नेको सङ्ख्या कम हुँदै गएको जानकारी दिए ।

अध्यक्ष सुवेदीका अनुसार जिल्लामा चार सयभन्दा बढी सहकारी सञ्चालनमा छन् । ‘बाँकेमा मात्रै ११ लाख ६५ हजार सदस्य सहकारीमा आबद्ध छन्’, उनले भने । सहकारीको सञ्चालक समितिमा दुई हजार ७०० भन्दा बढी व्यक्ति आबद्ध रहेको बताउँदै उनले दुई हजारले सहकारीमा रोजगारी पाएको जानकारी दिए ।

अध्यक्ष सुवेदीले बाँकेमा सञ्चालित कृषि सहकारीले मात्रै दैनिक आठ हजार लिटर दूधको कारोवार गर्ने गरेको पनि जानकारी दिए । उनले भने, ‘बाँकेका सहकारीले वार्षिक एक हजार ५०० मेट्रिक टनभन्दा बढी धान र एक हजार मेट्रिक टन गहुँको बीउ तयार गर्छन् ।’

जिल्लामा विभिन्न प्रकृतिका सहकारी सञ्चालित छन् । यसबाट विपन्नलाई आयआर्जनमा समेत टेवा पुगेको छ । सहकारीको ऋण परिचालनले धेरैलाई स्वरोजगारसमेत बनाएको अध्यक्ष सुवेदीको भनाइ छ । ‘सहकारीमैत्री समाज बन्यो भने, कोही कसैको भर पर्नुपर्दैन’, उनले भने, ‘सहकारी भए घरघरमा रोजगारी हुने सिद्ध भइसकेको छ ।’

अध्यक्ष सुवेदीका अनुसार महिलाले नेतृत्व गरेका सहकारीको वार्षिक कारोवार तुलनात्मक रूपमा राम्रो रहेको छ । स्थानीय तहमै सहकारी खुलेपछि महिलाले भारतीय बैंक तथा वित्तीय संस्थामा बचत गर्न छाडेका छन् ।

‘सहकारीले साँझ-बिहान चुलोचौको टार्न कठिन पर्नेलाई आयआर्जनमा सहयोग पु¥याएको छ’, पौरखी बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष हरिप्रसाद तिमिल्सिनाले भने, ‘सहकारीले सर्वसाधारणलाई जीवनयापन गर्न सजिलो बनाएको छ । हामीले सीपमूलक तालीमसमेत दिने गरेका छौँ । यसबाट सर्वसाधारण आत्मनिर्भर पनि बनेका छन् ।’

ठूला सहकारीले वैदेशिक रोजगार, सवारीसाधन र घर निर्माणमा लगानी गरिरहेका छन् । सरकारी बैंक तथा वित्तीय संस्थामा ऋण लिन लामो र धेरै प्रक्रिया पु¥याउनुपर्ने भएकाले सहकारीप्रति सेवाग्राहीको आकर्षण बढेको उनको भनाइ छ । पौरखी सहकारीले एक महीनामा मात्र रु २२ लाख शेयर बिक्री गर्न सफल भएको अध्यक्ष तिमिल्सिनाले बताए ।

उनले भने, ‘जेठ महीनामा मात्र रु २२ लाखको शेयर बिक्री गरेर सहकारीको कूल पूँजी रु १ करोडमाथि पु¥याएको छ ।’ ‘बैंकभन्दा सहकारी विश्वासिलो, भरपर्दो र सहज लाग्ने भएकै कारण शेयर खरीदका साथै बचत गर्नेतर्फ सर्वसाधारणको आकर्षण बढेको छ’, उनले भने, ‘सामान्य खर्चका लागि श्रीमान्को मुख ताक्नुपर्ने महिला बचत गर्न थालेपछि आत्मनिर्भरसमेत भएको भनाइ छ ।’

प्रकाशित मिति: Jul 9, 2019

प्रतिक्रिया दिनुहोस्