Logo
७ बैशाख २०८१, शुक्रबार
(July 7, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

दलाई लामाको जन्मदिवस मनाउन नेपालमा रोक लगाएको घटनाप्रति नेपाल रिपब्लिक पार्टीको विरोध

काठमाडौं : नेपालमा रहेका तिब्बती समुदायले तिब्बतका निर्वासित धार्मिक गुरू दलाई लामाको जन्मदिवस मनाउन खोज्दा गृह मन्त्रालयले रोक लगाएको घटनाप्रति नेपाल रिपब्लिक पार्टीले विरोध जनाएको छ ।

‘आफ्नो आस्थाका धार्मिक गुरूको जन्मोत्सव मनाउन खोज्दा ‘चीनविरोधि गतिविधि’ भन्ने दूराग्रहपूर्ण आरोप लगाउँदै रोक लगाउनु बुद्धमार्गी तिब्बती समुदायको आस्थामाथिको प्रहार मात्र नभई मानवाधिकारको चरम उल्लंघन र अपमान पनि हो’ भन्दै नेपाल रिपब्लिक पार्टीका प्रेसिडेन्ट सिद्धार्थ गौतमल विज्ञप्ती जारी गरेर विरोध गरेका हुन् ।

विज्ञप्तीमा भनिएको छ ‘नेपालका तिब्बती समुदायलाई आफ्ना धर्मगुरुको जन्मदिन मनाउन रोक लगाउनुले वर्तमान कम्युनिष्ट सरकार सामान्य मानवअधिकारको समेत ख्याल नगरी कसको इसारामा यसरी नाङ्गो निरङ्कुशता प्रदर्शन गरिरहेको छ ? गम्भीर प्रश्न खडा भएको छ । नेपाल रिपब्लिक पार्टी नेपाल सरकार तथा गृहमनत्रालयले यस अवान्छनीय निर्णय फिर्ता गरी तिब्बती समुदायसँग माफी माग्न आग्रह गर्दछ ।’

सिद्धार्थ गौतम
प्रेसिडेन्ट
नेपाल रिपब्लिक पार्टी

यस्तो छ प्रेस विज्ञप्ति : 

नेपालमा रहेका तिब्बती समुदायले काठमाडौंको स्वयम्भूस्थित मुस्ताङ समाज गुम्बामा तिब्बतका निर्वासित धार्मिक गुरू दलाई लामाको ८४औँ जन्मदिवस मनाउन खोज्दा गृह मन्त्रालयले रोक लगाएको घटनाप्रति नेपाल रिपब्लिक पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । आफ्नो आस्थाका धार्मिक गुरूको जन्मोत्सव मनाउन खोज्दा ‘चीनविरोधि गतिविधि’ भन्ने दूराग्रहपूर्ण आरोप लगाउँदै रोक लगाउनु बुद्धमार्गी तिब्बती समुदायको आस्थामाथिको प्रहार मात्र नभई मानवाधिकारको चरम उल्लंघन र अपमान पनि हो भन्ने हाम्रो ठहर छ ।

यसरी नेपालका तिब्बती समुदायलाई आफ्ना धर्मगुरुको जन्मदिन मनाउन रोक लगाउनुले वर्तमान कम्युनिष्ट सरकार सामान्य मानवअधिकारको समेत ख्याल नगरी कसको इसारामा यसरी नाङ्गो निरङ्कुशता प्रदर्शन गरिरहेको छ ? गम्भीर प्रश्न खडा भएको छ । नेपाल रिपब्लिक पार्टी नेपाल सरकार तथा गृहमनत्रालयले यस अवान्छनीय निर्णय फिर्ता गरी तिब्बती समुदायसँग माफी माग्न आग्रह गर्दछ ।

नेपालको वर्तमान कम्युनिष्ट सरकारले यहाँका तिब्बती समुदायका साथै धार्मिक गुरु दलाई लामाका अनुयायीप्रति बक्र दृष्टि राख्दै आएको अनेक उदाहरण छन् । हालै मात्र तिब्बती मूलका अमेरिकी नागरिक पेम्मा छिरिङलाई दलाई नेपाल आगमनको क्रममा लामाको चेला भएको भन्दै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ‘डिपोर्ट’ गरेको घटना यही श्रृङ्खलाको एउटा ज्वलन्त उदाहरण हो ।

पेम्मा छिरिङलाई नेपालकै छिमेकी कम्युनिष्ट मुलुक चीनको आग्रहमा विमानस्थलबाट डिपोर्ट गरिएको सन्दर्भ कुटनीतिक तथा बौद्धिक तप्काबीच यतिबेला चर्चा र बहसको विषय बनेको छ । के अमेरिकी या कुनै पनि प्रजातान्त्रिक मुलुकका नागरिकले नेपाल प्रवेश गर्न अन्य विदेशी मुलुकको अनुमति लिनुपर्ने हो ? यो प्रश्न स्वभाविक रूपले पैदा भएको छ ।

चीन नेपालको छिमेकी मित्रराष्ट्र हो भने अमेरिका पनि दौत्य सम्बन्ध कायम भएको उत्तिकै मित्र हो । तर एक मित्र देशको निहीत स्वार्थबाट प्रेरित आग्रहका आधारमा अर्को मित्रराष्ट्रको नागरिकलाई विनाकसुर डिपोर्ट गर्दा त्यसले कस्तो सन्देश दिन्छ ? धर्मशालामा निर्वासित जीवन बिताइरहेका तिब्बती धार्मिक गुरू दलाई लामानिकटका पेम्बा छिरिङको नामसँग नाम मिलेको आधारमा शङ्का लागेर डिपोर्ट गरिएको भन्ने अत्यन्त गैरजिम्मेवारीपूर्ण जवाफ अध्यागमन विभागका अधिकारीहरूले दिएका छन् ।

कसैसँग नाम मिल्दैमा हावादारी ढङ्गले डिपोर्ट जस्तो गम्भीर कदम चाल्नु अमानवियता र कुटनीतिक अपरिपक्वताको पराकाष्टा हो । दलाई लामानिकटका पेम्बा नै आएका थिए भने पनि उनलाई फर्काउन मिल्दैन ।

प्रजातान्त्रिक विश्वका कुनै पनि नागरिक, जो नेपालको अहित हुने गरी अवान्छित गतिविधिमा संलग्न छैनन् भने तिनलाई यसरी डिपोर्ट गर्न मिल्दैन भन्ने हाम्रो स्पष्ट बुझाई र अडान छ । यस कोणबाट भन्नुपर्दा नेपाल सरकारले अमेरिकी नागरिक छिरिङलाई डिपोर्ट गरेर गम्भीर गल्ती गर्नुका साथै देशको परराष्ट्र नीति अत्यन्त फितलो रहेको सन्देश प्रवाहित गरेकोछ ।

‘एक चीन नीति’ को हवाला दिँदै यसरी मित्रदेशका नागरिकको मानवाधिकारमाथि नाङ्गो खेलबाड गरेर कम्युनिष्ट सरकारले आफ्नो मानवाधिकार विरोधि वास्तविक अनुहार उदाङ्ग तुल्याएको छ । प्रजातान्त्रिक विश्वसमुदाय एवम् मित्रराष्ट्रहरूको विरुद्धमा चीन सरकारसँग नेपालको कम्युनिष्ट सरकारले विशेष साँठगाँठ गरेर मुलुकप्रति खतरा उत्पन्न गराएको र देशको भविष्यमाथि नै खेलबाड गरेको अर्थमा हामीले यस घटनालाई लिएका छौँ ।

सानातिना विषयमा अनावश्यक अभिव्यक्ति दिइरहने प्रधानमन्त्री खड्गप्रसाद ओलीले यस मामलामा मौनता साँधेका छन्, उनको यो मौनता रहश्यमयी छ । के नेपाललाई पनि तिब्बतकै बाटोमा लगिँदै त छैन ? – प्रश्न उटाउन हामी विवश भएका छौँ । यहीँनेर नेपाल रिपब्लिक पार्टी जोड दिएर भन्न चाहन्छ कि चीन हाम्रो छिमेकी मित्र हो तापनि दौत्य सम्बन्ध स्थापना भएका नेपालका मित्र देशहरू विश्वमा थुप्रै छन् । कम्युनिष्ट चीनका लागि नेपाल सती जान सक्दैन ।

यसर्थ, मुलुकको सार्वभौमिकता तथा स्वतन्त्र अस्तित्वमाथि नै प्रश्न खडा हुने गरी नेपाल सरकार परराष्ट्र मन्त्रालयले यस्तो गम्भीर त्रुटी किन गऱ्यो ? यसबारे नेपाल सरकार तथा परराष्ट्र मन्त्रालयले यथाशीघ्र आफ्नो धारणा स्पष्ट गर्न नेपाल रिपब्लिक पार्टी जोडदार माग गर्दछ ।

……………………..

सिद्धार्थ गौतम
प्रेसिडेन्ट
नेपाल रिपब्लिक पार्टी

मिति : २०७६/०३/२१

प्रकाशित मिति: Jul 7, 2019

प्रतिक्रिया दिनुहोस्