Logo
१३ बैशाख २०८१, बिहीबार
(July 4, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सर्लाही शिक्षा इकाइमा विवाद : स्थानीयमा कार्यरत कर्मचारीका नाममा संघीय कार्यालयको खाता संचालन

सर्लाही : शिक्षा विकास तथा समन्वय इकाइ सर्लाहीको खाता सञ्चालनको विषयलाई लिइएर विवाद उत्पन्न भएको छ । शिक्षाको खाता दशौं तहका शिक्षा अधिकृत चेत कुमार पोखरेल र लेखापाल धर्मपत राउतको नाममा सञ्चालन भएपछि विवाद उत्पन्न भएको हो ।

मौजुदा कर्मचारी समायोजन ऐन, २०७५ को दफा ७ बमोजिम तत्कालिन इकाइका इकाइ प्रमुख उपसचिव चेत कुमार पोखरेल सर्लाही जिल्ला स्थित गोडैता नगरपालिकामा समायोजन हुनु भएको थियो । समायोजन भएको कर्मचारीको हकमा कर्मचारी समायोजन ऐन, २०७५ को दफा १३ को उपदफा (१) मा कर्मचारीको बाटो म्याद बाहेक २१ दिन भित्र अनिवार्य रुपमा समायोजन गरिएको प्रदेश वा स्थानीय तहमा हाजिर हुनु पर्ने उल्लेख गरिएको छ ।

तर उपसचिव पोखरेलले आफुलाई कर्मचारी समायोजन ऐनमा भएको व्यवस्था विपरित समायोजन गरेको भन्दै सर्वोच्च अदालतमा निवेदन दिनुका साथै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा स्थानीय तह संशोधनको लागि निवेदन दर्ता गराएका थिए ।

अदालतले हाललाई यथास्थितिमा कामकाजमा लगाउनु आदेश गरेको छ भने संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको मिति २०७६ बैशाख ३१ गते र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले २०७६ जेष्ठ १ गतेमा निर्णय गर्दै उपसचिव पोखरेललाई सर्लाही जिल्ला अन्तरगतका हरिपुर नगरपालिकाको शिक्षा शाखामा दशौं तह अधिकृत पदमा खटाएको छ । उपसचिव पोखरेल मिति २०७६ जेष्ठ २ गते संशोधित स्थानीय तहको पत्र समेत बुझिसकेका छन् ।

समायोजन पत्र बुझेको बाटो म्याद बाहेक २१ दिन भित्र रमाना लिइ समायोजन भएको स्थानीय तहमा अनिवार्य रुपमा हाजिर हुन जानु पर्ने व्यवस्था हुदाँ हुदै पनि निजले रमाना नलिदाँ शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मिति २०७६ जेष्ठ १६ गते र जेष्ठ २४ गतेको पत्रबाट कर्मचारी समायोजन ऐन, २०७५ को दफा १३ को उपदफा (१) बमोजिम आवश्यक कार्यार्थ शिक्षा विकास तथा समन्वय इकाइ, सर्लाहीलाई रमाना दिन ताकेता समेत गरेको देखिन्छ । यस बाहेक शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले गत बैशाख २६ गते अत्यन्त जरुरी सूचना सार्वजनिक गर्दै समायोजन पत्र बुझेको तह र निकायमा नियमानुसार रमाना लिई हाजिर हुन अन्यथा समायोजन ऐन बमोजिम कारबाही हुने उल्लेख गरिएको छ ।

प्राकृतिक न्यायको सिद्धान्तअनुसार सम्मानित अदालतले अर्काे आदेश नभएसम्म यथास्थितिमा कामकाजमा लगाउनु आदेश पश्चात निजले आफू अनुकूल पायक पर्ने तहमा समायोजन भएपछि समायोजन पत्र बुझिसकेकोले अदालतमा रहेको मुद्दा स्वतःखारेज हुने र समायोजन भएको तह र निकायमा नियमानुसार हाजिर हुनु पर्नेमा निज कै नाममा मोटो आर्थिक चलखेल भई सर्लाही कोलेनिका प्रमुख जगत प्रसाद थपलियाले खाता सञ्चालन गरिदिएपछि विवाद उत्पन्न भएको श्रोतले जनाएको छ ।

केही दिन अघि रौतहट जिल्लाको सदरमुकाम गौर नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत समायोजन भएको तह/निकायमा हाजिर हुन नजादाँ संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निलम्बन गरेको थियो भने अर्को तिर शिक्षा अधिकृत चेत कुमार पोखरेल समायोजन भएको तह/निकायमा पत्र बुझि रमाना समेत नलिई आर्थिक र प्रशासनिक लाभ लिने गलत नियतले इकाइको खाता सञ्चालन गराएको श्रोतको दावी छ । उक्त विषय विवादित बनेको हो ।

मौजुदा शिक्षा ऐन, नियमावली तथा आर्थिक आचारसंहिता विपरित विद्यालयमा निकासा भएको अनुदान रकमहरु विना कार्य सम्पादन लेनदेनको आधारमा फुकुवा, अवधि नपुगेका स्थायी शिक्षकहरुको जिल्लान्तर सरुवा, शिक्षक अनुदान कोटा (राहत) मा कार्यरत शिक्षक तथा बालविकास सहयोगी कार्यकर्ताहरुको सरुवा लगायतका क्रियाकलापहरुको लागि पोखरेलले मोटो रकम असुली गर्दै आएको शिक्षा श्रोतको भनाई छ । समायोजन भएको तहमा नजाने कर्मचारी पोखरेललाई कर्मचारी समायोजन ऐन बमोजिम कारवाही गर्नुको साट्टो स्थानीय तहको कर्मचारीसंग संघको कार्यालयको खाता खोलिनु कार्य गलत रहेको शिक्षाका जानकारहरुले जनाएका छन् ।

हेनुर्स कागजातहरु : 

प्रकाशित मिति: Jul 4, 2019

प्रतिक्रिया दिनुहोस्