Logo
६ बैशाख २०८१, बिहीबार
(July 1, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

सपा-राजपाको एकिकरण : ठाकुर संरक्षक, भट्टराई अध्यक्ष, यादव कार्यकारी अध्यक्ष र महतो बरिष्ठ नेता

काठमाडौँ : आउदो असोज र कात्तिकमा महाधिवेशन हुने भनिएका समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनता पार्टी (राजपा) नेपालबीच एकीकरणपछि एकता महाधिवेशन हुने भएको छ । यद्यपी यस्को औपचारिक निर्णय भने गरिएको छैन । तर श्रोतले भन्यो दुवै पार्टीका नेताहरु अन्ततः एकिकरण पछि मात्र औपचारिकताका लागि एकता महाधिवेशन गर्ने मोटामोटी रणनीति बनाइसकेका छन् ।

समाचार श्रोतका अनुसार एकीकरण गर्ने भनेर दुवै पक्ष सहमत भइसकेका छन् तर कुन मोडालिटीमा एकीकरण गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । एकीकरणको छलफललाई समाजवादी पार्टीको तर्फबाट अध्यक्ष उपेन्द्र यादव र राजपा नेपालको तर्फबाट सो पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतोले तीव्रता दिएका छन् । अध्यक्षमण्डलका सदस्य महतो वार्ताका समितिका संयोजक पनि हुन् ।

राजपा नेपाल स्रोत भन्छ, ‘दुई नेताको बीचमा अहिले दिनहुँ जस्तो छलफल हुन्छ । महाधिवेशनभन्दा पहिला नै टुगों लगाउने गरी छलफल शुरु भएको छ । यद्यपि अहिले ठोस विषयमा सहमति भएको छैन ।’ कार्यकारी राष्ट्रपति प्रणालीबाहेक नीतिगत विषयमा दुवै दलमा कुनै कुरामा विमति छैन । समाजवादी पार्टीले प्रत्यक्ष निर्वाचन प्रणालीबाट कार्यकारी राष्ट्रपति हुनुपर्ने घोषणापत्रमा उल्लेख गरेको छ ।

समाजवादी पार्टीका दुईजना अध्यक्ष र एकजना वरिष्ठ नेता छन् भने राजपा नेपालमा ६ जना अध्यक्ष र एकजना सहअध्यक्ष रहेका छन् । एकीकरण भएपछि यी दुवै पक्षका नेताहरुलाई कसरी व्यवस्थापन गर्ने दुवै दलका लागि चुनौतिको विषय रहेको छ ।

राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरलाई मर्यादाक्रमको पहिलो नम्बरको संरक्षक, त्यसपछि बाबुराम भट्टराईलाई अध्यक्ष, त्यसपछि उपेन्द्र यादवलाई कार्यकारी अध्यक्ष अनि त्यसपछि राजेन्द्र महतोलाई वरिष्ठ नेताको रुपमा राख्ने विषयमा छलफल भइरहेको पार्टी स्रोतले जनाएको छ ।

राजपा नेपालका महेन्द्रराय यादवलाई संसदीय दलका नेता दिने विषयमा पनि छलफल भइरहेको छ । त्यसपछि शरदसिंह भण्डारी, राजकिशोर यादव र अनिल झाको विषयमा पनि छलफल हुने बताइएको छ । दुई पार्टीको बीचमा एकीकरण हुने सहमति भइसकेको अवस्थामा अब कुन मोडालिटीमा एकीकरण हुने भन्ने विषय मात्र बाँकी रहेको स्रोतहरुले जनाएका छन् ।

गत बुधवार राजपा नेपालका अध्यक्षमण्डलका सदस्य महन्थ ठाकुरको निवास छलफल भएको थियो भने त्यसको भोलिपल्ट उपेन्द्र यादवको निवासमा छलफल भएको थियो । शुक्रबार संसद भवनमा तीन नेताको बीचमा छलफल भएको थियो । पछिल्लो समय एकीकरणका लागि हरेक बैठकमा २–३ घण्टा लामो छलफल हुने गरेको छ ।

 

प्रकाशित मिति: Jul 1, 2019

प्रतिक्रिया दिनुहोस्