Logo
१३ बैशाख २०८१, बिहीबार
(June 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

पानीको बहाव थुनिएपछि सप्तरीको औद्योगिक क्षेत्र डुबानको खतरामा

लहान :  प्रदेश नं २ सरकारको सहयोगमा बन्न लागेको शहीदस्तम्भले पानीको बहाव नै थुन्न लागेपछि सप्तरीको गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र डुबानको जोखिममा परेको हो । सप्तरीको रुपनी गाउँपालिकास्थित गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र एकमात्र औद्योगिक क्षेत्र हो ।

औद्योगिक क्षेत्र स्थापनाकालदेखि पानी बहावका लागि नाला र पोखरीलाई थुन्दै शहीदस्तम्भ बनाउन थालिएको हो जुन वर्षायाममा डुबानमा पर्ने र सञ्चालित उद्योगधन्दा धरासायी हुने खतरा बढेको हो । पानी बहावलाई थुन्ने गरी प्रदेश नं २ सरकारको सहयोगमा शहरी विकास तथा भवन निर्माण कार्यालयले माटो पुर्ने र इँटाको पर्खाल निर्माण गरिरहेको छ ।

तत्कालीन नेकपा (एमाले)को मेची-महाकाली अभियानका क्रममा प्रहरीसँगको झडपमा ५ को मृत्यु भएको स्थानमा अहिले शहीदगेट, शहीद उद्यान र शहीदस्तम्भ निर्माणको काम भइरहेको हो ।

‘औद्योगिक क्षेत्रको पूर्वतर्फबाट पानीको बहाव भइरहेको थियो’, प्रमुख आचार्यले भभने, ‘तर अहिले त्यो बहावलाई नै थुन्ने गरी स्थायी संरचना बनाइएकाले पानीको निकास रोकिएर, सबै पानी औद्योगिक क्षेत्रभित्र जम्छ र उद्योगधन्दाको मेसिनलगायतमा क्षति पुर्याउँछ ।’ अघिल्लो वर्षको बाढीले औद्योगिक क्षेत्रको पर्खाल भत्काएको थियो भने औद्योगिक क्षेत्रभित्र लामो समयसम्म पानी जमेकाले लामो समयसम्म उद्योग सञ्चालन हुनसकेको थिएन ।

औद्योगिक क्षेत्रको स्थापनाकालमै पानी निकासका लागि विसं २०४४ मा निर्माण गरिएको पोखरीमा माटो पुरेर शहीदस्तम्भ बनाउन कार्य गरिएकाले औद्योगिक क्षेत्र थप समस्यामा परेको प्रमुख आचार्यको भनाइ छ ।

औद्योगिक क्षेत्रलाई डुबानमा पार्ने गरी शहीदस्तम्भ निर्माण भइरहेको भन्दै औद्योगिक क्षेत्र व्यवस्थापन कार्र्यालयले सरोकारवाला निकायलाई गुहारेको छ ।

औद्योगिक क्षेत्रको दक्षिणतर्फ निर्माणाधीन संरचनाका कारण त्यहाँ असर पर्ने भन्दै व्यवस्थापन कार्यालयले शहरी विकास कार्यालय, औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड केन्द्रीय कार्यालय, जिल्ला प्रशासन कार्यालय सप्तरी र रुपनी गाउँपालिकालाई पत्राचार गरी ध्यानाकर्षण गराएको छ ।

बिजुली, खानेपानी र सुरक्षालगायतका समस्यै समस्याले जुध्दै आएको औद्योगिक क्षेत्रलाई थप समस्या हुनेगरी स्थायी संरचना निर्माण गर्न थालेपछि उद्योगीसमेत चिन्तित बनेका छन् ।

औद्योगिक क्षेत्रभित्र सञ्चालनमा रहेका मिलन डेरी उद्योग, महालक्ष्मी पेन्ट इन्डष्ट्रिज, कान्तिपुर प्लाष्टिक उद्योग र कोशी पोलिमर्स उद्योगका सञ्चालकले केही दिनअघि व्यवस्थापन कार्यालयलाई ध्यानाकर्षण गराउँदै पानीको बहाव थुन्ने गरी बनाइरहेको संरचनाले औद्योगिक क्षेत्र डुबानको खतरामा रहेको र यसबाट उद्योगमा क्षति पुग्नसक्ने भन्दै चिन्ता जनाएका थिए ।

यता शहीदस्तम्भ निर्माण गरिरहेको शहरी विकास तथा भवन निर्माण कार्यालय राजविराजका प्रमुख कृष्णदेव झाले शहीदस्तम्भ निर्माणस्थलमा कहिले पनि पानीको प्राकृतिक बहाव नरहेको जिकिर गर्दै पानी बहावको समस्या नहुने बताए । ‘पहिलो कुरा त हामीले पानी बहावको मुहानै थुनेका छैनौँ, हामीलाई राजविराज नगरपालिकाले जहाँ जग्गा दियो, त्यहाँ हामीले बनाउँदैछौँ’, उनले भने ।

‘यदि यसबाट मुहान थुनेर औद्योगिक क्षेत्र डुबानमा पर्यो भने त्यसको निकास त औद्योगिक क्षेत्रले आफै खोज्छ नि, हामीले के गर्न सक्छौँ र?’ प्रमुख झाको भनाइ छ ।

प्रकाशित मिति: Jun 30, 2019

प्रतिक्रिया दिनुहोस्