Logo
७ बैशाख २०८१, शुक्रबार
(June 30, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

आज असार १५ : नेपालभर दही च्यूरा खाएर धान दिवस मनाइँदै

काठमाडौं : आज नेपालभर असार १५ अर्थात् धान दिवस धुमधामले मनाइँदै आएको छ । असार १५ लाई रोपाइँ जात्राका नामले पनि भनिन्छ ।

नेपाल कृषि देश भएको हुनाले यहाँको मुख्य पेशा खेतीपाती हो । किसान वर्षभरका लागि छाक जुटाउन यो महिनामा खेतीमा ब्यस्त हुन्छन् । आजका दिन असारे भाकामा लोकदोहोरी गाउँदै छुपुछुपु हिलोमा धान रोप्छन् । मध्यगर्मीको यो समयमा युवा लाठे र युवती रोपाहारले खेतका गराको हिलो छ्यापाछ्याप गरेर मनोरञ्जन गर्छन् । ‘छुपु र छुपु हिलोमा धान रोपेर छोडौँला, बनाई कुलो लगाई पानी आएर गोडौँला’ जस्ता लोक लयका गीत गाएर खेतमै रमाइलो पनि गरिन्छ ।

यस दिनलाई नेपालीहरुले दही च्यूराा खाने दिनका रुपमा पनि मनाउने गर्छन् । कामको चटारोले थकित भएका किसान शक्तिप्राप्तिका लागि दही च्यूरा खान्छन् । दही च्यूरा खानाले शरीरमा शीतलता भई शक्ति प्रदान गर्ने जनविश्वास छ ।
त्यसैगरी हाम्रो संस्कृतिमा दहीको स्थान महत्वपूर्ण छ । शुभकार्यका लागि घर बाहिर निस्कने, विदेश जाने आदि महत्वपूर्ण काम गर्नुअघि दही अक्षता मुछेर निधारमा रातो टीका लगाउने परम्परा छ । यस्ता शुभकाममा निस्कनुअघि सगुनका रुपमा पनि दही खुवाएर बिदाइ गरिन्छ । दही खुवाएर बिदा गरे शुभ प्राप्त हुने सांस्कृतिक मान्यता छ ।

पखाला लागेका बेला दही च्यूरा खाएमा औषधिको काम गर्छ । यसैले दही च्यूरा खाने संस्कारले नेपाली संस्कृतिमा बृहत् रुप लिएको छ । यसरी असार १५ नेपाली समाजमा राष्ट्रिय सांस्कृतिक पर्व बन्न सफल भएको छ । असार १५ का दिन आज गाउँठाउँका हुने खानेले बेठी लगाएर धान रोपाइँ गर्छन् । यसरी धान रोपाइँ गरे खेतबाट सह बसी मनग्य उत्पादन हुने विश्वास रहेको छ ।

वि.सं. २०६१ सालमा विश्वका ४३ राष्ट्रले संयुक्त राष्ट्रसंघलाई अन्तर्रा्ष्ट्रिय धान वर्ष घोषणा गर्न अनुरोध गरेका थिए । राष्ट्रसंघले धान वर्ष घोषणा गरेपछि नेपालले पनि राष्ट्रिय धान दिवस मनाउने निर्णय गरेको थियो ।

२०६१ साल मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि धान दिवस मनाउन थालिएको हो । ९० प्रतिशत धान एशियामै उत्पादन हुने गर्छ । उत्पादनको आधा एशियामै खपत हुने गरेको छ ।

नेपालको कुल गार्हस्थ उत्पादनमा २९ दशमलव ४ प्रतिशत योगदान कृषि क्षेत्रको छ । कृषिमा ६० दशमलव ४ प्रतिशत जनसंख्या आश्रित छन् । कृषि गार्हस्थ उत्पादनमा धानको योगदान २० प्रतिशत रहेको कृषि विकास मन्त्रालयले जनाएको छ । हाल नेपालमा १५ लाख ५२ हजार हेक्टरमा धान खेती भइरहेको छ ।

खेती गरिने ५० दशमलव २ प्रतिशत जमिनमा धान खेती हुने गरेको छ । कृषिको परनिर्भरता कम गर्न र किसानलाई हौसला पुर्याउन सरकारले प्रत्येक वर्ष धान दिवस मनाइँदै आएको छ ।

प्रकाशित मिति: Jun 30, 2019

प्रतिक्रिया दिनुहोस्