Logo
६ चैत्र २०८०, मंगलबार
(June 25, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

चिनियाँ राजदूतलाई उर्जामन्त्रीको प्रश्न : चिनियां कम्पनीले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको कारण के हाेला ?

काठमाडौं : उर्जा, जलस्रोत तथा सिंचाईमन्त्री वर्षमान पुन र चिनियां राजदूत होउ यान्छीबीच भेटवार्ता भएको छ । सिंहदरबारस्थित उर्जा मन्त्रालयमा मंगलवार भएको भेटवार्तामा द्धिपक्षिय हित र चासोका विषयमा छलफल भएको छ ।

भेटमा मन्त्री पुनले सरकारले उर्जा क्षेत्रको विकास र बजार विस्तारको लागी पहल गरिरहेको भन्दै चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीको लागी पहल गरिदिन आग्रह गरे ।

चिनियां लगानीकर्ता र निर्माण कम्पनीहरुले चीन र विश्वका धेरै देशमा राम्रो काम गरिरहेको भन्दै मन्त्री पुनले नेपालमा आयोजना सम्पन्न गर्न नसक्नुको पछाडीको कारणबारे पनि जिज्ञासा राखेका थिए ।

मन्त्री पुनले राजदूतसंगको भेटमा भने, ‘चीन र अन्य विश्वमा राम्रो काम गरिहेका छन् । यहां किन गर्न सकिरहेका छैनन् । समस्या के हो जस्का कारण काममा ढिलाई भइरहेको छ, हामी पनि यसमा छलफल गरिरहेका छौं, हाम्रो कारणले हो भने हामी हाम्रो प्रणाली सुधार गर्छौ । ’

जवाफमा राजदूत यान्छीले चिनियाँ कम्पनिले भोगेका समस्याहरुको बारेमा जानकारी दिंदै त्यसबारेमा आफुले पनि गहिरो अध्ययन र अनुसन्धान गरिरहेको बताइन् ।

मन्त्री पुनले चिनियाँ कम्पनीले निर्माण गरिरहेको ‘त्रिशुली ३ ए’ जलविद्युत आयोजना र कुलेखानी जलविद्युत आयोजना अन्तिम चरणमा पुगेको जानकारी दिंदै आयोजना सम्पन्न गर्नको लागी समन्वय गरिदिन आग्रह गरे ।

उनले दुधकोशी जलविद्युत आयोनामा हाल विश्व बैंकले ५ सय मिलियन लगानी गरिरहेको भन्दै उक्त आयोजाना सम्पन्न गर्नको लागी थप २ खर्व अपुग भएकोले चिनियां सहयोगको लागी पहल गरिदिन आग्रह गरे ।

भेटमा राजदूत यान्छीले चीन नेपालको असल मित्र भएको भन्दै नेपालमा निर्माणाधिन आयोजनाहरु छिटो सम्पन्न गर्नको लागी चीनले पहल गरिरहेको जानकारी दिइन् ।

उनले नेपालको जलविद्युत क्षेत्रमा १४ वटा चिनियाँँ कम्पनीले काम गरिरहेको र २४ वटा आयोजना रहेको जानकारी समेत दिइन् ।

राजदूत यान्छीले भनिन्, ‘चीन नेपालको सांच्चै मित्र हो, नेपालले विकास गरेको चीन हेर्न चाहन्छ । त्यसैले नेपालमा चीनले निर्माण गरिरहेका जलविद्युत आयोजना समयमै सम्पन्न गर्नको लागी पहल गरिरहेको छ । ’

मन्त्री पुन र राजदूत यान्छीबीचको भेटमा जलविद्युत क्षेत्रको लगानी र दुवै मुलुकको बीचमा गर्न सकिने सहकार्यको बारेमा छलफल भएको थियो ।

प्रकाशित मिति: Jun 25, 2019

प्रतिक्रिया दिनुहोस्