Logo
१३ बैशाख २०८१, बिहीबार
(June 20, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

ओली सरकारको कार्यशैलीप्रति सांसद लिङ्देनकाे आक्रोश : ‘बजेट विनियोजनमा गुट र पार्टी हेरियो’

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद राजेन्द्र लिङ्देनले केपी शर्मा ओली नेतृत्वको सरकारको कार्यशैलीप्रति आक्रोश पोख्दै विनियोजनमा गुट र पार्टी हेरिएको पनि आरोप लगाएका छन् । प्रतिनिधिसभामा बिहीबार भएको विनियोजन विधेयकमाथिको छलफलमा भाग लिँदै सांसद लिङ्देनले बजेट विनियोजनमा गुट र पार्टी हेरिएको पनि आरोप लगाएका हुन् ।

सांसद लिङ्देनले भने, ’तपाईंहरुले आफैँले खनेको खाल्डोमा आफैँ परेको देख्दा कठै भन्न सक्ने अवस्था हुने छैन’, ’अहिले जुन खाल्डो खनिएको छ, त्यसमा सरकार परेपछि हामी रमिता हेर्छौँ ।’ नेता लिङ्देनले मन्त्री र आसेपासे मिलेर आफ्नो क्षेत्रमा मनलाग्दी बजेट हालिएको पनि आरोप लगाए । ’देशको प्रधानमन्त्रीलाई झापाको प्रधानमन्त्री बनाइयो । तर त्यही झापाको किच्चकबधलाई भुलियो, जलथललाई भुलियो, कचनाकेवललाई भुलियो’,

उनले भने, ’सत्ताशक्ति स्थायी चिज होइन, सबैको पालो आउँछ। पार्टीले नेतृत्व नगर्दा पनि काठमाडौंका जनता सडकमा उत्रिएर सरकारलाई आफ्नो शक्ति देखाए ।’ मन्त्री र उनीहरुका आसेपासेले आफ्नो जिल्लामा मात्रै धेरै बजेट हालेको दाबी लिङ्देनले गरे । ’विपक्षी र संसदमा एकजना मात्रै भएकाले नपरेको रहेछ भनेको त सत्तापक्षकै सांसदहरु पनि मेरो जिल्लाको पैसा झापा नै लैजाऊ भनिरहेका छन्। बजेट बाँड्दा पार्टी्भित्र पनि गुट समेत हेरेछन् ।’ ओली नेतृत्वको सरकार विपक्षी मासेर अघि बढ्न खोजिरहेको लिङ्देनको आरोप थियो । ’विपक्षीजति सारा मासेर एकछत्र राज गर्न खोजेको होला । जनतालाई कम्जोर बनाउन सकिने रहेनछ भन्ने हिजो (माइतीघरमा) देख्नु भएन’,

उनले भने, ’विधि पद्धति प्रक्रिया मिचेर जुन बाटो रोजिएको छ । विपक्षीले पनि खन्न नसकेको खाल्डोमा आफैँ पर्नुहुन्छ । विपक्षी र आफ्नै पार्टीका योजना काटेर सिंहदरबारमा रमाउनु भएको होला । तर यो तरिकाले सुखी नेपाली, समृद्ध नेपालको लक्ष्यमा पुगिँदैन ।’

प्रकाशित मिति: Jun 20, 2019

प्रतिक्रिया दिनुहोस्