Logo
१५ चैत्र २०८०, बिहीबार
(June 18, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

साइबर अपराधमा वृद्धि : २० देखि ३० वर्षका युवा धेरै

काठमाडौं : मुलुकमा सामाजिक सञ्जालको बढ्दो प्रयोगसँगै साइबर अपराधको घटनामा समेत वृद्धि भएको छ ।

पछिल्लो समय सामाजिक सञ्जालको प्रयोग बढेसँगै फेसबुक, ट्विटर, भाइबर र गुगलजस्ता सञ्जालमा नयाँ खाता खोलेर मानिसले पैसा लुट्ने अर्को व्यक्तिको हैसियत सिध्याउने घटना बढेर गएको हो ।

महानगरीय अपराध महाशाखामा चालू आर्थिक वर्षमा साइबर अपराधसम्बन्धी एक हजार ५७० उजुरी दर्ता भएका छन् । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक सहकुलकुमार थापाले सामाजिक सञ्जाल फेसबुक, ट्विटरमा चिट्ठा प¥यो भनेर रु एक करोडसम्म ठगी गरेको उजुरी महाशाखामा परेको जानकारी दिए । ‘विदेशमा बसेर सामान पठाइदिन्छु पैसा पठाइदिनुहोस् भनेर समेत ठगी भएको छ’, उनले भने ।

महाशाखाका अनुसार युवावर्ग बढी सङ्ख्यामा साइबर अपराधमा लागेका छन् । जसमध्ये १० देखि २० वर्ष उमेर समूहका २२ दशमलव शून्य पाँच प्रतिशत, २० देखि ३० वर्ष उमेर समूहका ३९ दशमलव ९२ प्रतिशत, ३० देखि ४० वर्ष उमेर समूहका २९ दशमलव ९१ प्रतिशत र ४० देखि ६० वर्ष उमेर समूहका सात दशमलव ९८ प्रतिशत व्यक्ति साइबर अपराधमा लागेका छन् ।

अपराध महाशाखाअन्तर्गत साइबर शाखाका प्रमुख, प्रहरी निरीक्षक लीलाराज डाँगीले मानिसले अनावश्यक रुपमा नचाहिने कुरा सामाजिक सञ्जालमा पोष्ट गरेका कारण साइबर अपराध बढेको बताए । ‘सामाजिक सञ्जालमा निःशुल्क डाउनलोड गर्नु वा हेर्नु भनेको हुन्छ र अनावश्यक कुरा हेर्दा वा डाउनलोड गर्दा साइबर अपराध बढी हुने गरेको छ’, उनले भने । साइबर कानूनका बारेमा विद्यालय, कलेज तथा क्याम्पसमा शिक्षा दिनु जरुरी रहेको महाशाखाले जनाएको छ । साइबर अपराधको मुद्दामा ३५ दिनभित्र सत्यतथ्य सूचना अदालतमा दर्ता गरिसक्नुपर्ने प्रावधान छ ।

महाशाखाले साइबर अपराधमा एक हजार ५७० उजुरी दर्ता भए पनि ६७ जनाविरुद्ध मुद्दा चलाएको छ । जसमध्ये सामाजिक सञ्जालमार्फत ४२, ह्याकिङ गर्ने आठ, जथाभावी एसएमएस गर्ने नौ, युट्युब जे पायो त्यही पोष्ट गर्ने तीन, नक्कली कम्पनी बनाएर अरूको आर्थिक खातामा जालसाजी गर्ने पाँच जनाविरुद्ध मुद्दा दर्ता भएको छ । यस्तै आव २०७३र०७४ मा एक हजार १९७ उजुरी दर्ता भएकामा २६ जनाविरुद्ध मुद्दा चलेको छ भने आव २०७४र०७५ मा एक हजार ४८२ उजुरी दर्ता भएकामा ६८ जनाविरुद्ध मुद्दा दर्ता भएको महाशाखाले जनाएको छ ।

महाशाखाका प्रमुख थापा साइबर ऐन नबन्दा मुद्दा चलाउने सम्बन्धमा केही समस्या भएको उनले बताए । अहिले साइबर अपराधलाई महाशाखाले विद्युतीय कारोबार ऐन अन्तर्गत कारबाही गर्दै आएको छ । विद्युतीय कारोबार ऐनअन्तर्गत साइबर अपराध गर्नेलाई पाँच वर्षसम्म जेल वा रु एक लाख वा दुवै सजाय हुने व्यवस्था छ । साइबर अपराधबाट मानिस घरबारविहीन हुने, पढाइ बिग्रने, आत्महत्या बढ्ने गरेको महाशाखाको तथ्याङ्कमा उल्लेख छ ।

नेपाल प्रहरीले पछिंल्लो समय साइबर अपराधका घटनामा वृद्धि भएपछि केन्द्रीय साइबर ब्यूरो स्थापनासमेत गरेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको विशेष सक्रियतामा विसं २०७५ मा केन्द्रीय साइबर ब्यूरो स्थापना भएको हो । प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलले प्रविधिको विकाससँगै सामाजिक सञ्जालबाट हुने अपराध नियन्त्रणका लागि केन्द्रीय साइबर ब्यूरो स्थापना गरिएको बताए । साइबर ब्यूरो हाल भोटाहिटीबाट सञ्चालनमा आएको छ ।

स्रोत र साधनको अभावका कारण साइबर ब्यूरोले साइबर घटनाको बारेमा पूर्ण अनुसन्धान गर्न नसकेपनि केही घटनाको भने अनुसन्धान गर्दै आएको ब्यूरोका प्रमुख प्रहरी नायव महानिरीक्षक विकास श्रेष्ठले जानकारी दिए । ‘समुदाय–प्रहरी साझेदारी’ कार्यक्रमले साइबर अपराध न्यूनीकरणमा ठूलो सहयोग पुग्ने विश्वास प्रहरी प्रधान कार्यालयको छ ।

प्रकाशित मिति: Jun 18, 2019

प्रतिक्रिया दिनुहोस्