Logo
१५ चैत्र २०८०, बिहीबार
(June 17, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

केरुङ-काठमाडौं रेलमार्गको डीपीआर बनाउनेबारे छलफलका लागि नेपाली टोली चीनमा

काठमाडौं : केरुङ-काठमाडौं रेलमार्ग परियोजनाको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर)बारे छलफल गर्न नेपाली टोली चीन गएको छ ।
बेल्ट एन्ड रोड इनिसियटिभ (बीआरआई)मा सूचीकृत नेपाल र चीनलाई जोड्ने यो रेलमार्ग निर्माणको प्रक्रिया अघि बढाउनेबारे छलफल गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव देबेन्द्र कार्की नेतृत्वको टोली चीन गएको हो ।

चीनले आफ्नै खर्चमा यो रेलमार्गको प्रारम्भिक सम्भाब्यता अध्ययन पनि गरिसकेको छ । उसले पूर्वसम्भाब्यता अध्ययनको रिपोर्ट पनि नेपाललाई दिएको छ । हाल यो रेलमार्गको विस्तृत परियोजना प्रतिवेदन निर्माणमा लाग्ने खर्चको लगानी मोडालिटीमा नै चीन र नेपालबीच कुरा मिलेको छैन । चीनको बीआरआई परियोजनाको महत्वपूर्ण हिस्सा भनिएको यो रेलमार्ग बनाउन दुई देशबीच दुईपक्षीय समझदारी पनि भइसकेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यो रेलमार्गको सम्भाव्यता अध्ययन सकेर विस्तृत परियोजना प्रतिवेदन बनाउन मात्रै १.७ अर्ब खर्च हुन्छ । हाल नेपाल र चीनबीच यो रकम कसैले खर्चने भन्नेमा नै सहमति जुट्न बाँकि नै रहेको छ ।

डीपीआर बनाउन लाग्ने खर्च कसले ब्यहोर्ने भनेर दुई चरणमा भएका सचिवस्तरीय बैठकले टुंगो लगाउन सकेको छैन । यो पटक चीनसँग हुने वार्तामा डीपीआरमा कसले खर्च गर्ने र कसरी काम अघि बढाउने भन्नेबारे ठोस निर्णय हुने मनत्रालयका एक अधिकारीले बताए ।

यो परियोजना कहिलेसम्म कसरी र कुन लगानी मोडालिटीमा निर्माण हुन्छ भन्ने अन्योल भने कायमै छ । पूर्वसम्भाव्यता अध्ययन रिपोर्टअनुसार यो रेलमार्ग बनाउन २ खर्ब ५७ अर्ब खर्च हुन्छ । अहिलेसम्म लगानी मोडालिटीमा दुबै देशले छलफल नै गरेका छैनन् । परियोजनामा लगानीको लागि अनुदान वा के र कति हुने भन्नेबारे छलफलसमेत भएको छैन ।

तर, गत वर्ष नै चीन भ्रमणका समयमा नेपालले परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले यो परियोजनामा चीनले पूर्णरुपमा अनुदान उपलब्ध गराउनुपर्ने प्रस्ताव गरेका थिए । तर, चीन भने ऋण लगानीको पक्षमा छ । हाल डीपीआर बनाउन लाग्ने १ अर्ब ७० करोड पनि कसले खर्चने भन्नेमा मतभेद छ । चीन यो रकम नेपालले खर्चनुपर्ने पक्षमा छ भने चीन संयुक्त लगानीको पक्षमा ।

दुबै देशका सचिवस्तरमा यो पटकको बैठकमा आफ्नो(आफ्नो तर्फबाट सहमतिको रोड म्याप प्स्तुत गर्नेछन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले नेपाल सरकारसँग डीपीआरका लागि आवश्यक बजेटको आधा हिस्सा मागेको छ । यस हिसावले अब नेपाल अब डीपीआर बनाउन चीनसँग संयुक्त लगानीमा काम गर्ने निश्कर्षमा पुगेको देखिन्छ ।

करिब ७३ किलोमिटर लामो रेलमार्ग बनाउन ९ वर्ष लाग्नेछ । रेलमार्गमा ९८.५ प्रतिशत पुल र सुरुङमार्ग हुने प्रारम्भिक अध्ययनले देखाएको छ । यो रेलमार्ग दुई टेक्टोनिक प्लेटको भागमा पर्ने भएकाले भूकम्पीय हिसावले पनि जोखिमपूर्ण क्षेत्रमा बन्छ । यसले गर्दा ठूलो लगानी आवश्यक देखिन्छ ।

नेपालले चीनलाई आफूहरुसँग रेलमार्गबारे खासै ज्ञान र प्रविधि पनि नभएको भन्दै चीन सरकारले नै विस्तृत सम्भाव्यता अध्ययन गर्नुपर्ने प्रस्ताव गरेको छ । यो खण्डमा अध्ययन गर्न नै कठीन रहेको भन्दै चीनले त्यसका लागि नेपाल सरकारले जिम्मेवार भूमिका खेल्नुपर्नेमा जोड दिने गरेका छन् ।

प्रकाशित मिति: Jun 17, 2019

प्रतिक्रिया दिनुहोस्