Logo
१२ बैशाख २०८१, बुधबार
(June 16, 2019)

‘सामाजिक उत्तरदायित्वका लागि पत्रकारिता’

गुठी विधेयकको विरोधमा उपत्यका बन्दको घोषणा : ‘भाडाका मान्छे प्रयोग गरेर विरोध’

सरकारले ल्याएको गुठी विधेयकको विरोधमा उपत्यका बन्दको घोषणा गरिएको छ । हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरूले सरकारले ल्याएको गुठी विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरेका छन् ।

विश्व हिन्दु युवा संघ अन्तर्राष्ट्रिय समितिले आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गरी सो विधेयकको विरोधमा आगामी असार १० गते काठमाडौं उपत्यका बन्द आह्वान गरिएको जानकारी गराएको हो । समितिले सो विधेयकको विरोधमा असार २ गतेबाटै चरणवद्ध आन्दोलनको कार्यक्रम घोषणा गरेको छ ।

विश्व हिन्दु महासंघ, नेपालका अध्यक्ष डा. रामचन्द्र अधिकारीले मुलुकको धर्म र संस्कृतिनै नष्ट हुने गरी आएको सो विधेयक तत्काल फिर्ता नलिए आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि दिए । हिन्दु धर्मसँग सम्बन्धित संघ, संस्थाहरूले सरकारले क्रिश्चियन धर्मलाई संरक्षण गरिरहेको भन्दै आपत्ति जनाउँदै आएका छन् ।

असार २ गते सो विधेयक फिर्ता लिन माग गर्दै देशैभरका सबै जिल्ला प्रशासन कार्यालयमार्फत् सरकारलाई ज्ञापन पत्र बुझाउने, असार ३ गते सो विधेयकको विरोधमा पशुपतिनाथ मन्दिर परिसरमा विरोधसभा आयोजना गर्ने, असार ४ गते देशका सबै मठमन्दिरमा १० मिनेट घण्टा बजाउनेलगायतका विरोधका कार्यक्रम तय गरिएको छ ।

त्यसैगरी असार ५ गते काठमाडौंको वसन्तपुरमा विरोधसभा आयोजना गर्ने, असार ७ गते गुठीसँग सम्बन्धित निकायसँग अन्तरक्रिया गर्नेलगायतका विरोधका कार्यक्रम पनि रहेको समितिका महासचिव रोशनजंग बस्नेतले जानकारी दिए ।

भाडाका मान्छे प्रयोग गरेर गुठी विधेयकको विरोध !
यसैबीच नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की सांसद गंगा चौधरी सत्गौवाले गुठी विधेयकको विरोधमा भाडाका मान्छेले काठमाडौंको माइतीघर मण्डला घेराउ गर्ने गरेको बताएकी छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा बोल्दै उनले भनिन्, ‘मण्डला घेर्न आएका छन् । ती भाडाका मान्छेको कुरा मानेर गुठी विधेयक फिर्ता लिने काम नगरियोस् ।’ स्वर्गद्वारी गुठीको जग्गा महन्तले किनेको भनेर झुठो प्रचार भईरहेको सांसद सत्गौवाको भनाई छ । बैठकमा उनले भनिन्, ‘१०५० विघा किनेको हो भनेर वाहियात कुरा नगर्दा हुन्छ ।’

प्रकाशित मिति: Jun 16, 2019

प्रतिक्रिया दिनुहोस्